१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:२९:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सेना र दुई प्रहरीका कल्याणकारी कोषमा ८५ अर्ब ७३ करोड

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:२९:oo

अस्पताल, विद्यालय, पेट्रोलपम्प, सपिङ कम्प्लेक्स, हेल्थ क्लब, गेस्टहाउसदेखि जग्गा प्लटिङसम्ममा लगानी

तीन सुरक्षा निकाय सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको कल्याणकारी कोषमा ८५ अर्ब ७३ करोड रुपैयाँ जम्मा भएको छ । सबैभन्दा धेरै सैनिक कल्याणकारी कोषमा यसको ९० प्रतिशत हिस्सा अर्थात् ७७ अर्ब ६१ करोड छ । नेपाल प्रहरीको चार अर्ब १२ करोड र सशस्त्रको कल्याणकारी कोषमा चार अर्ब छ । यो रकम कोषमा रहेको नगद हिसाब मात्रै हो, नेपाल प्रहरी र सशस्त्रले विभिन्न क्षेत्रमा गरेको लगानी यसमा समावेश छैन ।  

तीनवटै सुरक्षा निकायले कोषको रकम विद्यालय, अस्पताल, पेट्रोलपम्प, जग्गालगायतमा लगानी गरेका छन् । कोषअन्तर्गत २० क्षेत्रमा लगानी फैलाएको सेनाले पछिल्लोपटक स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । २० क्षेत्रमा कुल ६ अर्ब ५५ करोड ४० लाख ८२ हजार लगानी गरेकोमा स्वास्थ्य र शिक्षामा मात्रै त्यसको ६७.८७ प्रतिशत अर्थात् चार अर्ब ४४ करोड ८४ लाख ५९ हजार लगानी गरेको छ । बाँकी ७१ अर्ब ६ करोड भने सैनिक कल्याणकारी कोषमा नगदै छ । 

सेनाले स्वास्थ्य विज्ञान संस्थानमा दुई अर्ब २८ करोड २७ लाख ५३ हजार लगाएको छ । त्यसपछि सबैभन्दा ठूलो लगानी न्युरोडस्थित कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी अस्पतालमा छ जहाँ एक अर्ब ६२ करोड ६५ लाख ६० हजार लगाएको छ । यी संस्थामा बिरामीको उपचार हुनुका साथै चिकित्सा शिक्षा अध्ययन हुँदै आएको छ । 

सैनिक कल्याणकारी कोषका निर्देशक तथा सदस्यसचिव सहायक रथी किरण केसीले कोषको मुलुकभर विभिन्न २० क्षेत्रमा लगानी रहेको बताए । कोषको विवरण सार्वजनिक गर्ने क्रममा उनले भने, ‘कोषले मुलुकभर विभिन्न २० क्षेत्रमा लगानी गरेको छ । जसमा कोषको लगानी ६ अर्ब ५५ करोड रुपैयाँ छ । यसमध्ये स्वास्थ्य विज्ञान संस्थान र मिलिटरी अस्पतालमा सबैभन्दा धेरै लगानी छ ।’ 

त्यस्तै, शिक्षाअन्तर्गत सेनाले कृषि विज्ञान संस्थानमा २२ करोड २६ लाख ८८ हजार लगानी गरेको छ । सेनाले चितवनमा पनि सैनिक आवासीय महाविद्यालय सञ्चालनमा ल्याएको छ । यसको आवास खरिदका लागि मात्रै कोषको १७ करोड ५२ लाख ६७ हजार रुपैयाँ खर्च भएको छ । त्यसबाहेक शुद्ध खानेपानी तथा अक्सिजन प्लान्टमा पनि लगानी गरेको छ । प्लान्टबाट सेनाका लागि आवश्यक खानेपानी र अक्सिजन उत्पादन हुँदै आएको छ । 

विस्फोटक पदार्थ तथा गोली उत्पादनमा पनि सेनाको लगानी छ । विशेषगरी सुनाचुरी इमल्सन प्लान्टबाट सेनाका लागि आवश्यक गोली र सिभिल एक्सप्लोसिभ प्लान्टबाट भौतिक निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ उत्पादन हुँदै आएको छ । कोषमार्फत सुनाचुरी इमल्सन प्लान्टमा सेनाको २६ करोड ९० लाख १३ हजार र सिभिल एक्सप्लोसिभ प्लान्टमा ३३ करोड ३० लाख ६६ हजार लगानी छ । यो कुल लगानीको ९.१८ प्रतिशत हो । 

कोषका निर्देशक सहायक रथी केसीले भने, ‘मकवानपुरको सुनाचुरीस्थित इमल्सन प्लान्टबाट विस्फोटक पदार्थ उत्पादन हुँदै आएको छ । मुलुकमा सञ्चालित विकास आयोजनाका लागि आवश्यक विस्फोटक पदार्थ सोही प्लान्टबाट उत्पादन हुँदै आएका छन् । यसले मुलुकलाई विस्फोटक पदार्थमा आत्मनिर्भर बनाएको छ ।’ 

सेनाको लगानी रहेको अर्को क्षेत्र पेट्रोलपम्प हो । पछिल्ला दिन सेनाले यस क्षेत्रमा मात्रै ११ करोड ५५ लाख २६ हजार रुपैयाँ लगानी गरेको छ । यो कुल लगानीको १.७६ प्रतिशत हो । विशेषगरी सेनाले पछिल्लोपटक इटहरी, बुटवल, तनहुँ र काठमाडौंको सीतापाइलमा पेट्रोलपम्प राखेको छ ।

