१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १ सोमबार
  • Tuesday, 16 July, 2024
कृष्ण रिजाल काठमाडाैं
२o८o असोज १ सोमबार o६:४२:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक महिनामै भित्रियो एक खर्ब १६ अर्ब रेमिट्यान्स

साउनमा अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रिनु र ३३ महिनापछि चालू खाता पनि बचतमा जानुले अर्थतन्त्रको बाह्य क्षेत्र बलियो हुँदै गएको संकेत

Read Time : > 3 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १ सोमबार o६:४२:oo

मूल्यवृद्धिदर ७.५२%, सबैभन्दा बढी महँगी हिमाली क्षेत्रमा 

चालू आर्थिक वर्षको पहिलो महिनामा अर्थतन्त्रको बाह्य क्षेत्र उत्साहप्रद देखिएको छ । साउनमा एक खर्ब १६ अर्ब रेमिट्यान्स भित्रिएको छ, जुन मासिक गणनामा हालसम्मकै उच्च हो । करिब ३३ महिनापछि देशको चालू खाता पनि बचतमा देखिएको छ । यसअघि गत चैतमा एक खर्ब नौ अर्ब रेमिट्यान्स भित्रिएको थियो । त्यस्तै, असारमा एक खर्ब आठ अर्ब आएको थियो । अघिल्लो आर्थिक वर्ष ०७९/८० मा मासिक औसत एक खर्ब एक अर्ब ७१ करोड रेमिट्यान्स भित्रिएको थियो । त्यसअघि आव ०७८/७९ मा मासिक औसत ८३ अर्ब ९४ करोड भित्रिएको थियो । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले रेमिट्यान्स आप्रवाह ऐतिहासिक उच्च हुनु र लामो समयपछि चालू खाता बचतमा जानुले अर्थतन्त्रको बाह्य क्षेत्र थप बलियो भएको देखाएको बताए । ‘कोभिडका कारण दुई वर्षअघि रेमिट्यान्स वृद्धिदर ऋणात्मक थियो, अघिल्लो वर्षदेखि क्रमशः बढ्न थालेको हो,’ उनले भने, ‘तथ्यांकले साउनमा भएको रेमिट्यान्स आप्रवाह ऐतिहासिक देखिन्छ, यो अर्थतन्त्रका लागि सुखद संकेत हो ।’ 

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्चदरमा बढेका कारण रेमिट्यान्स आप्रवाहमा समेत उल्लेखनीय वृद्धि भएको डा. भट्टको विश्लेषण छ । ‘पछिल्ला दुई आर्थिक वर्षमा मात्रै १४ लाख नेपाली कामका लागि तेस्रो मुलुक गएका छन्, भारतमा जानेको संख्या पनि उच्च छ,’ उनले भने, ‘बिदेसिनेको संख्या बढ्दै जाँदा रेमिट्यान्स बढेको हो, जुन अझ बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।’ नेपालीको मुख्य श्रम गन्तव्य रहेका मुलुकहरू अरब, मध्यपूर्व, भारत र अमेरिकाको अर्थतन्त्र सबल हुनुले पनि रेमिट्यान्स वृद्धिमा सहयोग पुगेको उनले बताए ।

दुई वर्ष नौ महिनापछि नेपालको चालू खाता पनि बचतमा देखिएको छ । आर्थिक वर्ष ०७७/७८ को मंसिरयता देशको चालू खाता निरन्तर घाटामा देखिएको थियो । ३३ महिनापछि यो साउनमा चालू खाता १२ अर्ब ९८ करोडले बचत देखिएको हो ।

कार्यकारी निर्देशक भट्टले चालू खाता बचतमा हुनुले अर्थतन्त्रको बाह्य क्षेत्र थप बलियो भएको देखिने बताए । तर, हाम्रोजस्तो देशमा चालू खाता बचतमा जानुले लगानी घटेको संकेतसमेत गर्न सक्ने उनको भनाइ छ । ‘चालू खाता बचतमा हुँदा बाह्य क्षेत्र मजबुत छ है भन्ने त देखियो । तर, सँगसँगै आर्थिक गतिवधि बढ्न सकेको छैन, लगानी बढ्न सकेको छैन भन्ने पनि देखिन्छ,’ उनले भने, ‘चालू खाता बचत अथवा कति घाटा कति बचत र कति लगानी भयो भन्नेमा सम्बन्धित हुन्छ,’ उनले भने, ‘बचत र लगानीको ग्याप बढ्दा अथवा लगानीभन्दा बचत बढी हुँदा हाम्रो अर्थतन्त्रलाई लाभ नहोला, यसमा ध्यान दिनुपर्छ ।’ 

