१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
फाइल तस्बिर
Invalid date format १३:o६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनका पुष्पा र अञ्जलीलाई कोशी पठाइँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o६:oo

चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुईवटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ। यही असोज १० गते गैँडा कोशी टप्पु पठाउन लागिएको हो। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यका अनुसार कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि वासस्थान उपयुक्त देखिएपछि गैँडा त्यहाँ पठाउन लागिएको हो। 

विभागका तत्कालीन उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो।
 
कोशी टप्पु वन्यजन्तु आरक्षमा अहिले गैँडा छैनन्। आचार्यले सुरुमा यहाँबाट लगिएका गैँडालाई खुला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने बताए। कोशीको पथरी सेक्टर कार्यालयको आरक्ष सुरक्षार्थ सेनाको पोस्ट रहेको क्षेत्रनजिक गैँडालाई राखिनेछ। 

केही वर्षअघि आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा १३ वटा अर्ना ल्याइएको थियो। तत्कालीन समयमा स्थानीयले चितवनबाट आरक्षमा गैँडा ल्याउनुपर्ने माग गरेका थिए। सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालेको थियो। चितवनमा त्यहाँबाट ल्याइएका र चिडियाखानाबाट ल्याइएका थप दुईसहित १५ वटा अर्ना भने बच्न सकेनन्।
 
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुईवटा गैँडा कोशी पठाउन लागिएको बताए। 

ती दुवै पोथी गैँडा हुन्। ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अनाथ हुन पुगेको अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो। तिनीहरूलाई पुष्पा र अञ्जली नामकरण गरिएको थियो।
 
अहिले पुष्पा तीन वर्ष नौ महिना र अञ्जली दुई वर्ष तीन महिना उमेरका छन्। ती गैँडा अहिले पनि मानव बस्तीमा आएर दुःख दिने गरेका छन्। तिनै गैँडालाई कोशीमा पठाउन लागिएको पुनले बताए। 
 
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडा पठाउन सबै तयारी भइसकेको छ। पुरानो खोरलाई पनि मर्मत गरिएको छ। पछिल्लो गणनाअनुसार निकुञ्जमा ६ सय ९४ गैँडा रहेको तथ्यांक छ। तर, उक्त गणनामा यी गैँडा समावेश गरिएको छैन। हाल  देशभर सात सय ५२ गैँडा छन्। हाल पठाउन लागिएका गैँडा हुर्किएपछि भाले पठाएर प्रकृतिमा छोड्ने योजना छ।