Skip This
प्रधानमन्त्री प्रचण्ड बेइजिङमा : आज दुई प्रधानमन्त्रीबीच औपचारिक वार्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Saturday, 27 July, 2024
नेपाल–चीन व्यापार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड
२o८o असोज ८ सोमबार o६:२१:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री प्रचण्ड बेइजिङमा : आज दुई प्रधानमन्त्रीबीच औपचारिक वार्ता

राष्ट्रपति सीसँगको वार्तापछि विश्वासको वातावरण : प्रधानमन्त्री

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार o६:२१:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शनिबार भएको भेटवार्तापछि नेपाल–चीनबीच विश्वासको वातावरण तयार भएको बताएका छन् । बेइजिङमा आइतबार नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग पारस्परिक हितका साथै नेपाललाई चिनियाँ सहयोगको दायरा बढाउने विषयमा खुलेरै छलफल भएको सुनाए । 

‘राष्ट्रपति सी जिनपिङ र मेरोबीचमा बडो सौहार्दपूर्ण वातावरणमा छलफल भयो । पारस्परिक हितका विषयमा हामीले खुलेरै छलफल गर्‍यौँ । आपसी हित, आउने दिनमा सहयोगको क्षेत्र विस्तार, भौतिक पूर्वाधारको क्षेत्रमा गर्न सकिने प्रगतिबारे कुराकानी भयो,’ प्रचण्डले चिनियाँ र नेपाली बुद्धिजीवी तथा प्रतिनिधिमण्डलका सदस्यमाझ भने, ‘कनेक्टिभिटी (रेल, हवाई यातायात, बाटोघाटो), पर्यटन, शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा हुन सक्ने सहयोगबारे छलफल भएको छ । नेपाललाई विकासका निम्ति कृषिमा आधारित उद्योगको महत्व छ भन्नेबारे हाम्रो छलफल भयो ।’

प्रधानमन्त्री प्रचण्डले सबैको मिहिनेतले विश्वासको वातावरण तयार भएको पनि सुनाए । ‘हामी सबैको मिहिनेतले विश्वासको वातावरण तयार भएको छ,’ प्रधानमन्त्रीले भने, ‘नेपाल–चीन सम्बन्धका आयाम व्यापक छन् र ती विकसित हुँदै जान्छन् भन्ने विश्वास लिएको छु ।’ राष्ट्रपति सीसँग हाङझाउको वेस्ट लेक स्टेट गेस्टहाउसमा शनिबार एक घन्टा भेटवार्ता भएको थियो । 

प्रधानमन्त्री प्रचण्डले नेपाल–चीन सम्बन्ध सदिऔँ पुरानो भएको र सम्बन्धको गहिराइलाई विश्वमा तथा क्षेत्रीय र राष्ट्रिय परिवेशमा आएका परिवर्तनले कहिल्यै फरक नपारेको स्मरण गरे । प्रधानमन्त्री प्रचण्डले ०७२ मा संविधान जारी गरिसकेपछि नेपालमा दुईपटक निर्वाचन सम्पन्न भइसकेको उल्लेख गर्दै अब सरकारको ध्यान स्वाभाविक रूपमा र आवश्यकताले आर्थिक समृद्धि र विकासमा केन्द्रित भएको बताए । ‘हाम्रा छिमेकी चीन र भारत विकासको नयाँ गति र उचाइतिर अघि बढेका छन् । छिमेकीहरूको विकासबाट नेपाल लाभान्वित हुनैपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालले लाभ लिन सकेन भने हाम्रा लागि राम्रो हुँदैन ।’

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग भएका कुराकानी, छलफल र निष्कर्षका आधारमा देशबाहिरको निजी क्षेत्रसँग नेपालले समझदारी र सहकार्य गर्ने तथा नेपालमा विदेशी लगानीको वातावरण बनाउन मद्दत पुगेको बताए । ‘चीनको लगानी अब नेपालमा भित्रिन्छ । नेपालमा नीतिगत र कानुनी जटिलतालाई हटाउन पहल गरेका छौँ,’ प्रधानमन्त्रीले भने, ‘नेपालमा चिनियाँ लगानी सुरक्षित छ भन्ने विश्वास दिलाउन कोसिस गरेको छु । सीसँग सौहार्दपूर्ण र हार्दिक रूपमा जसरी कुराकानी भयो, हामी सबैलाई यसले उत्साही तुल्याएको छ ।’ 

