Skip This
अविश्वासको प्रस्तावसँगै एन्फा अध्यक्ष र महासचिवमाथि १९ आरोप
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Saturday, 27 July, 2024
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव बुझाउँदै संकटाका अध्यक्ष इन्द्रमान तुलाधर (दायाँ)
रमेश सुवेदी काठमाडाैं
२o८o भदौ २६ मंगलबार o६:२९:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अविश्वासको प्रस्तावसँगै एन्फा अध्यक्ष र महासचिवमाथि १९ आरोप

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार o६:२९:oo

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध १९ आरोपसहित अविश्वास प्रस्ताव दर्ता भएको छ । एन्फा इतिहासमा पहिलोपटक अध्यक्षमाथि यस्तो प्रस्ताव दर्ता भएको हो । एन्फाको साधारणसभामा उपस्थित हुने ८६ मध्ये ४९ सदस्यले संयुक्त रूपमा सोमबार एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्तावपत्र बुझाएका हुन् । एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको टोलीले ४९ सदस्यको हस्ताक्षरसहित पत्र एन्फामा बुझाएको हो । 

अविश्वास प्रस्ताव दर्ता गर्नुअघि असन्तुष्ट पक्षले इमेलमार्फत अध्यक्ष र महासचिवविरुद्ध १९ आरोपसहित अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । त्यसपछि दिउँसो १२ः३० मा वरिष्ठ उपाध्यक्ष खड्कालाई अविश्वासको प्रस्ताव बुझाएको हो । ‘हामीले बिहानै इमेलबाट बर्खास्तीको माग राख्यौँ, त्यही समयबाटै उहाँहरू विधानअनुसार निलम्बनमा पर्नुभएको छ, हामीले वरिष्ठ उपाध्यक्षलाई पत्र बुझाएका हौँ,’ संकटाका अध्यक्ष इन्द्रमान तुलाधरले नयाँ पत्रिकासँग भने ।

एन्फा महासचिव किरण राईले निवेदन दर्ता भएको र कार्यसमितिमा यसको छलफल हुने बताए । ‘अहिले दिएको केवल निवेदन हो, यो अविश्वासको प्रस्ताव हैन, यसका कारण कोही पनि निलम्बनमा परेका छैनन्, यस विषयमा कार्यसमितको बैठकले निर्णय गर्छ,’ राईले भने । एन्फाले आइतबार भर्चुअल साधारणसभा बोलाउँदा ३२ क्लबसहित केही जिल्लाले बहिष्कार गरेका थिए । 

भर्चुअल साधारणसभामा ३८ सदस्य मात्र उपस्थित रहे । साधारणसभा बस्न एन्फा बहुमत सदस्य आवश्यक पर्छ । बहुमत सदस्य नभएपछि एन्फाले सोमबार बिहान ११ बजे साधारणसभा डाक्यो । २४ घन्टाभित्र दोस्रोपटक भएको साधारणसभामा २२ जना सदस्य रहँदा एन्फाले साधारणसभा स्थगित ग¥यो । ‘सोमबार अनलाइनमार्फत विशेष साधारणसभा बैठक बोलाइएको थियो, उपस्थित संख्या अपुग भएपछि अध्यक्षले स्थगित गर्नुभयो,’ एन्फा प्रवक्ता सुरेश शाहले भने । 

हामी बाध्य भयौँ :  पूर्वअध्यक्ष शेर्पा
एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले बारम्बारको चेतावनीपछि पनि साधारणसभा एकलौटी रूपमा बोलाएपछि बाध्य भएर अविश्वासको प्रस्ताव राखेको बताए । ‘उहाँहरूले पटक–पटक विधानविपरीत काम गर्नुभयो, कहिल्यै पनि बहुमत सदस्यको कदर भएन, आफूखुसी आर्थिक चखलखेल गर्न खोज्नुभयो,’ शेर्पाले भने, ‘फुटबल र संस्थालाई वैधानिक बाटोमा फर्काउन यो कार्य भएको हो ।’ 

