Skip This
एक–अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य सघन बनाउने सहमति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ७ आइतबार
  • Friday, 19 July, 2024
मञ्जु टेलर हाङझाउ (चीन)
२o८o असोज ७ आइतबार o६:२७:oo
Read Time : > 5 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक–अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य सघन बनाउने सहमति

Read Time : > 5 मिनेट
मञ्जु टेलर, हाङझाउ (चीन)
नयाँ पत्रिका
२o८o असोज ७ आइतबार o६:२७:oo

हाङझाउमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीको भेटवार्ता

संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई शुक्रबार सम्बोधन गरेर अमेरिकाको न्युयोर्कबाट शनिबार चीन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङले एक घन्टा भेटवार्ता गरेका छन् । पूर्वी चीनको झेजियाङ प्रान्तको राजधानी हाङझाउमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच बिआरआई र हिमालय सीमापार बहुपक्षीय कनेक्टिभिटी नेटवर्कको ढाँचामा दुई देशबीच रणनीतिक सहकार्यबारे छलफल भएको छ । 

१९औँ एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो । प्रतिनिधिमण्डलस्तरीय र एकान्त वार्तामा प्रचण्ड र सी नेपाल–चीन ऐतिहासिक सम्बन्ध र भविष्यको सहकार्यमा केन्द्रित थिए ।

वार्तामा दुवै नेता क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको विषयमा सहमत भएका छन् । दुवै नेताबीच एक–अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति छ । भेटवार्तामा प्रचण्ड र सी दुवैले एक–अर्काको प्रशंसा पनि गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाल कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रस्ट पारेका छन् । 

चिनियाँ राष्ट्रपति सीले चीन र नेपालले ठूला र साना देशहरूबीच समान व्यवहार तथा पारस्परिक हितमा आधारित सहकार्यको उदाहरण प्रस्तुत गरेको बताएका छन् । ‘दुई देश राष्ट्रिय विकास र समृद्धिको मार्गमा एक–अर्काका साझेदार र अवसर हुन्,’ राष्ट्रपति सीलाई उद्धृत गर्दै चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले भनेको छ, ‘दुई पक्षले एक–अर्काको मुख्य चासो र हितका विषयमा सधैँ एक–अर्कालाई बुझ्नुपर्छ र समर्थन गर्नुपर्छ । अनि, द्विपक्षीय सम्बन्धको राजनीतिक आधारलाई निरन्तर सुदृढ तुल्याउनुपर्छ ।’ 

नेपाल र चीनबीच बिआरआई सहकार्यमा प्रगति गरेको र हिमालय सीमापार बहुआयामिक कनेक्टिभिटी नेटवर्कले आकार लिएको उनले बताए । राष्ट्रपति सीले नेपाललाई भूपरिवेष्टितबाट भूजडित देशमा रूपान्तरण गर्न पूर्वाधार कनेक्टिभिटी वृद्धि गर्न र पारवहन यातायात सहयोग विस्तार गर्न नेपाल र चीन दुवै पक्षबाट प्रयास हुनुपर्ने बताए । चीनले नेपालसँग बहुपक्षीय समन्वयलाई सुदृढ गर्न, दुई देश र अन्य विकासशील देशहरूको साझा हितको रक्षा गर्न र मानवताको साझा भविष्य भएको समुदायको निर्माणलाई प्रवर्द्धन गर्न इच्छुक रहेको राष्ट्रपति सीको भनाइ थियो । 

सिन्ह्वाका अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी दूरदर्शी विश्व नेता र सम्पूर्ण नेपाली जनताको असल मित्र भएको बताएका थिए । ‘नेपाल र चीन एक–अर्कालाई बुझ्ने, भर पर्न र सहयोग गर्न सक्ने मित्र र साझेदार हुन्,’ प्रचण्डले भने, ‘नेपाल एक चीन नीतिप्रति दृढ छ । ताइवान र तिब्बत दुवै चीनको भूभागका अविभाज्य अंग हुन् । नेपालले आफ्नो भूमि चीनको सार्वभौमसत्ता र सुरक्षामा खलल पार्न कुनै पनि शक्तिलाई प्रयोग गर्न दिनेछैनौँ । यो अडान दृढ र अटल छ ।’ 

प्रधानमन्त्री प्रचण्डले बिआरआईलाई नेपालले उच्च प्रशंसा गरेको र यसअन्तर्गत सहकार्यमा सक्रिय हुनुपर्नेमा जोड दिएका थिए । बिआरआईमार्फत सहकार्यले हिमालय सीमापार बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई प्रवर्द्धन गर्ने पनि उनको भनाइ थियो । 

