१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०८० असोज ४ बिहीबार १६:००:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

पिसिआर मेसिन बेवारिसे, होल्डिङ सेन्टर प्रयोगविहीन

Read Time : > 2 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
२०८० असोज ४ बिहीबार १६:००:००

कपिलवस्तु नगरपालिका– ३ चपरतल्लास्थित कपिलवस्तु जिल्ला अस्पतालको एउटा भवनको माथिल्लो तलामा पिसिआर मेसिन छ भने तल्लो तलामा आइसोलेसन सेन्टर छ। उक्त दुईतले भवनको प्रवेश गेटमै ताल्चा झुन्डिएको छ। ताल्चामा खिया लागिसकेको छ। कम्पाउन्डभित्र घुँडासम्म आउने गरी घाँस उम्रिएको छ।

पिसिआर मेसिन राखिएको भवनको माथि उक्लिँदै जाने फलामे सिँढी घाँसका लहरा र झारपात बेरिएर बाटो बन्द भएको छ। भवनका ढोका माकुराको जालोले जेलिएको र  भवनको चारैतिर फोहाेर भरिएको देखिन्छ । उक्त  सुविधासम्पन्न भवन अहिले बेवारिसे बनेको छ। त्यस्तै एसी, फर्निचर र भर्‍याङ बनाइएको छ । साबिकको महिला विकास कार्यालयको नवनिर्मित भवनमा मेसिन सञ्चालन गरिएको र महिला विकास कार्यालय नरहेपछि उक्त भवन कपिलवस्तु नगरपालिकाको स्वामित्वमा रहँदै आएको थियो।

नगरपालिकाको उक्त भवनमा कोरोना संक्रमणका वेला कपिलवस्तु अस्पतालले पिसिआर मेसिन सञ्चालन गर्न लिएको थियो। ०७७ असोजदेखि लिएको उक्त भवनमा पिसिआर मेसिन मुस्किलले चार महिना सञ्चालनमा आएको थियो। करिब दुई करोड खर्च गरेर पिसिआर मेसिन जडान, सञ्चालन र व्यवस्थापन गरिएको थियो। ०७७ फागुनदेखि ०७८ जेठसम्म सञ्चालनमा रहेको भवनमा अहिले भोटेताल्चा लागेको छ।

बेवारिसे पिसिआर मेसिन
कोरोना संक्रमणको पहिलो लहरका बीच पिसिआर परीक्षण सहज बनाउन जिल्लामै ल्याब सञ्चलन गर्ने सर्वदलीय र सर्वपक्षीय सहमति बन्यो।

जिल्लाका संघीय सांसदहरू वृजेशकुमार गुप्ताले एक करोड ४६ लाख र चक्रपाणि खनालले २८ लाख रकम प्रदान गर्ने निर्णय गरे। जिल्ला कोरोनाको हटस्पट बन्दै जनधनको क्षति हुन थालेपछि त्यसको न्यूनीकरणका लागि उनीहरूले विकास बजेटबाटै मेसिन सञ्चालनका लागि रकम प्रदान गरेका थिए।

स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ०७७ जेठमै रकम प्रदान गरेका र मेसिन सञ्चालन गर्ने निर्णय भएको साढे तीन महिनापछि ०७७ असोज १२ गते जिल्ला अस्पतालले मेसिनका लागि टेन्डर निकालेको थियो। बोलपत्र परेको दुई महिना बढी लगाएर ०७७ पुस २१ गते मेसिन आइपुग्यो। टेन्डर सूचना ३० दिनको थियो। पिसिआर मेसिन सञ्चालन गर्ने निर्णय भएको नाै महिनापछि बल्लतल्ल आएको मेसिन ०७७ फागुनदेखि मात्र सञ्चालन भयो। ०७८ जेठसम्म सञ्चालन भएको मेसिन त्यसपछि सञ्चालन नै भएन।

उक्त मेसिन एक करोड पाँच लाख रुपैयाँमा ल्याइएको थियो। सांसदले प्रदान गरेको रकममध्ये ठेक्का लागेर बचेको रकमबाट मेसिन सञ्चालन र कार्यालय व्यवस्थापन गरेर सञ्चालन गरिएको र मेसिन राखिएको भवनमा एसी, फर्निचर, पंखा, सिसिटिभी र भर्‍याङ बनाउन अस्पतालले १५ लाखभन्दा बढी खर्च गरेको छ। २६ केभिएको आठ लाखको जेनरेटर अहिले त्यसै बाहिर फालिएको छ। झ्यालढोका राख्न र कोठा पार्टेसन गर्न पाँच लाखभन्दा बढी लागत लागेको छ। तल्लाे तलामा आइसोलेसन सेन्टरका लागि अस्पतालले १५ लाखभन्दा बढी खर्च गरेको र सयभन्दा बढी ग्यास सिलिन्डरहरू रहेको छ।  

करिब दुई करोड खर्च गरेको भवन अहिले बेवारिसे बनेको छ। त्यहाँ जोडिएको लाइन काटिएको छ, तार असरल्ल फालिएका छन्। सुरक्षाकर्मी छैनन्। कोही मान्छे नबस्दा मेसिन नै असुरक्षित बनेको छ। अस्पतालले भवन नछाडदा नगरपालिकाले भवन भाडामा लगाउनसमेत पाएको छैन। प्रयोग नहुने भएपछि अब अस्पतालले उक्त भवन छाड्नुपर्ने कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताको भनाइ छ।

दुई करोडमा १६ सय नमुना परीक्षण 
ठूलो महत्वाकांक्षाका साथ सञ्चालनमा ल्याइएको पिसिआर मेसिनले करिब चार महिनामा  एक हजार ६ सय नमुना परीक्षण गरेको बताइएको छ। पिसिआर मेसिन बिएसएल सेकेन्ड प्रविधिको अत्याधुनिक मेसिन हो। एक घन्टामा ९६ जनाको स्वाव परीक्षण गर्ने क्षमताको छ। तर, पिसिआर मेसिन सञ्चालन गर्ने छुट्टै जनशक्ति छैन।

प्रदेश र संघीय सरकारबाट पनि बजेट विनियोजन नहुँदा मेसिन सञ्चालन हुन समस्या देखिएको कपिलवस्तु अस्पतालका सूचना अधिकारी रत्नाकर शुक्लाले  बताए। विगतमा पिसिआर परीक्षण गर्दा कर्मचारीलाई जोखिम भत्ता र सञ्चालन खर्च दिने भनिए पनि सञ्चालन खर्च मात्र आधा दिइएको उनको भनाइ छ।

‘पहिलेको जस्तो कोभिड संक्रमणको अवस्था छैन। प्रदेश सरकारले कार्यविधि बनाएर त्यसलाई कसरी उपयोग गर्ने भन्ने नीति बनाउन आवश्यक छ,’ कपिलवस्तु अस्पतालका मेसु डा. विपिन जैसवालले बताए।

ल्याबमा रहेको कोरोना संक्रमण परीक्षण गर्ने उपकरणलाई सुरक्षित राख्ने र त्यसबाहेकका अन्य मेसिन अस्पतालमा ल्याएर उपयोग गर्न सकिने भएकाले यसलाई व्यवस्थान कसरी गर्ने भन्ने विषयमा छिट्टै पहल गर्ने जैसवालले बताए।