प्रचण्डले चीनमा प्रधानमन्त्रीका रूपमा तेस्रो तथा थप दुई भ्रमण माओवादी पार्टीका अध्यक्षका रूपमा गरेको पनि स्मरण गरे । ‘पाँचैपटक चीनका नेताहरूसँग भेटघाट गरेर महत्वपूर्ण छलफल गर्ने अवसर प्राप्त भएको छ,’ प्रचण्डले भने । पहिलोपटक प्रधानमन्त्री हुँदा प्रचण्ड बेइजिङ ओलम्पिकको समापनमा सहभागी भएका थिए । प्रधानमन्त्रीका रूपमा पहिलो भ्रमण चीनबाट सुरु गरेको उनले सम्झिए । ‘पहिलोपटक खेलको समापनमा पुगेको थिएँ । त्यहीँ राष्ट्रपति हु जिन्ताओसँग भेटवार्ता भएको थयो । यसपटक १९औँ खेल उद्घाटनका अवसरमा औपचारिक भ्रमण गर्ने मौका पाएँ । यसलाई सुखद संयोग मानेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यतिवेला पनि नयाँ उत्साह र परिवेशमा नेपाल चीन–सम्बन्ध बलियो बनाउने उद्देश्य भ्रमणको थियो । योपटक भिन्न परिवेश हुँदाहुँदै पनि नेपाल–चीन सम्बन्धका विभिन्न आयामलाई अझ मजबुत बनाउने, आर्थिक क्षेत्रमा सहयोगको अझ दायरा बढाउने र त्यसनिम्ति दुवैतिरबाट आपसी हित केन्द्रमा राखेर समझदारी बनाउने गरी आएको छु ।’

न्युयोर्कबाट सीधै किन ? 
प्रधानमन्त्री प्रचण्डले न्युयोर्कबाट चीन भ्रमणमा जानुपर्ने विषयमा पनि प्रस्टीकरण दिए । ‘म कुनै देशको भ्रमणमा भन्दा पनि संयुक्त राष्ट्रसंघीय महासभामा गएको थिएँ, त्यहाँबाट बेइजिङ पुग्ने संयोग जुर्‍यो,’ प्रधानमन्त्रीले भने । प्रधानमन्त्रीले न्युयोर्कस्थित राष्ट्रसंघीय महासभाको ७८औँ सत्रमा जलवायु परिवर्तनको असर र नेपालको शान्ति प्रक्रियाबारे छलफल भएको पनि बताए । ‘नेपालको शान्ति प्रक्रिया निकै मौलिक प्रकृतिको छ । आफ्नै प्रक्रियाबाट अघि बढेर जटिल समस्याको समाधान गरेर सफलता हासिल गर्न सफल भएका छौँ,’ प्रधानमन्त्रीले भने, ‘सत्य निरूपण र बेपत्ता वा संक्रमणकालीन विषय टुंग्याउने प्रक्रियाको अन्तिम चरणमा छौँ । विधेयक संसद्मा छ । त्यहाँबाट पारित गरेपछि अघि बढ्छ ।’ 

प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियालाई अन्तिम टुंगोमा पुयाउन अन्तर्राष्ट्रिय समुदाय आउनुपर्ने बताए । यसका लागि नेपाललाई विश्वव्यापी रूपमा समर्थन आवश्यक रहेको उनले बताए । पछिल्लोपटक विश्व समुदायले नेपालको भनाइलाई गम्भीरतापूर्वक सुन्न थालेको महसुस भएको पनि प्रचण्डले सुनाए । ‘राष्ट्रसंघमा बोलेर बाहिर निस्कँदा बधाई दिनेहरूको ताँती, फोटो खिच्नेको ताँती देख्दा हामीले बोलेको कुरा गम्भीरतापूर्वक सुनिएछ भन्ने लागेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

आज समकक्षीसँग औपचारिक वार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्दै छन् । दिवाभोजसहित करिब दुई घन्टा उनीहरूबीच छलफलको समय तय भएको छ । चिनियाँ समयअनुसार पौने ११ बजे वार्ता सुरु हुनेछ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी ली दिउँसो १ बजेसम्म सँगै रहनेछन् ।

सोमबार बिहान सुरुमा चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लिइजीसँग प्रधानमन्त्रीको भेटवार्ता हुनेछ, त्यसपछि गार्ड अफ अनरसहित दुई प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । परराष्ट्र स्रोतका अनुसार वार्तापछि आधा दर्जन समझदारीपत्र आदानप्रदान हुनेछन् । डिजिटल इकोनोमी, क्लिन ग्रिन इनर्जी, टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन, कृषिलगायत विषयमा समझदारीपत्र आदनप्रदान हुनेछ । तर, बिआरआई कार्यान्वयन सम्झौता नहुँदा विकाससँग सम्बन्धित परियोजनामा कुनै सम्झौता नहुने भएको छ ।