१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २o:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

केन्द्रीय सदस्य मनोनयनको निर्णयले कांग्रेसभित्र बढ्यो असन्तुष्टि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:१९:oo

केन्द्रीय कार्यसमिति सदस्यमा पार्टी सभापति शेरबहादुर देउवाले गरेको मनोनयनको निर्णयप्रति कांग्रेसमा असन्तुष्टि देखिएको छ । 

मापदण्डविना तल्लो संगठनमा समेत चुनाव हारेका तथा विवादमा मुछिएका पात्रलाई केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै नेताहरूले पार्टी नेतृत्वको आलोचना गरेका हुन् । 

केन्द्रीय सदस्य मनोनीत गर्दा युवा, अन्य पार्टीबाट आएका नेतालगायतलाई नसमेटिएको गुनासो छ । शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले मनोनीत केन्द्रीय सदस्यको मापदण्डमाथि प्रश्न उठाए । 

शर्माले भने, ‘कुन मापदण्ड र प्रक्रियाले केन्द्रीय सदस्य बनाउनुभएको मलाई थाहा भएन । जे पनि गर्दा पार्टीलाई राम्रो हुँदैन । हामीसँग चुनाव लडेका मान्छेलाई सभापतिले फटाफाट ल्याइदिनुभयो ।’ तल्लो तहमा चुनावमा पराजित व्यक्तिलाई माथिल्लो संरचनामा लैजाँदा भोलिका दिनमा प्रतिस्पर्धाको महत्व नहुने उनको भनाइ थियो । 

केन्द्रीय सदस्य सिवाकोटीले सोधे, ‘केन्द्रीय सदस्यहरूको मनोनयन सन्दर्भमा प्रदेश सभापतिज्यूहरूले यसको मापदण्डबारे प्रश्न उठाउनुभएको छ । जुन मापदण्डले केही केन्द्रीय सदस्यज्यूहरू मनोनयनमा पर्नुभएको छ त्यो मापदण्डमा अन्य प्रदेशका सभापतिका प्रतिस्पर्धीहरू किन पर्नुभएन ?’ 

सिवाकोटीले यसअघि पनि तल्लो तहमा पराजितहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्दा विधानको पालना नभएको सन्दर्भ उल्लेख गरे । ‘यसो गर्दा विधानको पालना नभएको र न्याय पनि नभएकोबारे सभापतिज्यूलाई हेक्का भयो कि भएन होला ? सभापतिको कुर्सीबाट सबै आफ्ना कार्यकर्ताले समानुभूति अपेक्षा गर्ने र न्यायको आस गर्नु अपराध हो र ?’ उनले भने । 

मनोनयनमा छुटाएकोमा संस्थापन पक्षकै कतिपय नेता नेतृत्वप्रति रुष्ट बनेका छन् । सभापति देउवाबाट पहिलो लटमै केन्द्रीय सदस्य मनोनीत गर्ने आश्वासन पाएका एक नेता भन्छन्, ‘शेरबहादुर दाइले सुरुमै समेट्छु भन्नुभएको थियो । तर, बिर्सिनुभएको हो कि के हो ? पार्टीका लागि यति धेरै कुर्बानी दिएँ, तर नेतृत्वले मूल्यांकन गरेन । नेतृत्वबाटै वाचा पूरा नहुँदा दुःख लागेको छ ।’ 

सभापति देउवाले भने मनोनयन गर्नुपर्ने संख्या धेरै भएको र विधानको व्यवस्थाअनुसार सिट थोरै भएकाले समेट्न नसकिएको जवाफ केन्द्रीय समितिमा दिएका छन् । ‘ठाउँ कम छ, त्यसैले धेरै साथीहरू छुट्नुभएको छ । छुटेका नाम तपाईंहरूले पनि भन्नुहोला, महासमिति सदस्यमा अरू साथीहरूलाई अटाउँला,’ उनले भने ।

सभापति शेरबहादुर देउवाले बिहीबार मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, डा. चन्द्र भण्डारी, शिवप्रसाद हुमागाईं, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटालाई केन्द्रीय सदस्य मनोनयन गरेका थिए ।

कांग्रेस विधानअनुसार केन्द्रीय समितिमा सभापतिलाई ३३ केन्द्रीय सदस्य मनोनयनको अधिकार छ । यसअघि देउवाले २४ सदस्य मनोनीत गरिसकेका थिए । रामचन्द्र पौडेल राष्ट्रपति भएकाले रिक्त रहेको उनको स्थानसहित अब देउवाले दुईजना सदस्य मनोनीत गर्न बाँकी छ ।

ad
ad