
अमेरिकाको केन्टुकी राज्यको एक सानो घरमा एक वृद्ध बस्थे । उनी प्रत्येक साता आउने ९९ सय डलरको सामाजिक सुरक्षा रकमबाट आफ्नो जीवन चलाइरहेका थिए । दिन यथावत् बित्दै थिए । ६५ वर्षको उमेरमा पुगेपछि उनलाई अवस्थामा केही परिवर्तन ल्याउनुपर्छ भन्ने लाग्यो । परिवर्तन त ल्याउने तर कसरी ? उनी कुखुराको मासु निकै मिठो स्वादमा तयार गर्थे । उनका साथीले उनलाई आफ्नो सोही सीपमार्फत जीवनमा परिवर्तन ल्याउन सल्लाह दिए । उनलाई पनि साथीहरूको सुझाब ठिक लाग्यो ।
आफ्नो सीप बेच्न उनले केन्टुकी छाडे । नयाँ–नयाँ राज्यका सहरमा पुगेर उनले त्यहाँका नामी रेस्टुरेन्ट मालिकलाई आफ्नो सीपबारे बताए । सबैलाई आफ्नो विशेष स्वाद चखाए पनि । तर, कसैले पनि उनको स्वाद प्रयोग गरेबापत त्यसबाट आउने कमाइको सानो हिस्सा दिन चाहेनन् । कोसिस गर्दै जाँदा उनले हजार पटकभन्दा बढी ‘माफ गर्नुहोस्, हामीलाई यसको आवश्यकता छैन’ भन्ने जवाफ पाए । तैपनि उनी निराश भएनन् । उनलाई आफ्नो सीप र क्षमतामाथि पूरापूर विश्वास थियो । त्यसैले, उनले आफ्नो प्रयास जारी राखे । अन्ततः एक हजार नवौँपटकमा उनको प्रस्तावमा कसैले सहमति जनाए । उनको सीप बिक्ने भयो । एक रेस्टुरेन्ट मालिकले उनको स्वादको तारिफ गर्दै भने– हुन्छ, हामी सहकार्य गर्न सक्छौँ । त्यसका लागि म तयार छु ।
यसरी जीवनको वृद्धावस्थामा हरेस नखाई, निराश नभई लगातार आफ्नो सीप प्रवद्र्धनका लागि दौडधुप गर्ने वृद्ध थिए– कर्नेल हार्टल्यान्ड डेभिड स्यान्डर्स । उनैको अथक विश्वास, परिश्रम, सीप तथा कहिल्यै हार नमान्ने र निराश नहुने स्वभावका कारण जन्मिएको थियो– विश्वप्रसिद्ध ‘केन्टुकी फ्राइड चिकेन’ अर्थात् ‘केएफसी’ ।