
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल भइरहेको बताएका छन्।
आइतबार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले पहिलादेखि नै कांग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार निर्माण गर्नुपर्छ भनेको भए पनि ठूलो पार्टीलाई निषेध गरी संविधान मिच्ने काम सत्तागठबन्धनबाट भएको बताए।
उपमहासचिव ज्ञवालीले प्रदेशप्रतिको वितृष्ण बढेर जाने र नयाँ चुनावमा जानुपर्ने स्थिति अहिले नै आउँदा देशको अर्थतन्त्रमा समस्या पर्ने भन्दै कांग्रेसले समाधानको बाटोमा जानुपर्ने बताए। उनले प्रदेशको हित र संविधानको रक्षाका लागि कांग्रेसले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्ने बताए।
उनले प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझावहरू मागेको र आफूले चीनसँग विश्वास बटुलेर आउन सुझाव दिएको बताए।
नेपाल र चीन सम्बन्ध सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको हो कि भन्ने शंका चिनियाँहरूले गरिरहेको भन्दै त्यसलाई प्रधानमन्त्रीले चिर्नुपर्ने उनको भनाइ थियो।