प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको बताएका छन् । प्रधानमन्त्रीले एक चीन नीतिप्रतिको प्रतिबद्धता व्यवहारबाटै पुष्टि गरेको बताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अंगीकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रस्ट पारेका छन् । चीनले अघि सारेको बिआरआई अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकेको बताए । 

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीले प्रस्ताव गरेका महत्वपूर्ण अवधारणा र पहलको शृंखलालाई नेपालले समर्थन गरेको जानकारी दिए । अन्तर्राष्ट्रिय व्यवस्थाको विकासलाई अझ न्यायोचित र तर्कसंगत दिशामा अघि बढाउन, विकासोन्मुख देशहरूको साझा हितको रक्षा र प्रवर्द्धन गर्न नेपाल चीनसँग मिलेर काम गर्न इच्छुक रहेको पनि उनको भनाइ थियो । 

राष्ट्रपति सीले प्रधानमन्त्री प्रचण्डसँगका यसअघिका भेटको चर्चा गर्दै आफू राष्ट्रपति हुनासाथ दक्षिण एसियाबाट पहिलो नेताका रूपमा चीनमा स्वागत गरेको स्मरण गरे । यस्ता वार्ताले दुई देशबीचका सम्बन्ध र विश्वासलाई अझ सुदृढ पार्ने उनको भनाइ थियो । 

राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धमा नयाँ प्रगति ल्याउन चीन इच्छुक रहेको बताए । ‘चीनले नेपाल–चीन सम्बन्धलाई ठूलो महत्व दिएको छ र नेपालसँगको विकास रणनीति तालमेललाई सुदृढ गर्न, विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई प्रगाढ बनाउन, शासनपद्धतिबारे आदानप्रदान बढाउन तथा चीन–नेपाल सम्बन्धमा नयाँ प्रगति प्रवर्द्धन गर्न चीन इच्छुक छ,’ सीको भनाइ थियो । 

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्ट रूपमा छलफल गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । ‘वार्तामा दुवै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति रह्यो,’ आचार्यद्वारा बैठकपछि सम्प्रेषित प्रेस नोटमा छ, ‘यसैगरी दुवै नेताबीच पारस्परिक चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको छ ।’ 

चिनियाँ राष्ट्रपति सीले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले बताए । 

वार्तापछि नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भने, ‘सीले चीन–नेपाल सम्बन्धमा चीनले ठूलो महत्व दिएको र द्विपक्षीय सम्बन्धको निरन्तर नयाँ प्रगतिलाई प्रवर्द्धन गर्न नेपालसँग विकास रणनीति थप सुदृढ गर्न इच्छुक रहेका छौँ भन्नुभएको छ ।’ 

बैठकमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, परराष्ट्रसचिव भरतराज पौड्याल, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र प्रधानमन्त्रीपुत्री गंगा दाहाल सहभागी थिए । चीनका वरिष्ठ नेता चाइ छी, दिङ सुएङ, विदेशमन्त्री वाङ यी र अर्का नेता सेन यिछिनलगायत बैठकम सहभागी थिए । 

वार्तापछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले चीन र नेपालले आकारमा तलमाथि भए पनि समानता र पारस्परिक हितको सहकार्यमा असल उदाहरण प्रस्तुत गरेको बताइन् । उनको भनाइ थियो, ‘चीनले नेपालसँग विकास रणनीतिबीचको सहकार्य र चीन–नेपाल सम्बन्धमा निरन्तर नयाँ प्रगतिका लागि काम गर्नेछ ।’

प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान चीनको हाङझाउ पुगेका थिए । अपराह्न चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता भएको थियो । प्रधानमन्त्री प्रचण्डको टोली ७ असोजमा बेइजिङ जानेछ । सोही दिन (आइतबार) अपराह्न आयोजना हुने नेपाल–चीन लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यही दिन प्रधानमन्त्रीको सम्मानमा नेपाली राजदूतावासले रात्रिभोजसहित स्वागत समारोह आयोजना गर्दै छ । 

प्रधानमन्त्री प्रचण्डले ८ असोजमा चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ । त्यसअघि प्रधानमन्त्री प्रचण्डले चिनियाँ जनकंग्रेस (संसद्) स्थायी समितिका अध्यक्ष झाउ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड ९ असारमा छोङछिङ सहर जाँदै छन् । एमाले महासचिव शंकर पोखरले नेतृत्वको प्रतिनिधिमण्डललाई दुई साताअघि चिनियाँ कम्युनिस्ट पार्टीले त्यहीँ स्वागत गरेको थियो । 

