Skip This
अर्थतन्त्र सुधार्न सकारात्मक हस्तक्षेप गरेका छौँ : प्रधानमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३१ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ३१ आइतबार o८:३७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्र सुधार्न सकारात्मक हस्तक्षेप गरेका छौँ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ३१ आइतबार o८:३७:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको बताएका छन् । अर्थतन्त्र सुधारमा सरकार गम्भीर रहेको भन्दै निजी क्षेत्रलाई विचलित नहुन प्रधानमन्त्री दाहालले आह्वानसमेत गरेका छन् ।

नेपाल उद्योग परिसंघले काठमाडौंमा शुक्रबार गरेको ‘प्रेसिडेन्ट्स ब्यांक्वेट’ कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र सुधारमा सहकार्य गर्न निजी क्षेत्रलाई आग्रहसमेत गरे । ‘अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ । अर्थतन्त्रलाई हामीले नै सुधार गर्नुपर्छ । अर्थतन्त्र सुधारको काम सरकार एक्लैले गर्न सक्दैन, तसर्थ निजी क्षेत्रलाई समेत सहकार्य गर्न आग्रह गर्दछु,’ उनले भने, ‘सरकार निजी क्षेत्रको साथमा छ । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गर्छ । तसर्थ, कत्ति पनि विचलित नभई अगाडि बढ्न म निजी क्षेत्रलाई आह्वान गर्दछु ।’

मुलुकको अर्थतन्त्रलाई बजेटको प्रभावकारी कार्यान्वयनबाट सुधारमा लगिने उनले बताए । ‘हामीले चालू आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्रको सबलीकरणका लागि सुधारात्मक कदमहरूको सुरुवात गर्न खोजेका छौँ,’ उनले भने, ‘अर्थतन्त्र सुधारका लागि सरकार निजी क्षेत्रलाई विश्वासमा लिँदै कानुनी, नीतिगत तथा संरचनागत सुधार गर्न प्रतिबद्ध छ ।’

उक्त अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र मन्दीमा रहेको बताए । उनले उच्च ब्याजदर, नगद प्रवाहमा भएको समस्या, उत्पादनमा कमी, लगानीको योजना स्थगन, अर्थतन्त्रको समग्र बजार मागमा कमीलगायतले अर्थतन्त्र मन्दीमा रहेको देखिएको बताए । त्यस्तै, निजी क्षेत्रको मनोबल घट्दो अवस्थामा रहेको समेत औँल्याए । समग्र अर्थतन्त्रको विकासका लागि नेपाल उद्योग परिसंघ सरकारसँग प्रभावकारी र देखिने गरी सहकार्य गर्न तयार रहेको उनले बताए ।

उक्त अवसरमा उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रको बाह्यक्षेत्र केही सुधारोन्मुख देखिएको भए तापनि आन्तरिक अवस्थामा संकटको कालो बादल मडारिइरहेको बताए । ‘बजार चलायमान हुन सकेको छैन, उद्योगी–व्यवसायीको मनोबल अझै उच्च हुन सकेको छैन । लगानीयोग्य रकम हुँदाहुँदै पनि लगानी प्रवर्द्धन हुन सकेको छैन । भएका कतिपय उद्योगहरू बन्द गर्नुपर्ने अवस्थाबाट गुज्रिरहेका छन् भने व्यवसायका सटरहरू बन्द हुने क्रम बढ्दो छ,’ उनले भने, ‘यस्तो विषम परिस्थितिबाट निकासका लागि अर्थतन्त्रको विकास, विस्तार र सबलीकरण नै आजका प्रमुख आवश्यकता हुन् ।’