१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रासस सर्लाही
२o८१ बैशाख १७ सोमबार १२:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सर्लाहीमा भाइरल ज्वरो र डेंगु संक्रमित बढे

Read Time : < 1 मिनेट
रासस, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:२२:oo

सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको संक्रमण बढेको छ। जिल्लाका प्रत्येकजसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरो उपचारका लागि बिरामी बढ्न थालेका छन्।

निरन्तर एक साता परेरकाे पानीले मौसम परिवर्तन भएपछि जिल्लाभर भाइरल ज्वरोको संक्रमण तीव्र रूपमा फैलिएको प्रादेशिक अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले जानकारी दिए।

हिजोआज उपचारका लागि आउने बिरामीमध्ये अधिकांशमा भाइरल फिभर (सरुवा ज्वरो)को संक्रमण देखिएको लालबन्दी मोडल अस्पतालका प्रमुख डा. आलोककुमार कुशवाहको भनाइ छ। उनका अनुसार त्यस्ता बिरामीमा घाँटी दुख्ने, कमजोरी महसुस हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखिने गरेको छ ।

लालबन्दी, नवलपुर, हरिवन, बागमतीलगायत स्थानका निजी तथा सरकारी स्वास्थ्य संस्थामा दैनिक १० देखि १५ जनासम्म भाइरल ज्वरो संक्रमण भएका बिरामी उपचारका लागि पुग्ने गरेका लालबन्दी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिए। उनका अनुसार अन्य ठाउँको तुलनामा लालबन्दी, नवलपुर र हरिवनका निजी स्वास्थ्य संस्थाका साथै सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढी देखिएको छ।

जिल्लाभर डेंगु संक्रमित पनि बढिरहेका छन् भने भाइरल फिभरको विवरण आउन बाँकी रहेको प्रादेशिक अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बताए। उनका अनुसार जिल्लाभर डेंगुका ६१ जना संक्रमित रहेका छन्।

डेंगु तथा भाइरल ज्वरोबाट बच्न घरवरपर लामखुट्टे बस्न नपाउने गरी सरसफाइ गर्न, संक्रमित भएका व्यक्ति अन्य व्यक्तिसँग सम्पर्कमा नराखी टाढै बसेर आराम गर्न, पोषिलो खानेकुरा प्रशस्त खान, चर्को घाम लागेको वेला सकेसम्म घरभित्रै बस्न र स्वास्थ्य सावधानीका अन्य उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन्।

ad
ad