मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २३ शनिबार
  • Wednesday, 12 February, 2025
२o८o भदौ २३ शनिबार १५:५४:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

मोरक्को भूकम्पमा अहिलेसम्म ६ सय ३२ को निधन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २३ शनिबार १५:५४:oo

मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म ६ सय ३२ जनाको मृत्यु भएको छ भने तीन सय २९ जना घाइते भएका छन्। त्यहाँकाे गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ।

भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लांका, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ। 

शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए। अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन्। शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कोका सञ्चारमाध्यमले जनाएका छन्। 

शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको बताइएकाे छ। सरकारी अधिकारीहरूका अनुसार देशको एकतिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। 

भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिनाइ भएको छ। पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ। ती स्थानमा उद्धारकर्ताहरू पुग्न केही दिन लाग्न सक्छ। 

मराकेस, कासाब्लांकालगायत सहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन्। क्षति एवं हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन। 

यसैबीच, विश्वका विभिन्न मुलुकका नेताहरूले मोरक्को सरकारप्रति सहानुभूति प्रकट गर्दै सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मोरक्कोलाई सहयोग गर्ने प्रस्ताव गर्नुभएको छ भने फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले पनि मोरक्कोका भूकम्पपीडित जनता र त्यहाँको सरकारप्रति ऐक्यबद्धता प्रकट गरेका छन्। 

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मोरक्कोमा भएको ‘भयंकर’ भूकम्पमा परी छ सयभन्दा बढीको ज्यान गएको खबरले आफू मर्माहत भएको बताउँदै शोक प्रकट गरेका छन्। 

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि मोरक्कोलीप्रति ऐक्यबद्धता व्यक्त गर्दै मोरक्को नरेश मोहम्मद छैटौँलाई शोक सन्देश पठाएर समवेदना व्यक्त गरेका छन्।