प्रस्तावमाथि कार्यसमितिमा छलफल हुनेछ : महासचिव राई
एन्फाका महासचिव राईले अध्यक्ष र आफूविरुद्ध अविश्वासको प्रस्ताव नभएर निवेदन मात्र दर्ता भएको बताए । ‘उहाँहरूले आज दर्ता गर्नुभएको निवेदन मात्र हो यो, प्रस्ताव हैन,’ उनले भने, ‘यो निवेदनमाथि छलफल हुनेछ, कार्यसमितिको बैठकपछि प्रस्ताव खडा गर्छ ।’ निवेदनमा उल्लेख भएको मागको सम्बन्धमा कार्यसमितिमा छलफल हुने उनले बताए । ‘मागमाथिको छलफलपछि मात्र निर्णय हुन्छ, त्यसपछि साधारणसभा कहिले बोलाउने वा नबोलाउने, प्रस्ताव ठीक भए बल्ल दर्ता हुन्छ,’ उनले भने, ‘अध्यक्षज्यूले अविश्वासको प्रस्ताव सामना गर्नु भनेपछि मात्र साधारणसभा हुन्छ ।’ 

यस्ता छन् आरोप

  •  एन्फा विधानविपरीत विशेष साधारणसभाको प्रयत्न गरेको तथा सहिद स्मारक लिग खेल्ने बहुमत क्लबले विधानअनुसार साधारणसभा गर्न माग गरेकोमा सोको समेत बेवास्ता गरिएको । 
  •  नयाँ आर्थिक वर्ष (०८०–८१) प्रारम्भ भएको दुई महिना बितिसक्दा एन्फाको विधान, आर्र्थिक नियमावली तथा प्रचलित नेपाल कानुनअनुसार साधारणसभाबाट बजेट पास नगरी अनधिकृत रूपमा विनाअख्तियारी आर्थिक कारोबार गरेको । 
  •  एन्फाको १६औँ साधारणसभामा विभिन्न विषयमा असहमति रहँदारहँदै अवैध तवरले विषयवस्तुहरू पारित भएको घोषणा गरिएको । 
  •  बहुमत कार्यकारी सदस्यले माग गरेको बुँदाहरूको कार्यसमितिमा छलफल नै नगरिएको वा गर्न नदिएको । 
  •  यसअघिको साधारणसभाबाट पारित गरिएको योजनाहरूलाई आफूअनुकूल गराउन आपत्कालीन बैठकद्वारा रद्द गरेको । 
  •  साधारणसभाबाट नियुक्त हुनुपर्ने नीतिगत विषयमा कार्यसमितिबाट स्वेच्छाचारी ढंगबाट निर्णय गरिएको । 
  •  कतार विश्वकपका दौरान आएका टिकट राजनीतिक अनुग्रह प्राप्त गर्नका लागि एएफसीका पदाधिकारीलाई अनधिकृत रूपमा प्रदान गरेको ।
  •  विधानबमोजिम वार्षिक रूपमा हुनुपर्ने साधारणसभा नगरिएको । 
  •  सहिद स्मारक लिगको संरचना बिगारेको, लिगहरू सञ्चालन गर्न नसकेको र राष्ट्रिय लिग गर्न नसकेको । 
  •  डिभिजन क्लबहरूको मताधिकार कुण्ठित गरेको ।
  •  नेपाली फुटबललाई धराशायी बनाएको ।
  •  क्लब एकेडेमी सञ्चालनमा बेवास्त गरेको तथा ग्रासरुट कार्यक्रम सञ्चालन गर्न नसकेको ।
  •  बुटबल, धरान, च्यासल, रौतहटमा महिला एकेडेमी सञ्चालन गर्न तदारुकता नदेखाएको । 
  •  अवैध रूपमा पदाधिकारी नियुक्त गरी संस्थालाई थप भार पर्ने गरी सेवासुविधामा आर्थिक वृद्धि गरेको । 
  •  खेलाडी विदेश पलायन हुनबाट रोक्न कुनै पहल नगरेको । 
  •  एएफसीको अनुदानमा सञ्चालन गर्नुपर्ने खेलाडी रिह्याब सेन्टर सञ्चाल गर्न नसकेको । 
  •  महिला लिग तथा प्रतियोगिता सञ्चालन गर्न सकेको । 
  •  जिल्लाको अनुदान दिन नसकिएको तथा प्रतियोगिता गर्न नसकिएको । 
  •  फिफाबाट आउने पूर्वाधारका लागि प्राप्त अनुदानलाई प्रतियोगिताहरू आयोजनाका लागि रकमान्तर गरिएको ।