१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नवीन अर्याल काठमाडाैं
२०८० असोज ४ बिहीबार ०६:२६:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्राउन्डेड जहाजको इन्जिन मर्मत र भाडामा लिन एउटै कम्पनीसँग सम्झौता

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०८० असोज ४ बिहीबार ०६:२६:००

नेपाल वायुसेवा निगम (नेवानि)को जहाजको इन्जिन तीन महिनामा बनाउन सकिने भए पनि सात महिना लगाउने इजरायली कम्पनीले फेरि अर्को इन्जिन मर्मतको जिम्मेवारी पाएको छ । निगम व्यवस्थापनले न्यारोबडी जहाजको इन्जिन मर्मत–ओभरहल तथा भाडामा लिन इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई)लाई सुम्पिएको हो । २८ डिसेम्बर २०२१ मा कतारको दोहामा ग्राउन्डेड भएको ९एन–एकेडब्लु जहाजको इन्जिन मर्मत गर्न आइएआईले करिब सात महिना लगाएको थियो ।

निगम नेतृत्वले आइएआईलाई चार वर्षसम्मका लागि न्यारोबडी जहाजको लिजसहित इन्जिन मर्मत गर्न एमआरओ नियुक्त गरेको छ । इन्जिन मर्मतमा ढिलाइ र फेक बिल बनाउने कम्पनीलाई ब्ल्याकलिस्टेड गर्नुपर्नेमा निगम व्यवस्थापनले कमिसनको सेटिङमा चार वर्षका लागि एमआरओ छनोट गरेको स्रोतको दाबी छ । निगमले आइतबार विज्ञप्ति जारी गर्दै सार्वजनिक खरिद ऐन तथा निगमको आर्थिक विनियमावलीअनुसार ४५ दिनको म्याद दिई लिजसहितको इन्जिन मर्मतका लागि खुला प्रतिस्पर्धा हुने गरी सिल टेन्डर आह्वान गरेर आइएआईसँग एमआरओ सम्झौता गरेको जनाएको छ ।

एमआरओ छनोटका लागि निगमले १२ जुन २०२३ मा गरेको सार्वजनिक आह्वानअनुसार सम्झौता भएको मितिदेखि चार वर्षसम्म एमआरओको समय रहन्छ । त्यस्तै, सम्झौतामा थप दुई वर्षका लागि एमआरओ नवीकरण वा विस्तार गर्न सकिने उल्लेख छ । निगमले चार वर्ष अवधिलाई अंक र अक्षर दुवैमा लेखेको छ, तर थप दुई वर्ष अवधिलाई अक्षरमा मात्र लेखेको देखिन्छ । ‘आफूले चाहेको कम्पनीलाई एमआरओ छनोट गर्ने र आपसी समझदारीमा म्याद थप्दै जाने निगम व्यवस्थापनको चलखेल यहीँ झल्किन्छ’ स्रोतले भन्यो, ‘नत्र दुवै ठाउँ अंक र अक्षरमा लेख्न सकिन्थ्यो, अक्षर मात्र लेख्दा आँखाले भेउ नपाउने ठहर गर्दै यस्तो चलखेल गरिएको हो ।’

लिजसहित इन्जिन मर्मत गर्न आइएआई एमआरओ कम्पनीमा छनोट भएपछि ६३ दिनदेखि काठमाडौंमा ग्राउन्डेड ९एन–एकेएक्स जहाजको इन्जिन फेरबदल गर्न १७ सेप्टेम्बरमा इजरायल लगिएको छ । आइएआई कम्पनी र निगमको जहाजको इन्जिन स्पेसिफिकेसन नमिल्दा २० देखि २५ लाख रुपैयाँ अतिरिक्त खर्च गरेर जहाजमा सिस्टम डिग्रेट गर्नुपरेको स्रोतले बतायो ।

