
नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा आइडब्लुएफ विश्व च्याम्पियनसिपमा तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी रेकर्ड राखेका हुन् ।
नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठका अनुसार विकासले आफ्नै नाममा रहेको तीनवटै कीर्तिमानमा सुधार गरेका हुन् । उनले स्न्याचमा १२४ केजी भार वहन गरी पूर्ववत् १२३ केजीको रेकर्ड तोडे । यसअघि उनले १९औँ एसियाली खेलकुदको अन्तिम छनोटमा रेकर्ड बनाएका थिए ।
उनले क्लिन एन्ड जर्कमा १४८ केजी वजन उठाउँदै अर्को कीर्तिमान कायम राखे । यसअघि उनले १९औँ एसियाली खेलकुदकै पहिलो चरणको छनोटमा १४७ केजी उचालेका थिए । उनले समग्रमा उचालेको २७२ केजी पनि राष्ट्रिय कीर्तिमान हो । उनकै नाममा २७० केजीको कीर्तिमान थियो । विकास १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।
अध्यक्ष श्रेष्ठ प्रतियोगिताका दौरान हुने विश्व भारोत्तोलन महासंघको कंग्रेसमा सहभागी हुन सोमबारै रियाद प्रस्थान गरेका छन् । खेलाडी सागर भण्डारी पनि सोमबारै रियाद प्रस्थान गरे । सागरले पुरुष १०९ केजीमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाएको हो ।