मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १५ शुक्रबार
  • Friday, 01 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ७ आइतबार १४:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल-चीन व्यवसाय परिषद् स्थापना गर्न परिसंघ र सिसिपिआइटीबीच समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ७ आइतबार १४:५०:००

नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रवर्द्धनका लागि नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका अवसरमा सिएनआई र सिसिपिआइटीबीच आज उक्त  समझदारी भएको हो। समझदारीपत्रमा सिएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सिसिपिआइटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गरेका छन्।  

समझदारीसँगै नेपाल चाइना बिजनेस काउन्सिलमार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरहरूको पूर्ण सम्भावनाको सदुपयोग गर्ने र नेपाल–चीन दुवैका व्यावसायिक समुदायको विकासका लागि सहजीकरणमा सहजता आउने विश्वास गरिएको छ। 

काउन्सिलले दुई देशबीच व्यावसायिक गतिविधिलाई सुव्यवस्थित गर्न, अनुसन्धान र अध्ययन–सम्बन्धित पहलहरू सञ्चालन गर्न, लगानी अभिवृद्धिका लागि नेटवर्किङका अवसरहरू सिर्जना गर्न, व्यावसायिक भ्रमण आदान–प्रदान गर्न, सम्मेलन तथा संवादलगायतका गतिविधि गर्नेछ। 

यी लक्ष्य प्राप्त गर्न परिसंघ र सिसिपिआइटीले काउन्सिलको गठनसहित सहकार्यको रोडम्याप तयार पारेका छन्। नेपाल चाइना बिजनेस काउन्सिलमा चार सदस्य रहनेछन् र प्रत्येक संस्थाबाट दुईजना प्रतिनिधि हुनेछन्।

परिसंघका अध्यक्ष अग्रवालले यस समझदारीले नेपाल–चीनबीच व्यावसायिक सम्बन्ध अभिवृद्धिसँगै चिनियाँ लगानी तथा प्रविधि भित्र्याउन नेपाल–चीन व्यावसायिक परिषद महत्वपूर्ण माध्यम बन्ने बताए। उनले परिषद्ले देखिने गरी प्रभावकारी रूपमा काम गर्ने विश्वाससमेत व्यक्त गरे।  

समझदारी हस्ताक्षर कार्यक्रममा परिसंघका तर्फबाट निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरू निर्वाण चौधरी, भीम घिमिरेसमेत सहभागी थिए।