
एनआरएनए ओहायो च्याप्टर कमिटी २०२३–२०२५ को नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । शनिबार आयोजित एक विशेष कार्यक्रमबीच नवनिर्वाचित अध्यक्ष होताराम विश्वकर्मा नेतृत्वको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो ।
डा. दामोदर पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवनिर्वाचित च्याप्टरका पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा निवर्तमान भएको कमिटी २०२१–२०२३ का पदाधिकारी र सदस्यहरूलाई विदाइ गरिएको थियो ।
कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष भीषण अधिकारीले सहभागीहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा स्थानीय सामाजिक संस्थाका प्रमुख तथा ओहायोमा बस्ने नेपालीहरूको सहभागिता थियो भने कार्यक्रम सचिव लोकेन्द्र देवकोटाले संचालन गरेका थिए ।
कार्यक्रममा एएनटिएकी अध्यक्ष डा. मृदुला गुप्ता, सिओएनएका अध्यक्ष आनन्द तिवारी, ओहायो च्याप्टरका पूर्र्वसचिव डा. अच्युत अधिकारीले सबै नेपाली संघसंस्थाहरूको सहकार्यको विकल्प नभएको धारणा राखे ।
भुट्निज समाजबाट रिपब्लिकन पार्टीका अध्यक्ष रहेका नेता काशिनाथ अधिकारीले नेपाल सरकारले भुट्निज समाजलाई हेर्ने दृष्टिकोण प्रवासमा बस्ने नेपालीसरह हुनुपर्ने बताए । उनले सबै भुट्निजहरूले पनि एनआरएनएको मान्यता पाउनुपर्ने धारणा राखे ।
प्रमुख अतिथि डा. दामोदर पौडेलले नेपालको हकहितको लागि अमेरिकाको कंग्रेसमा गठन भएको ‘कोकस’ सँग जोड्दै अरू च्याप्टरभन्दा ओहायो च्याप्टरको दायित्व बढेको बताए । उनले भुट्निज समाजलाई एनआरएनएमा जोड्नका लागि नेपाल सरकारसँग बृहत् छलफल आवश्यक रहेको धारणा राखे ।
निवर्तमान कमिटीको तर्फबाट सचिब रिद्धि खड्काले नवनिर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । कार्यक्रमका सभापति एनआरएन ओहायो च्याप्टरका अध्यक्ष होताराम विश्वकर्माले नेपाली समाजको लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए ।
पहिलो चरणको कार्यक्रम सम्पन्न भएपछि एनआरएनए ओहायो च्याप्टरको महिला उपाध्यक्षको सभापतित्वमा तिज विशेष कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रम संस्थाकी महिला संयोजक शारदा धितालले संचालन गरेकी थिइन् ।
कार्यक्रममा महिला दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा विभिन्न समूहबाट आएका महिला दिदीबहिनीहरूले नृत्य प्रस्तुत गरेका थिए । विशेष गरी इन्ट्रा फाउन्डेशन नृत्य तथा संगीत प्रशिक्षण केन्द्रबाट आएका विभिन्न नृत्य समूहले नृत्य प्रस्तुत गरेका थिए । यस्तै, एक्रोन निवासी राजकुमार लोहनी र रमिला गुरूङले लोकदोहोरी गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा नृत्य र गायनमा भाग लिएका सम्पूर्णलाई संस्थाका अध्यक्ष र उपाध्यक्षले मायाको चिनो स्वरूप मेडल वितरण गरेका थिए ।