मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
नयाँ पत्रिका मकवानपुर
२०८० असोज ९ मंगलबार १३:२०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती प्रदेशमा विश्वविद्यालय स्थापनाका लागि आवेदन माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
२०८० असोज ९ मंगलबार १३:२०:००

बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ कार्यान्वयन गर्दै प्रदेश विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको छ। 

प्रदेश सरकारको मातहत रहने गरी प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको हो। सामाजिक विकास मन्त्रालयले सार्वजनिक विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि मापदण्ड पुगेका शैक्षिक संस्थाहरूबाट आवेदन पेस गर्न सूचना जारी गरिसकेको छ। 

मन्त्रालयका सचिव भीष्मकुमार भुसालका अनुसार ऐनको कार्यान्वयन गर्दै विश्वविद्यालयका लागि आवेदन माग भएको र सो विषयमा सार्वजनिक, निजी जुनसुकै प्रकृतिका शैक्षिक संस्थाहरूले निवेदन दिन सक्नेछन्। 

ऐन जारी भएको डेढ वर्षपछि सरकारले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउँदै आवेदन माग गरेको हो।

सूचनाअनुसार प्रदेश उच्च शिक्षा परिषद्को सचिवालयले सूचना जारी भएको मितिले ३० दिनभित्रमा विश्वविद्यालय स्थापनाका लागि रु. एक लाख राजस्वसहित आवेदन पेस गर्न आह्वान गरेको छ। 

सार्वजनिक विश्वविद्यालय, सामुदायिक विश्वविद्यालय, मानित विश्वविद्यालय र स्वायत्त प्रतिष्ठानले रु. एक लाख निवेदन दस्तुर तथा स्वीकृति दस्तुर रु. पाँच लाख बुझाउनुपर्ने हुन्छ। उच्च शिक्षण संस्थाले निवेदन दस्तुरबापत रु. ७५ हजार र स्वीकृत दस्तुरबापत रु. तीन लाख बुझाउनुपर्ने व्यवस्था छ।

यसअघि प्रदेश सरकारले हेटौँडामा नै प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल अघि बढाइसकेको छ। सोहीअनुसार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एक साताअघि क्याम्पस व्यवस्थापन समिति, प्रशासन, राजनीतिक दल र सरोकारवालासँगको छलफलमा क्याम्पसलाई विश्वविद्यालय बनाउने सहमतिसमेत बनेको थियो। 

उक्त सहमतिअनुसार मकवानपुर क्याम्पसलाई विश्वविद्यालय स्थापना गर्न क्याम्पसले आवेदन पेस गर्ने र मापदण्ड पुगेको खण्डमा सो क्याम्पस विश्वविद्यालय कायम हुनेछ। 

मुख्यमन्त्री जम्कट्टेलले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको केन्द्रीय विश्वविद्यालयका रूपमा स्थापना गरी शिक्षा क्षेत्रको विकासमा अग्रसर गराउने तयारी गरिएको बताए। उनले प्रदेशको विश्वविद्यालयमा प्राविधिक विषय अध्यापन गराइने योजना रहेको जानकारी दिए।