मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
पवन तिमिल्सिना काठमाडाैं
२०८० असोज २ मंगलबार १२:१२:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुई महिनामा दुई अर्ब बढ्यो पुँजीगत खर्च, २१ अर्ब घट्यो चालू खर्च

दुई महिनामा कुल बजेटको ७.४९ प्रतिशत खर्च, राजस्व संकलनमा देखिएन सुधार

Read Time : > 3 मिनेट
२०८० असोज २ मंगलबार १२:१२:००

चालू आर्थिक वर्ष ०८०/८१ को पहिलो दुई महिनामा सरकारले २ दशमलव ७ प्रतिशत पुँजीगत खर्च गरेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा यस्तो खर्च एक दशमलव ५४ प्रतिशत मात्रै भएको थियो । मात्रात्मक हिसाबले हेर्ने हो भने पनि पुँजीगत खर्च बढेको देखिन्छ ।

महालेखा नियन्त्रकको कार्यालयअनुसार भदौ मसान्तसम्ममा आठ अर्ब १६ करोड ३९ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । गत आवको यही अवधिमा पुँजीगत खर्च पाँच अर्ब ८६ करोड पाँच लाख थियो । गत वर्षको तुलनामा चालू आवमा दुई अर्ब ३० करोड ३४ लाख रुपैयाँले पुँजीगत खर्च बढेको हो । सरकारले चालू आर्थिक वर्षका लागि पुँजीगततर्फको बजेटमा कटौती गरेको छ । गत आर्थिक वर्षमा तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पुँजीगत खर्च छुट्याइएकोमा चालू आवमा तीन खर्ब दुई अर्ब मात्रै विनियोजन गरिएको छ । यो वर्ष झन्डै ७८ अर्ब ३१ करोड रुपैयाँले पुँजीगत खर्च कटौती भएको हो । 

 घट्यो चालू खर्च 
चालू आवको दुई महिनामा ८७ अर्ब ६६ करोड ३५ लाख रुपैयाँ चालू खर्च भएको छ । यो गत आवको पहिलो दुई महिनाको तुलनामा २१ अर्ब ६ करोड रुपैयाँ कम हो । गत आवको यो अवधिमा एक खर्ब आठ अर्ब ७३ करोड रुपैयाँको चालू खर्च भएको थियो । 

कुल चालू बजेटको तुलनामा चालू आवको खर्च ७.६८ प्रतिशत हो । गत आवको भदौसम्ममा यस्तो खर्च ९.१९ प्रतिशत थियो । त्यसो त सरकारले चालू आवको चालू बजेटमा पनि कटौती गरेको थियो । गत आवमा चालूतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ खर्च छुट्याएको सरकारले यस आवमा ११ खर्ब ४१ अर्ब ७८ करोड मात्रै विनियोजन गरेको छ ।

 वैदेशिक ऋणको साँवा तथा ब्याजको किस्ता तिर्नमा समेत यसपालि बढी रकम खर्च भएको छ । गत आर्थिक वर्षको दुई महिनामा १९ अर्ब ७४ करोड मात्रै वित्तीय व्यवस्थातर्फ खर्च भएकोमा यसपालि ३५ अर्ब ३१ करोड खर्च भएको छ । समग्रतामा दुई महिनामा कुल बजेटको ७.४९ प्रतिशत खर्च भएको छ । अर्थात् १७ खर्ब ५१ अर्ब ३१ करोडको कुल बजेटमध्ये एक खर्ब ३१ अर्ब खर्च भएको हो ।  

 राजस्वमा आउन सकेन सुधार
दुई महिना बितिसक्दा पनि राजस्व संकलनमा भने सुधार आउन सकेको छैन । गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा राजस्व संकलन घटेको तथ्यांकले देखाएको छ । महालेखा नियन्त्रकको कार्यालयअनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा एक खर्ब ४१ अर्ब सात करोड ७१ लाख राजस्व संकलन भएको छ । यो कुल लक्षित राजस्वको ९.९२ प्रतिशत मात्रै हो । गत आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व लक्ष्यको १० प्रतिशत नाघिसकेको थियो ।

