Skip This
काठमाडौं महानगरद्वारा पानी, दूध र खानेतेलको अनुगमन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २३ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २३ शनिबार १६:o८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं महानगरद्वारा पानी, दूध र खानेतेलको अनुगमन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २३ शनिबार १६:o८:oo

काठमाडौं महानगरपालिकाले उपभोक्तालाई गुणस्तरयुक्त पिउने पानी, दूध र तेलको उपभोगको सुनिश्चितता गराउने उद्देश्यले ती वस्तुको अनुगमनमा कडाइ गरेको छ। 

महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै पानी, दूध र तेलको शुद्ध तथा गुणस्तर कायम गर्न प्रभावकारी अनुगमन अभियान सञ्चालन गरेको हो।

विभागका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवदेश झाले उपभोक्तालाई स्वच्छ, स्वस्थ्य पानीको उपयोगको वातावरण सिर्जना गर्न कडाइका साथ अनुगमन अभियान थालिएको बताए। उनका अनुसार महानगरले यही भदौ १ गतेदेखि नियमित रूपमा पहिलो चरणमा पानीको अनुगमन गरिरहेको छ। 

भदौभर पानीको अनुगमन गरिने र असोजमा पानीसहित दूधको र क्रमशः तेलको पनि अनुगमन गरिनेछ। चालू आर्थिक वर्षभरि अनुगमन अभियान चलाइने विभाग प्रमुख डा. झाले जानकारी दिए। 

'जारको पानीको शुद्धता पत्ता लगाउने तथा समस्याको पहिचान गरी आवश्यक कारबाही प्रक्रियामा लैजान्छौँ,' उनले भने। 

उपत्यकामा जारको पानी वितरण गर्ने कम्पनीले  कुच्चिएको, फुटेको जारमा पानी बोक्ने गरेको पाइएकाले त्यस्ता जार जफत र नष्ट गर्ने गरिएको छ। 

'पानी उत्पादक कम्पनीलाई पनि थाहा हुँदैन, उसको पानीको जार कहाँ छ त्यो पानी कसको हो भनेर,' विभाग प्रमुख डा. झाले भने, 'पानी उत्पादक कम्पनी र वितरक भिन्न–भिन्न हुने भएकाले यसमा कडाइ गरिएको हो। पानी आउने मुख्य नाकामा क्रमिक रूपमा अनुगमन गरिरहेका छौँ।”

अहिले महानगरमा पानी भित्रिने गोदावरी, पेप्सिकोला, चाबहिलगायत नाकामा अनुगमन भइरहेको छ। प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका २०७४ अनुरूप अनुगमनलाई कडाइ गरिएको हो। निर्देशिकामा कुच्चिएको तथा लेउ लागेको जारमा पानी बोक्न नपाइने उल्लेख छ। अनुगमनका क्रममा त्यस्ता जार भेटिएमा जफत गर्ने गरिएको छ। सम्बन्धित कम्पनीको पानी प्रयोगशालामा लगेर परीक्षण गर्ने गरिएको छ।

काठमाडौं महानगरमा जति पनि पानी उत्पादक संस्था छन्, तिनको स्थलगत अनुगमन गरेर शुद्ध पानी वितरण गर्ने अभियानमा महानगर रहेको डा. झाले बताए। उनले भने, 'अहिलेसम्म सचेत मात्र गराइरहेका छौँ। अब कुनै कैफियत देखिए कारबाही गर्छौँ।'

विभागले नेपाल वाटर बोटल उद्योग सं|घका पदाधिकारीलाई बोलाएर पनि सजग गराएको छ। 'जो उत्पादक हो उसैले वितरण गर्नुपर्छ, यदि उत्पादक नभए अरूलाई जिम्मा दिएको हो भने दुवै संस्थाबीच कागजी सम्झौता हुनुपर्‍यो र जारको पानी बोक्ने गाडीमा सम्बन्धित कागजात बोक्नुपर्‍यो,' डा झाले भने। 

अहिले जारको पानीमा मात्रै अनुगमन गरिएको र निकट भविष्यमा बोतलको पानीको पनि अनुगमन गरिने उनले उल्लेख गरे। महानगरभित्र अहिले एक सय ८० भन्दा बढी पानी उत्पादक कम्पनीले पानी आपूर्ति गर्ने गरेका छन्। काठमाडौंमा जम्मा चार कम्पनी छन्।

अनुगमनका क्रममा जफत गरिएका पानीका जार काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा पठाइएको र त्यसको रिपोर्टका आधारमा पानीमा केही समस्या देखिए महानगरको बजार व्यवस्थापन ऐन २०७५ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ। 

पानीपछि दूध वितरणलाई नियमन र व्यवस्थापन गर्ने महानगरको योजना छ। अहिले खुला रूपमा बिक्री वितरण भइरहेको दूध व्यवसायीलाई दर्ता प्रक्रियामा लगेर मापदण्ड पुर्‍याएर मात्रै बिक्री वितरणका लागि सचेतना गरिने र गुणस्तर नभए कारबाही गरिने विभागले उल्लेख छ।