
संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडिजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरूको समूहका अध्यक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरूका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेको प्रतिवद्धता कार्यान्वयनमा जोड दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले कोभिड १९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी संकटहरूले अतिकम विकसित देशहरूको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसबाट उम्कन उद्दार योजना जरुरी रहेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशहरूमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै यसबाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठूलो धक्का लागेको तथा बाह्य ऋणले संकटको जोखिम बढाएको औँल्याएका छन् ।
सम्बोधनका क्रममा उनले अतिकम विकसित देशहरूले स्वदेशी स्रोत र संस्थालाई सुदृढ र परिचालन गर्ने अधिकतम प्रयास जारी राखेको बताउँदै दिगो विकास लक्ष्य हासिल गर्न एक्लो प्रयासले मात्रै नपुग्ने बताए । यसका लागि अन्तर्राष्ट्रिय समुदायको समर्थन र प्रतिवद्धता रहेको दोहा कार्ययोजनालाई स्वीकार गर्न उनको आग्रह छ ।
प्रधानमन्त्रीले दिगो विकास लक्ष्य हासिल गर्न थप लगानी, संरचनात्मक रूपान्तरणका लागि समर्थन र कोभिड महामारीबाट द्रुत र दिगो रिकभरी हासिल गर्न आवश्यक हुने पनि बताए ।
एसडिजी प्रोत्साहन प्याकेजमार्फत् अतिकम विकसित राष्ट्रलाई सहयोग गर्न, अतिकम विकसित राष्ट्रहरूको ऋण सङ्कटलाई सम्बोधन गर्न र समयमै समन्वित र उपयुक्त ऋण समाधान उपलब्ध गराउन पनि उनले आग्रह गरे ।