१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २८ बिहीबार
  • Friday, 09 May, 2025
२o८o भदौ २८ बिहीबार १७:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार यादवमाथि धारिलो हतियार प्रहार, तीनजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २८ बिहीबार १७:o६:oo

सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका औरहीमा फेसबुक स्टाटसको विषयमा पत्रकार सन्तोष यादवमाथि धारिलो हतियार प्रहार भएको छ। पत्रकार यादवमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार घटनामा संलग्न रहेको आरोपमा स्थानीय प्रभु यादव, रमण यादव र किशोर यादवलाई नियन्त्रणमा लिई जिल्ला सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। घटनाको विषयमा दुवै पक्षलाई राखेर बुझ्नुका साथै अनुसन्धान थालिएको उनले बताए। 

औरही चोकस्थित चिया पसलमा बिहीबार चिया पिउन पुगेका वेला स्थानीय नवल यादवका भतिज प्रभु यादवसहितले अघिल्लो दिन भएको फेसबुक स्टाटसको विवाद झिकेर गाँजा काट्ने हतियार (कटारी)ले प्रहार गरेका थिए। हातले छेक्न भ्याएकाले गर्दनको बायाँ भागमा छाला ताछिएको पत्रकार यादवले बताए। 

के हो विवाद ?

पत्रकार यादवका अनुसार गाउँको विद्यालयमा भएको विवादको बारेमा आफूले फेसबुकमा स्टाटस लेखेपछि स्थानीय नवल यादवले पूर्वगाविस अध्यक्ष रहेका उनका बाबुको चरित्र हत्या हुने गरी स्टाटस लेखेका थिए। 

त्यो विषयमा बुधबार भएको कुराकानीअनुसार हटाउने भनिए पनि नहटाइएको र बिहीबार बिहान चिया पसलमा आएका वेला उनका भतिजले उल्टै धम्क्याएकाे पत्रकार यादवले बताए। उनले भने, ‘मैले छेउ लागेर तत्काल औरहीका सइ धर्मेन्द्र चौधरीलाई फोनमार्फत एकजनाले आफूलाई धम्क्याएको र हतियार बोकेर आएको आशंका भएकाले प्रहरी पठाइदिनुस् भनेँ, तर प्रहरी आएन।’

विवाद बढ्दै गएपछि चोकमा आएका मानिसहरूले छुट्याएपछि आफू छेउ लागेर उभिरहेका वेला प्रभुले गाँजा काट्ने हतियार (कटारी) प्रहार गर्दा हातले छेक्न भ्याएकाले गर्दनको बायाँ साइडमा हल्का चोट मात्र लागेको उनले बताए।