१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o८:o७:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

भारत आठौँपटक एसिया कप च्याम्पियन

उपाधि भिडन्तमा आयोजक श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले ६.१ ओभरमै पूरा गर्‍यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:o७:oo

भारत आठौँपटक एसिया कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कोलम्बोको प्रेमादासा रंगशालामा भारतले आयोजक श्रीलंकामाथि १० विकेटको सानदार जित निकाली आठौँपटक च्याम्पियनको ट्रफी उचालेको हो । वर्षाका कारण आधा घन्टापछि सुरु भएको फाइनलमा पहिलो ब्याटिङ गरेको श्रीलंकाले एसिया कपकै कमजोर ब्याटिङ प्रदर्शन गर्‍यो । श्रीलंका केवल १५.२ ओभरमा ५० रनमा समेटियो । प्रत्युत्तरमा भारतले ६.१ ओभरमा विनाक्षति ५१ रन जोड्दै उपाधि हात पार्‍यो । भारतका लागि ओपनर इसन किसनले १८ बलमा २३ रन र शुभमन गिलले २७ रनको योगदान दिए । 

इसनले १८ बलमा तीन चौका र शुभमनले १९ बलमा ६ चौका प्रहार गरेका थिए । भारतको जितमा फास्ट बलर मोहमद सिराजले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । उनले सात ओभरमा २१ रन खर्चेर श्रीलंकाका सर्वाधिक ६ विकेट लिए । यसैगरी, हार्दिक पाण्ड्याले २.२ ओभरमा तीन रन दिँदै तीन विकेट लिए । भारतले सन् १९८४, १९८८, १९९०, १९९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।

एकै ओभरमा चार विकेट
फाइनलका म्यान अफ दी म्याच सिराजले श्रीलंकाविरुद्ध जीवनकै उत्कृष्ट बलिङ स्पेल गरेका छन् । उनले एकै ओभरमा चार विकेट लिएपछि श्रीलंका दबाबमा पर्‍यो । उनले चार विकेट लिए पनि ह्याट्रिक गर्न सकेनन् । इनिङ्सको ३.१ ओभरमा पथुम निसांका, ३.३ ओभरमा सदिरा समाराविरा, ३.४ ओभरमा चरिथ असालांका र ३.६ ओभरमा धनञ्जय सिल्भाको विकेट लिए । एकै ओभरमा चार महत्वपूर्ण विकेट गुमाउँदा १२/५ को कमजोर अवस्थामा श्रीलंका रह्यो । सिराजले ५.४ ओभरमा दुसान सनाका र ११.२ ओभरमा मेन्डिसको विकेट लिँदै एकदिवसीय खेलमा आफ्नो उत्कृष्ट बलिङ स्पेल राखे । यसअघि इनिङ्सको दोस्रो बलमै जसप्रित बुमराहले श्रीलंकाली ओपनर कुशल परेरालाई शून्य रनमा आउट पारे । 

२१ रनको साझेदारी
एसिया कपमै अहिलेसम्मको खराब ब्याटिङ प्रदर्शन गरेको श्रीलंकाको इनिङ्समा सातौँ विकेटका लागि २१ रनको महत्वपूर्ण साझेदारी भएको थियो । दुनिथ वालालागे र कुशल मेन्डिसबीच यो साझेदारी भएको हो । यसै साझेदारीका कारण श्रीलंकाले भारतविरुद्ध ५१ रनको लक्ष्य दिन सफल भएको हो । कुशलले इनिङ्सकै सर्वाधिक १७ रन जोडे । उनले ३४ बलमा तीन चौका प्रहार गरे । दुसानले १५ बलमा एक चौकाको सहयोगमा १३ रन बनाए । सो इनिङ्समा श्रीलंकाका पाँच ब्याट्सम्यान डकआउट भए । दुई ब्याट्सम्यान सामना गरेको बलमै क्रिजबाट हटे । भारतीय बलरले श्रीलंकालाई पाँच अतिरिक्त रन दिएका थिए । 