यसअघि दोहामा ग्राउन्डेड एकेडब्लु जहाजको इन्जिन ६ मार्च २०२२ मा रिपेयर÷ओभरहल गर्न इजरायलमा झारिएको थियो । तर, करिब सात महिनापछि ३० सेप्टेम्बर २०२२ मात्रै निगमले इन्जिन मर्मत भएर जहाज फिर्ता पाएको थियो । सामन्यतः विश्वमै इन्जिन मर्मत गर्न करिब तीन महिना लाग्छ । सोहीअनुसार निगमको विनियमावलीमा पनि ९० दिनको समायवधि तोकिएको छ । आइएआई र निगम व्यवस्थापनबीच भित्री समझदारीमै इन्जिन मर्मतमा ढिलाइ गरेर भाडाको इन्जिन अवधि बढाउँदै लगिएको बताइन्छ । निगमले आफ्नो इन्जिन बिग्रिएपछि आइएआईअन्तर्गतकै इजरायली कम्पनी एमटियूसँग तीन महिनाका लागि भाडामा इन्जिन ल्याएको थियो ।

दैनिक दुई हजार डलर, प्रतिसाइकल २३९ डलर र प्रतिघन्टा २७६ डलर भाडा तिर्ने गरी ९० दिनका लागि एमटियूसँग भाडामा इन्जिन ल्याइएको थियो । तर, ५४३ दिनपछि ३० अगस्ट २०२३ मा बल्ल सम्झौता खारेज गरिएको थियो । जसबापत करिब ३४ कराेड ८६ लाख रुपैयाँ भाडा तिर्नुपर्‍यो । ‘निगम नेतृत्वसँगको कमिसन सेटिङकै कारण आइएआईले इन्जिन मर्मतमा ढिलाइ गरेको हो,’ स्रोतको दाबी छ, ‘विभिन्न समस्या देखाएर इन्जिन बनाउन ढिलाइ गर्दा एकातिर भाडाको इन्जिन लामो अवधिसम्म राख्न सकियो, अर्कोतिर इन्जिन मर्मतको धेरै पैसा भुक्तानी निकाल्न सहज हुने भयो ।’ 

इन्जिन बनाउन सात महिनासम्म झुलाउने कम्पनीलाई  नै नेवानिले दियो अर्को इन्जिन मर्मत गर्ने जिम्मेवारी, चार वर्षसम्मका लागि एमआरओ नियुक्त

इन्जिन मर्मतका लागि ३६ लाख डलर लागत अनुमान गरिएको थियो । तर, आइएआईले साढे ४२ लाख डलरको बिल पठायो । कम्पनीले दिएको बिल चुस्तदुरुस्त नभएको भन्दै विरोध भएपछि निगम व्यवस्थापनले छानबिन समिति गठन गर्‍यो । एक महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउनुपर्नेमा समितिले पाँच महिना लगाएर बिल रुजु भएको प्रतिवेदन तयार गर्‍यो । प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै एकजना सदस्यले असन्तुष्टि जनाउँदै राजीनामा दिए । नेतृत्वले फेरि आफ्नो पक्षको मान्छेलाई समितिमा नियुक्त गरेर ४० लाख डलरको बिल स्वीकृत गरी भुक्तानी गरिएको स्रोत बताउँछ । 

 पटक–पटक एउटै कम्पनी 

इन्जिन मर्मत तथा भाडामा लिन एउटै कम्पनीसँग सम्झौता गर्नु खरिद ऐन र विनियमावलीविपरीत रहेको स्रोतको भनाइ छ । एउटै कम्पनीले लिज र मर्मतको जिम्मेवारी पाउँदा आफ्नो इन्जिनको भाडा अवधि लम्ब्याउन मर्मतमा ढिलाइ गरिदिन सक्छ । 

निगम नेतृत्वको कमिसन सेटिङमा पटक–पटक इजरायली कम्पनीबाटै इन्जिन मर्मत तथा भाडामा लिने गरिएको स्रोतको भनाइ छ । ‘सिल टेन्डर पनि इजरायली कम्पनी नै छानिने गरी आह्वान गरिएको छ,’ स्रोत भन्छ, ‘नेतृत्वले सेटिङ मिलाएर टेन्डर निकाल्ने गर्दा पटक–पटक एउटै कम्पनीले पाइरहेको हो ।’

अहिले आइएआईसँग इन्जिनको स्पेसिफिकेसन नमिल्दा निगमलाई २० देखि २५ लाखसम्म आर्थिक भार थपिएको स्रोतले बतायो । ‘टेन्डरमै गलत स्पेसिफिकेसन राख्दा हाम्रो जहाजको सिस्टम डिग्रेट गर्नुपरेको छ, हाम्रो जहाजको सिष्टम डिग्रेट गरेर भाडाको इन्जिनसँग मिलाउनुपर्छ,’ स्रोतले भन्यो । ४५ दिनको सिल टेन्डर अवधि नसकिँदै निगम व्यवस्थापनले २२ जुलाईमा ग्राउन्डेड एकेएक्स जहाजका लागि भाडामा इन्जिन चाहियो भनेर सात दिनको अर्को सूचना जारी गरेको थियो ।

