
मधेशका विभिन्न स्थानमा साम्प्रदायिक प्रकृतिका घटना वेलावेला किन भइरहेका छन् ?
तराई मधेशमा पछिल्ला केही वर्षयता सामाजिक, धार्मिक तनाव बढ्दो छ । यो समस्या कुनै एक समुदायमा मात्र सीमित छैन । विभिन्न अतिवादी तत्वले यसलाई मलजल गर्ने प्रयत्न गर्दै आएका छन् । सबैमा आफ्नो जात, धर्म र समुदाय श्रेष्ठ हुन्छ भन्ने सोच छ । यसैलाई जगाएर राजनीति गर्न सकिन्छ भन्ने सोचसमेत कतिपयमा देखिन्छ ।
संविधानले दिएका ‘फन्डामेन्टल राइट’ मन नपराउनेहरूले पनि यसलाई बल दिइरहेका छन् । ह्वाट्सएपजस्ता सामाजिक सञ्जालले पनि यसलाई उचालिरहेका छन् । पछिल्ला केही वर्षयता तराई मधेशमा रहेका हिन्दू, मुस्लिम, प्रकृतिपूजक, बौद्धसँगै क्रिस्चियनको उपस्थिति बढिरहेको छ । यसले पनि तनाव बढाइरहेको छ । साथै, हिन्दूत्वको राजनीति गरेर माथि आउन सक्ने सोचको पनि यसमा प्रभाव परिरहेको देखिन्छ ।
दलहरूको राजनीतिक रोटी सेक्ने दाउपेच त होइन नि ?
पछिल्ला केही वर्षयता राजनीतिक शक्तिको नैतिक ‘स्पेस’ क्षीण हुँदै गएको छ । समाजमा बिस्तारै हुर्कंदै गएको साम्प्रदायिक प्रवृत्तिलाई सामसुम पार्ने दिशामा दलहरूको तदारुकता देखिइरहेको छैन । धार्मिक, सामाजिक तनावको समाधान बन्दुक होइन । कसैमा पनि कसैबाट अुरक्षाको भावना रहनुहुँदैन ।
यसलाई रोक्न राज्य, समाज या राजनीतिक दलको भूमिका कस्तो हुन्छ ?
यसमा राज्य, नागरिक समाज, पत्रकार, बुद्धिजीवी, राजनीतिक शक्ति सबै जिम्मेवार हुनुपर्छ । सामाजिक बहुलतायुक्त हाम्रो पहिचानलाई सबैले सम्मान गर्नुपर्छ । सामाजिक द्वन्द्वको भन्दा पनि धार्मिक द्वन्द्वको घाउ लामो समयसम्म उकुच पल्टिरहन्छ । यस सत्यलाई सबैले समयमै बोध गर्न सक्नुपर्छ ।