साउनमा उपभोक्ता मूल्य वृद्धिदर ७.५२ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ८.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ६.४२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।  साउनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसलाको मूल्य सूचकांक ४५.५६, खाद्य तथा खाद्यजन्य पदार्थको १३.२०, दुग्ध पदार्थ तथा अन्डाको १२.१९, रेस्टुरेन्ट तथा होटेलको ११.०५ र तरकारीको १०.८० प्रतिशतले बढेको छ । घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक भने १५.१३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको मूल्य सूचकांक १५.५५, शिक्षाको ९.१०, घरायसी उपयोगका वस्तुहरूको ६.९३ र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.७९ प्रतिशतले बढेको छ । यातायात उपसमूहको मूल्य सूचकांक भने ०.८१ प्रतिशतले घटेको छ । 

साउनमा सबैभन्दा बढी मूल्यवृद्धि हिमाली क्षेत्रमा देखिएको छ । हिमाली क्षेत्रको मूल्यवृद्धिदर ११.४६ प्रतिशत रहेको छ । त्यस्तै, काठमाडौं उपत्यकामा ८.५०, तराईमा ६.७० र पहाडमा ७.५० प्रतिशत मूल्यवृद्धिदर रहेको राष्ट्र बैंकले जनाएको छ । 
 

बिदेसिनेको संख्या बढ्दै जाँदा रेमिट्यान्स बढेको हो, अझै बढ्न सक्ने अनुमान गर्न सकिन्छ
डा. गुणाकर भट्ट, कार्यकारी निर्देशक, राष्ट्र बैंक

कोभिडका कारण दुई वर्षअघि रेमिट्यान्स वृद्धिदर ऋणात्मक थियो, अघिल्लो वर्षदेखि क्रमशः बढ्न थालेको हो । तथ्यांकले साउनमा भएको रेमिट्यान्स आप्रवाह ऐतिहासिक देखिन्छ, यो अर्थतन्त्रका लागि सुखद संकेत हो ।पछिल्ला दुई आर्थिक वर्षमा मात्रै १४ लाख नेपाली कामका लागि तेस्रो मुलुक गएका छन्, भारतमा जानेको संख्या पनि उच्च छ । बिदेसिनेको संख्या बढ्दै जाँदा रेमिट्यान्स बढेको हो, जुन अझ बढ्न सक्ने अनुमान गर्न सकिन्छ । 

चालू खाता बचतमा हुँदा बाह्य क्षेत्र मजबुत छ है भन्ने त देखियो । तर, सँगसँगै आर्थिक गतिवधि र लगानी बढ्न सकेको छैन भन्ने पनि देखिन्छ । चालू खाता बचत अथवा कति घाटा कति बचत र कति लगानी भयो भन्नेमा सम्बन्धित हुन्छ । बचत र लगानीको ग्याप बढ्दा अथवा लगानीभन्दा बचत बढी हुँदा हाम्रो अर्थतन्त्रलाई लाभ नहोला, यसमा ध्यान दिनुपर्छ ।

 विदेशी विनिमय सञ्चिति १५ खर्ब ७३ 
अर्ब १२ करोड रुपैयाँ (११ अर्ब ८५ करोड डलर)

साउनमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँबराबर पुगेको छ । जुन असारको तुलनामा २.२ प्रतिशतले बढी हो । रेमिट्यान्स बढ्नु तथा वैदेशिक व्यापार घट्नुले सञ्चिति वृद्धिमा सहयोग पुर्‍याएको हो । मौज्दात सञ्चितिले १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । 

 शोधनान्तर झन्डै ३३ अर्ब बचतमा
चालू आर्थिक वर्ष ०८०/८१ को पहिलो महिना साउनमा नेपालले एक खर्ब २९ अर्ब २४ करोडबराबरको वस्तु आयात गरेको छ । त्यस्तै, १३ अर्ब ५३ करोडको वस्तु निर्यात गरेको छ । यस अवधिमा नेपाललाई वस्तु व्यापारमा एक खर्ब १५ अर्ब ७१ करोड घाटा भएको छ ।

साउनमा व्यापारका सबै सूचकको वृद्धिदर ऋणात्मक देखिएका छन् । अघिल्लो आर्थिक वर्षको सोही महिनाको तुलनामा निर्यात ८.७, आयात १.६ र व्यापार घाटा ०.७ प्रतिशतले घटेको छ । यो साउनमा नेपालले सेवा व्यापारमा ११ अर्ब २७ करोडले घाटा व्यहोरेको छ ।

प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोडले बढेको छ भने पुँजीगत ट्रान्सफर ६५.९ प्रतिशतले घटेर २७ करोड २६ लाख कायम भएको छ । रेमिट्यान्स र विदेशी लगानी बढ्नुका साथै वस्तु व्यापारमा आएको गिरावटका कारण शोधनान्तर भने बचतमा गएको छ । साउनमा देशको शोधनान्तर ३२ अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोडले घाटामा रहेको थियो ।
 

ad
ad
ad
ad