१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार २o:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोखराको डिजेल अपचलन घटनाका मुख्य अभियुक्त चित्तरञ्जन दासविरुद्ध पक्राउ पुर्जी जारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २o:४३:oo

पोखरास्थित नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालयमा भएको डिजेल अपचलन घटनाका मुख्य अभियुक्त तत्कालीन डिपोप्रमुख चित्तरञ्जन दासविरुद्ध जिल्ला अदालत कास्कीले सोमबार पक्राउ पुर्जी जारी गरेको छ। 

डिपोबाट २५ साउनमा १२ हजार लिटर डिजेल बिक्री गरेको बिल बनाई १५ हजार तीन सय लिटर पठाएको अभियोग पुष्टि भएयता दास फरार छन्। उनलाई आयल निगमले समेत सेवाबाट तत्कालै निलम्बन गरेको थियो।

घटनाबारे कास्कीको इलाका प्रहरी कार्यालय, हंसपुरले विस्तृत छानबिन गरी ठगी कसुरमा मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। 

प्रहरी प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। सो मुद्दाको आइतबार थुनछेक बहसपछि पेट्रोलपम्प व्यवसायी बाबुराम जम्कट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुंगाना र ट्यांकरचालक निर्मल थापालाई क्रमशः डेढ लाख, एक लाख र ७५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

मुख्य अभियुक्त दास फरार रहेकाले उनको नाममा ३५ दिनभित्र अदालतमा हाजिर गराउने गरी पक्राउ पुर्जी जारी भएको जिल्ला अदालतका शाखा अधिकृत दुर्गाप्रसाद रिजालले जानकारी दिए। ‘अदालतमा आरोपपत्र दर्ता भइसक्दासमेत फरार रहेका दासविरुद्ध अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको हो। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ५८ र उपदफा ७ अन्तर्गत रहेर अनुसूची २५ बमोजिम पक्राउ पुर्जी जारी गरेको हो,’ रिजालले भने।

सोमबार दिउँसो अदालतले जिल्ला प्रहरी कार्यालय कास्कीलाई पक्राउ पुर्जी पठाएको उनले जानकारी दिए। ‘यो पुर्जी भनेको जसका नाममा जारी भएको छ, उसलाई भेट्नेबित्तिकै पक्राउ गर्नु हो। प्रहरीले अब उसको आफन्त वा कार्यालयमा यसको जानकारी दिनेछ,’ रिजालले भने। 

दास पक्राउ परेपछि वा आफैँ अदालतको सम्पर्कमा आएपछि सुरुमा बयान लिइने र बयानपछि थुनछेक बहस सुरु हुनेछ। त्यसक्रममा पक्ष र विपक्षको बहस सुनेर धरौटीमा छाड्ने वा हिरासतमा राखेर आवश्यक अनुसन्धान गर्ने भन्ने निर्णय हुने रिजालले जानकारी दिए।

जिल्ला अदालतमा दायर भएको आरोप-पत्रमा दासलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना गर्नुपर्ने माग दाबी गरिएको छ। त्यस्तै, सरकारी सेवामा रहेर सरकारी सम्पत्तिमा हानीनोक्सानी पुर्‍याएकाले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) सम्बन्धी नियमावली ०७५ को दफा १५ (२) को ङ अनुसार हुने सजायको डेढी सजायको पनि माग गरिएको छ। 

आइतबार धरौटीमा रिहा हुन अदालतबाट आदेश पाएका जम्कट्टेल, ढुंगाना र थापालाई समान तीन वर्षसम्म कैद वा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय माग गरिएको छ।

ad
ad