यसबाहेक जग्गा खरिद तथा भवन निर्माण, टक्सार भवन निर्माण, वृद्धाश्रम, सुपथ मूल्य पसल, गेस्टहाउस निर्माण तथा जुत्ता उत्पादन कारखानमा पनि लगानी गर्दै आएको छ । यी क्षेत्रमा मात्रै सेनाको एक अर्ब ३८ करोड ७९ लाख ६४ हजार लगानी छ । यो कुल लगानीको २१.१७ प्रतिशत हो । जसमध्ये इचंगुनारायणमा गरिएको जग्गा खरिद तथा भवन निर्माणमा मात्रै कोषमार्फत सेनाले ४२ करोड २२ लाख ६३ हजार रुपैयाँ लगानी गरेको छ । 

यससँगै सुपथ मूल्य पसलमा १३ करोड ९३ लाख चार हजार, जुत्ता उत्पादन परियोजनामा १३ करोड ५५ लाख दुई हजार, जेपी प्रतिष्ठानस्थित वृद्धाश्रममा दुई करोड ९८ लाख ५० हजार, बुटवलस्थित टक्सार भवन निर्माणमा सात करोड ७६ लाख ८२ हजार र नेपाली सेना कल्याणकारी बोर्डमा ५७ लाख ३३ लाख ६३ हजार लगानी रहेको छ । लगानी उठ्ने गाह्रो रहेको क्षेत्रलाई सेनाले जोखिमयुक्त ठानेको छ ।

लगानीबाहेक सेनाको कल्याणकारी कोषमा ७१ अर्ब ६ करोड नगद 
सेनाको कल्याणकारी कोषमा नगद मौज्दात ७१ अर्ब ६ करोड पुगेको छ । यो गत आर्थिक वर्षको तुलनामा १३.३४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षमा कोषमा ६२ अर्ब ६८ करोड ८९ लाख नगद मौज्दात थियो । यस वर्ष कोषमा आठ अर्ब ३६ करोड ७२ लाख थपिएको हो । सेनाले कोषमा रहेको नगद बैंक तथा वित्तीय संस्थामा राख्दै आएको छ । कोषको ९९.७० प्रतिशत रकम ‘क’ श्रेणीको बैंकमा राखिएको छ । ०.०६ प्रतिशत रकम ‘ख’ श्रेणीको बैंकमा राखिएको छ भने ‘ग’ श्रेणीको वित्तीय संस्थामा कोषको ०.२४ प्रतिशत रकम छ । यसबापत सेनाले ठूलो परिमाणमा वार्षिक ब्याज प्राप्त गर्दैै आएको छ । बैंकमा राखिएका रकममध्ये पाँच करोड दुई लाख ६७ हजार रुपैयाँ जोखिममा रहेको सेनाले जनाएको छ ।

नेपाल प्रहरीको कोषमा चार अर्ब १२ करोड 
नेपाल प्रहरीको कल्याणकारी कोषमा चार अर्ब १२ करोड रुपैयाँ छ । विभिन्न बैंकमा राखिएको रकमबाट प्राप्त ब्याजले नेपाल प्रहरीले प्रहरी कर्मचारीकेन्द्रित कल्याणकारी काम गर्दैै आएको छ । प्रहरीले कोषको रकम अस्पताल, विद्यालय र पेट्रोलपम्प सञ्चालनमा पनि लगानी गरेको छ । तर, उक्त लगानीको हिसाब चार अर्ब १२ करोडमा समावेश छैन । प्रहरीको कोषबाट काठमाडौंको महाराजगन्ज, कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा अस्पताल सञ्चालन छन् । त्यस्तै, पेट्रोलपम्पमा पनि लगानी छ । काठमाडौंको नक्साल र सामाखुसी, चितवन, सप्तरी र बारामा प्रहरीको पेट्रोलपम्प छ । अबको केही महिनाभित्रै बाँके र कैलालीमा पनि पेट्रोलपम्प सञ्चालनमा ल्याउँदै छ । त्यसबाहेक कोषको रकमबाट प्रहरीले मुलुकभर नौ विद्यालय सञ्चालन गरिरहेको छ । सपिङ कम्प्लेक्स, हेल्थ क्लब, गेस्टहाउस पनि प्रहरीले सञ्चालन गर्दै आएको छ । 

सशस्त्र प्रहरीको कोषमा पनि चार अर्ब 
सशस्त्र प्रहरी बलको कल्याणकारी कोषमा पनि चार अर्ब पुगेको छ । सेना र नेपाल प्रहरीले झैँ सशस्त्रले पनि कोषको रकम विभिन्न बैंकमा राखेको छ । उक्त रकमबाट प्राप्त ब्याजबाट विभिन्न कल्याणकारी काम गर्दै आएको छ । त्यसबाहेक सशस्त्रले अस्पताल, विद्यालय र पेट्रोलपम्पमा लगानी गरेको छ । यसको भने हिसाब छैन । सशस्त्र प्रहरीका अनुसार काठमाडौंको बलम्बुमा सशस्त्रको अस्पताल छ । त्यस्तै, काठमाडौंको कीर्तिपुर, सप्तरीको कल्याणपुर र बाँकेको कोहलपुरमा सशस्त्रको विद्यालय छ । काठमाडौं र पोखरामा पेट्रोलपम्प पनि छ । 

ad
ad