के भन्छन् चिनियाँ विज्ञ ? 
सिचुआन इन्टरनेसनल स्टडिज युनिभर्सिटीको स्कुल अफ इन्टरनेसनल रिलेसनका प्रोफेसर लङ जिङचुनले चीन र नेपालबीचको सहयोगको सम्भावना अपार रहेको प्रतिक्रिया दिएका छन् । ‘चीन र नेपालबीचको सहयोगको सम्भावना अपार छ । विशेष गरी बिआरआई र चीन–नेपाल रेलमार्ग निर्माणमार्फत चीनले नेपाललाई भारतले भन्दा बढी लगानी र औद्योगिक स्थानान्तरण प्रदान गर्न सक्छ, जसले नेपालको आर्थिक वृद्धिलाई बढवा दिन्छ,’ चिनियाँ सञ्चारमाध्यममा उनको प्रतिक्रिया छ । 

त्यसैगरी, सिङहुआ विश्वविद्यालयको राष्ट्रिय रणनीति संस्थानका अनुसन्धान विभागका निर्देशक छियान फेङले प्रचण्डको भ्रमणले द्विपक्षीय सम्बन्ध बलियो बनाउन सहयोग गर्ने बताए । ‘कोभिड– १९ महामारीको तीन वर्षमा नेपालका प्रधानमन्त्रीको यो पहिलो भ्रमण हो, जसले द्विपक्षीय सम्बन्धलाई बलियो बढवा दिएको छ,’ उनको भनाइ छ । 

प्रचण्डको भारत भ्रमणयताका प्रगति सार्वजनिक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा रहेका वेला उनी भारत भ्रमणमा गएयताको प्रगति सार्वजनिक भएको छ । प्रधानमन्त्री प्रचण्डले १७ देखि २० जेठसम्म भारतको औपचारिक भ्रमण गरेका थिए । भारतीय राजदूतावासले शनिबार प्रधानमन्त्रीको भ्रमणपछि दुई देशबीच भएका सहकार्यका उपलब्धि सार्वजनिक गरेको हो । 

अबको १० वर्षमा भारततर्फ विद्युत् निर्यात क्षमतालाई १० हजार मेगावाट पु¥याउन प्रयास गर्ने प्रतिबद्धतालाई यथार्थमा बदल्दै भारततर्फ थप १८० मेगावाट बिजुली निर्यात स्वीकृत भएको छ । नेपालले अब भारततर्फ ६३१ मेगावाट ऊर्जा निर्यात गर्न सक्नेछ । ऊर्जा निर्यातका लागि डेअहडेड बजारबाहेक मध्यावधि र रियल टाइम बजार उपलब्ध भएको दूतावासले जनाएको छ । ऊर्जा निर्यातका लागि १३२ केभी टनकपुर–महेन्द्रनगर प्रसारण लाइन थप भएको पनि उल्लेख गरिएको छ । 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि विकास परियोजनाले गति लिने क्रममा धनुषाको कुर्था–बिजलपुरा रेलमार्गको सञ्चालनमा आएको र जनताबीचको सम्पर्क थप सुदृढ भएको दूतावासले उल्लेख गरेको छ । यसबीचमा संखुवासभामा भारतीय अनुदानमा निर्मित सामुदायिक विकास परियोजना तथा कैलाली र कञ्चनपुरमा विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण भएको छ । 

भारतीय दूतावासका अनुसार २००३ देखि हालससम्म नेपालको विभिन्न जिल्लामा पाँच सय ४६ वटा परियोजना सञ्चालनमा छन् । काठमाडौंको चन्द्रागिरिस्थित श्री विष्णुदेवी माध्यमिक विद्यालय भवन पुनर्निर्माण भएको तथा दार्चुला, संखुवासभा र उदयपुर जिल्लामा शिक्षा, खानेपानी आपूर्ति तथा सरसफाइको क्षेत्रमा चारवटा सामुदायिक विकास परियोजना निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको दूतावासले जनाएको छ । 

भारत सरकारले यस वर्ष नेपालका विभिन्न संघसंस्थालाई ३४ वटा एम्बुलेन्स तथा ५० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ । भारतले हालसम्म नौ सय ७४ वटा एम्बुलेन्स र दुई सय ३४ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ । 

यसबीचमा भारतीय सहयोमा ललितपुरस्थित नापीचन्द्र महाविहारको भूकम्पपछिको पुनर्निर्माण भएको छ । बुढानीलकण्ठ धर्मशालाको पुनर्निर्माण सम्पन्न भएको छ भने भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्र लुम्बिनीको भूमिपूजन पनि सम्पन्न भएको छ ।
 

ad
ad
ad
ad