मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १५ शुक्रबार
  • Friday, 01 December, 2023
२०८० असोज ७ आइतबार २१:२१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगु आगलागीमा चार करोडभन्दा बढीको क्षति

Read Time : > 1 मिनेट
२०८० असोज ७ आइतबार २१:२१:००

सदरमुकाम गमगढीस्थित तल्लो बजारमा शुक्रबार राति भएको आगलागीबाट चार करोडभन्दा बढीको भौतिक संरचना र धनमालको क्षति भएको छ। 

आइतबार बिहान बसेको जिल्ला विपत् समितिको बैठकमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले आगलागीमा चार करोडभन्दा बढीको भौतिक सम्पत्ति र धनमालको क्षति पुगेको रिपोर्ट प्रस्तुत गरेका हुन्।

आगलागीमा जलेका घरका धनी, त्यहाँ रहेका विभिन्न व्यवसाय गर्दै आएका व्यवसायी र घर बहालमा बस्नेहरूबाट लिएको मालसामानहरूको सूचना र बजार मूल्य विश्लेषण गरेर अनुमानित क्षतिको विवरण निकालिएको डिएसपी थापाले जानकारी दिए। 

बैठकमा नेपाल रेडक्रस मुगु शाखाका महामन्त्री रत्न मल्लले पीडित परिवारहरूको तथ्यांक प्रस्तुत गरेका थिए। तथ्यांकअनुसार आगलागीबाट आठवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने तीनवटा घरमा आंशिक क्षति पुगेको छ। आगलागीबाट २८ परिवारका ९५ जना प्रभावित भएका छन्। आगलागीका प्रभावितमध्ये ४७ जना बालबालिका छन्। 

आगलागीबाट क्षति भएका घरहरूमा विभिन्न व्यवसाय गर्दै आएका नौजना व्यवसायीका पसल र घरभाडामा बस्दै आएका ११ जनाको सामान तथा लत्ताकपडा पनि जलेर खरानी भएको रेडक्रसले प्रस्तुत गरेको रिपोर्टमा उल्लेख छ। 

आगलागी भएपछि झ्यालबाट हाम फालेर भाग्दा राष्ट्रिय लोक दोहोरीकी मुगु जिल्ला कोषाध्यक्ष गायिका स्वस्तिका शाही घाइते भएकी छिन्। हाम फाल्ने क्रममा उनको छाती र हातखुट्टामा चोट लागेको छ। उनको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ।

आइतबार जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा सहभागी विभिन्न सरकारी तथा  गैरसरकारी संघ संस्था कार्यालयहरूले आगलागीबाट पीडित परिवारहरूलाई आर्थिक तथा जिन्सी राहत सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। 

प्रमुख जिल्ला अधिकारी थापाले दिएको जानकारीअनुसार पीडित परिवारलाई हिरिन्डेक नेपाल मुगुले व्यक्तिगत तथा घरायसी सरसफाइका सामग्री, छायाँ नेपालले खाद्यान्न, युएमएन क्लस्टरले आगलागी भएका घरधनीलाई तीन लाख रुपैयाँबराबरको सहयोग, कर्णाली सामुदायिक विकास केन्द्रले दुई लाखबराबरको सहयोग र हिरिन्डेकले ५० हजारबराबरको सहयोग गरेको छ । 

यस्तै, आगलागीबाट प्रभावितहरूलाई साहस नेपालले प्रतिघर ७ हजारसम्मको खाद्यान्न सहयोग गर्ने र आइएनएफ मुगुले जिल्ला विपत् समितिको सहयोग आग्रह केन्द्रमा पठाई केन्द्रको निर्णयअनुसार पीडित परिवारलाई सहयोग गर्ने बताएको छ।

बैठकमा सहभागी कर्णाली  प्रदेश सभा सदस्य तथा निवर्तमान प्रदेशमन्त्री जितबहादुर मल्लले क्षति धेरै भएको र राहतका प्रतिबद्धता न्यून आएको भन्दै घरहरू पुनर्निर्माणका लागि संघीय सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय तहहरूलाई आग्रह गर्नुपर्ने बताए। 

नागरिक समाजका अध्यक्ष रूपबहादुर मल्ल र नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले मुगु सदरमुकाम वर्षेनी आगलागीको चपेटामा पर्दै आएकाले दीर्घकालीन समाधानका लागि ध्यानाकर्षण गराएका थिए। 

दमकलको व्यवस्था गर्नुपर्ने, घरहरूमा गुणस्तरीय वाइरिङ गर्न पालिकाले कडाइ गर्नुपर्ने तथा पेट्रोल, डिजेल र ग्यासका गोदाम घनाबस्तीभन्दा टाढा राख्न लगाउनुपर्ने सुझाव उनीहरूले दिए।