३७ बलमै जित
श्रीलंकामाथि भारतको जित अहिलेसम्मकै ठूलो जितको रूपमा रहेको छ । भारतले केवल फाइनल खेलको लक्ष्य पछ्याउँदा ३७ बलमै जित निकाल्यो । सन् २००१ मा भारतले केन्यालाई ६९ बल खेल्दै हराएको थियो । भारतले लक्ष्य पछ्याउँदा इनिङ्समा दुई सय ६३ बलअगाडि नै जित निकालेको पहिलोपटक हो । यसअघि सन् २००१ मा भारतले केन्यालाई दुई सय ३१ बलअगाडि नै हराएको थियो । श्रीलंका भारतविरुद्ध कम योगफल बनाउने पहिलो राष्ट्र बनेको छ । सन् २०१४ मा बंगलादेशले भारतविरुद्ध ५८ रन मात्र बनाएको थियो । एकदिवसीय इतिहासमा जिम्बावे सबैभन्दा कम योगफलमा अलआउट भएको छ । सन् २००४ मा जिम्बावे श्रीलंकाविरुद्ध ३५ रनमा समेटिएको थियो । 

कुलदीप सर्वोत्कृष्ट खेलाडी
भारतीय स्पिनर कुलदीप यादव एसिया कप २०२३ कै सर्वोत्कृष्ट खेलाडी बनेका छन् । भारतलाई आठौँपटक च्याम्पियन बनाउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले पाँच खेलमा ९ विकेट लिए । उनी नेपालविरुद्धको खेलमा विकेटविहीन बने । नेपालसँगको खेलमा उनले १० ओभरमा दुई मेडनसहित ३४ रन खर्चिए । सुपर फोरमा पाकिस्तानमाथि दुई सय २८ रनले भारतले हराउँदा उनले पाँच विकेट लिएका थिए । उनले श्रीलंकाविरुद्ध ४ विकेट लिएका थिए ।

 पहिलोपटक सहभागी नेपाल
एसिया कपमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो । नेपालले प्रतियोगिताको समूह ‘ए’मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्‍यो । यद्यपि, पहिलोपटकको सहभागितामै नेपालले प्रभावशाली प्रदर्शन गरेको थियो । नेपालले प्रतियोगिताको उद्घाटन खेलमै पाकिस्तानसँग मुल्तानमा प्रतिस्पर्धा गरेको थियो ।

उद्घाटन खेलमा पाकिस्तान तत्काल आइसिसी एकदिवसीय वरीयताको शीर्ष टोली थियो । सुपर फोरबाट बाहिरिँदा पाकिस्तान तेस्रो स्थानमा झरेको छ । नेपालविरुद्ध पाकिस्तानले ६ विकेट गुमाएर तीन सय ४२ रन बनाएको थियो । प्रत्युत्तरमा नेपाल २३.४ ओभरमा एक सय चार रनमा समेटियो । पाकिस्तानविरुद्ध नेपालका सोमपाल कामीले दुई विकेट लिए । करण केसी र सन्दीप लामिछानेले एक विकेट लिए । 

दोस्रो खेलमा नेपालले भारतविरुद्ध पहिलो ब्याटिङ गर्‍यो । दुईपटकको एकदिवसीय तथा एकपटकको टी–२० विश्वकप विजेता भारतसँगको खेलमा नेपालका ओपनर आसिफ शेखले ५८ रनको अर्धशकीय इनिङ्स खेलेका थिए । ओपनर कुशल भुर्तेल र शेखबीच पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी भएको थियो । यसैगरी, सोमपालले ५६ बलमा दुई छक्का र एक चौकाको सहयोगमा ४८ रन जोडे । नेपाल ४८.२ ओभरमा दुई सय ३० रनमा समेटियो । वर्षाले प्रभावित बनाएको खेलमा भारतले २३ ओभरमा एक सय ४५ रनको लक्ष्य पायो । भारतले २०.१ ओभरमा एक विकेट पनि नगुमाएर जित निकाल्यो । प्रतियोगितामा नेपाल र बंगलादेशले मात्र भारतविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए । 

ad
ad