सो सूचनामा निगमले इन्जिन ९० दिनका लागि भनेर उल्लेख गरेको छ । यसको मतलब, इन्जिन अधिकतम ९० दिनमा मर्मत हुन्छ भन्ने हो । इन्जिन मर्मतमा धेरै समय लगाएको कम्पनीलाई पेनाल्टी तिराउनुपर्नेमा उल्टै एमआरओ नियुक्त गरेर पुरस्कृत गरिएको निगमका कर्मचारीको गुनासो छ । अहिले निगमले आइएआईसँग कति भाडा तिरेर इन्जिन भाडामा ल्याउन लागेको हो र कति लागतमा इन्जिन मर्मत गर्न दिएको हो सार्वजनिक गरिएको छैन । 

९एन–एकेडब्लु दोस्रोपटक काठमाडौंमा ग्राउन्डेड हुँदा दायाँ इन्जिन मर्मतका लागि जर्मनीको लुफ्थान्सा कम्पनीले पायो । तर, इजरायलको आइएआई कम्पनीमा झारिएको निगमको इन्जिन फ्रान्स पठाउन तीन महिना लागाइयो । आइएआईले पुरानो बक्यौता नतिरेसम्म इन्जिन लैजान नदिने भनेर अड्डी कसेपछि तीन महिना लम्बिएको बताइन्छ । जब कि, अन्तर्राष्ट्रिय लिजिङ प्राक्टिसअनुसार एयरक्राफ्ट अन ग्राउन्डेड (एओजी) गर्नु हवाई नियमको बर्खिलाप गर्नु हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)अनुसार पनि कुनै जहाज एओजी गर्न पाइँदैन । 

 निगम व्यवस्थापनको झुट
निगम व्यवस्थापनले आइतबार प्रकाशित विज्ञप्तिमा इन्जिन हेल्थ मोनिटरिङ (इएचएम) सर्भिस प्रोभाइडर कम्पनीले इएचएमबाट इन्जिनको सामान्य जानकारी दिए पनि इन्जिन डाउन गरी मर्मतमा पठाउनुपर्ने अवस्थाको निर्णायक सूचना दिन नसक्ने दाबी गरेको छ । जब कि, सोही विज्ञप्तिमा जहाजको इन्जिन मर्मत गर्नुपर्ने पूर्वसूचना दिने साधन इएचएम, बोरोस्कोप र भौतिक निरीक्षण नै भएको स्वीकार गरेको छ । 

निगम आफैँले एकेएक्स ग्राउन्डेड भएपछि २२ जुलाई २०२३ मा इन्जिन भाडामा लिन सार्वजनिक आह्वान गरेको सूचनाको ८ नम्बर बुँदामा ‘लिज इन्जिनका लागि आवश्यक कागजातहरू’को शीर्षकमा पछिल्लो तीन महिनाको इएचएम प्रतिवेदन उपलब्ध गराउनुपर्ने सर्त राखेको छ । ‘यदि इएचएम रिपोर्टले सामान्य मात्रै जानकारी दिने हो भने इन्जिन भाडामा लिने सर्तमा इएचएम रिपोर्ट पनि संलग्न राख्नुपर्ने भनियो,’ स्रोतले भन्यो ।

 निगमले रोल्स रोयस कम्पनीसँग सन् २०१८ देखि इन्जिन हेल्थ मोनिटरिङ (इएचएम) सर्भिस लिएको छ । हरेक महिना जहाजको इन्जिनका डाटा इएचएममा पठाइन्छ । इएचएमका डाटा अध्ययन गरेर कम्पनीले निगमलाई प्रतिवेदन पठाउँछ । यदि कुनै इन्जिनमा समस्या आउँदै छ भने निगम व्यवस्थापनलाई ५–६ महिनाअघि नै सूचना प्राप्त हुने स्रोत बताउँछ । यो सेवा प्रयोग गरेबापत निगमले रोल्स रोयसलाई वार्षिक १६ लाख रुपैयाँ भाडा तिर्दै आएको छ ।