बजारमा आर्थिक गतिविधि बढ्न नसक्दा राजस्व संकलन प्रभावित भएको अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुख रितेश शाक्यले बताए । अर्थ मन्त्रालयले राजस्व गिरावटको सन्दर्भमा विभाग प्रमुखहरूलाई बोलाएर छलफलसमेत गरेको थियो । छलफलमा सबै विभागीय प्रमुखहरूले आर्थिक गतिविधि बढ्न नसक्नुलाई नै प्रमुख कारण बताएको शाक्यको भनाइ छ । उनले भने, ‘हामीले राजस्व गिरावटको सन्दर्भमा राजस्वसम्बन्धी विभागका प्रमुखहरूसँग छलफल गर्दा आर्थिक गतिविधि बढ्न नसकेको कारण औँल्याउनुभयो । मंगलबार कार्यालयका प्रमुखहरूसँग बोलाएर छलफल गर्दै छौँ ।’ 

दसैँ–तिहारकेन्द्रित व्यापारका लागि व्यवसायीले सामान अर्डर गर्ने भएकाले असोजमा राजस्व बढ्ने अर्थ मन्त्रालयको अनुमान छ । उनले यो महिना राजस्व संकलनका हिसाबले महत्वपूर्ण मानिएको बताए । उनले भने, ‘यो महिना राजस्व संकलनका हिसाबले मेजर मानिएको छ । त्यसैले यो महिनाको राजस्व संकलन हेरेपछि मात्रै स्पष्ट चित्र देखापर्नेछ ।’ गत वर्ष बाह्य क्षेत्रमा चाप परेसँगै माग घटाउने नेपाल राष्ट्र बैंकको नीतिका कारण आयातमा संकुचन आएसँगै राजस्व संकलन घट्दै गइरहेको थियो । तर, पछिल्लो समय बाह्य क्षेत्र सन्तुलनमा आए पनि राजस्व संकलनमा भने सुधार आउन सकेको छैन । 

लगानीयोग्य पुँजी पर्याप्त भए पनि बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी विस्तार गर्न नसक्दा राजस्व संकलनमा टेवा पुग्न सकिरहेको देखिँदैन । यद्यपि, आउँदो दसैँ–तिहारका लागि व्यापारीहरूले कारोबार बढाउने भएकाले राजस्व संकलनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

 आन्तरिक राजस्व लक्ष्यको ७८.७५ प्रतिशत मात्रै
आन्तरिक राजस्व विभागले भदौ मसान्तसम्ममा लक्ष्यको ७८.७५ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । दुई महिनामा ८४ अर्ब पाँच करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ६६ अर्ब १९ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको विभागले जानकारी दिएको छ । विभागले गत वर्षभन्दा २.५४ प्रतिशत कम राजस्व संकलन गरेको हो ।

गत वर्ष भदौ मसान्तसम्म विभागले ७५ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसअनुसार ६७ अर्ब ९१ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो । चालू आवको भदौ महिनामा मात्रै विभागले ३५ अर्ब पाँच करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको २५ अर्ब ६९ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । जुन लक्ष्यको ७३.२९ प्रतिशत मात्रै हो ।

 बढ्न थाल्यो भन्सार राजस्व 
भन्सार विभागले गत आर्थिक वर्षको तुलनामा ५३ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । चालू आवको पहिलो महिनामा गत आवको साउनको भन्दा ४७ करोड बढी राजस्व उठाएको थियो । विभागले भदौमा भने गत आवको तुलनामा ६ अर्ब रुपैयाँ मात्रै बढी राजस्व उठाएको छ ।

तर, लक्ष्यको तुलनामा भने भन्सार राजस्व कम उठेको छ । साउनमा लक्ष्यको ८२ प्रतिशत राजस्व संकलन गर्न सकेको विभागले भदौमा लक्ष्यको ७१ प्रतिशत मात्रै राजस्व उठाएको छ । विभागले भदौ मसान्तसम्म लक्ष्यभन्दा २४.५ प्रतिशत कम राजस्व उठाएको छ । 

विभागले भदौसम्ममा ८९ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा ६७ अर्ब ९५ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ७५.५ प्रतिशत हो । गत वर्ष भदौसम्ममा भन्सार विभागले ९० अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, ६७ अर्ब ४२ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो ।