१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चेपाङ समुदायले मनाए नुवागी पर्व

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:४८:oo

प्रकृति पूजक चेपाङ जातिले बिहीबार रातभर फलाकेर नुवागी पर्व मनाएका छन्। गलामा रुद्राक्षको मालासहित ढ्याङ्ग्रो बजाउँदै फलाक्दै गरेका चेपाङ झाँक्रीहरू र नुवागी हेर्न गाउँ तथा छिमेकी जिल्लाहरूबाट आएकाहरूको मध्य रातमा पनि  भिड थियो।

धादिङको गजुरी गाउँपालिका– ५ बरभञ्ज्याङका राजकुमार चेपाङ पितृ र भूमिलाई खुसी पार्न नुवागी मनाउने प्रचलन रहेको बताउँछन्। ढ्याङ्ग्रो ठोक्दै फलाक्दै गरेका राजकुमार भन्छन्, ‘नयाँ बाली पाकेपछि पितृलाई नबुझाई खाँदा पितृ रिसाउने, अनिष्ट हुने जनविश्वास रहेकाले हामी झाँक्रीहरू रातभर फलाकेर पितृ बुझाउने र अन्न फलाउने भूमिलाई धन्यवाद दिन्छौँ।’

‘नयाँ बाली पितृलाई नबुझाई र अन्न फलेको भूमिको पूजा नगरी खायो भने कुल रिसाउँछ। मानिस बिरामी पर्छ, अनिष्ट हुन्छ,’ उनले थपे, ‘त्यसैले पितृलाई बुझाएर मात्र हामी खाने गर्छौं।’ झाँक्रीहरू रातभर ढ्याङ्ग्रो बजाएर जाग्राम बस्छन्। जति रात छिप्पिँदै गयो, ढ्याङ्ग्रो, घन्टी र फलाक्ने क्रम झन् बढ्दै जान्छ। 

नेपालका सीमान्तकृत चेपाङ समुदायले मनाउने नुवागी पर्व निकै रमाइलो र चाखलाग्दो छ। चेपाङ अर्थात् प्रजा समुदायको राष्ट्रिय पर्व हो  ‘नुवागी’। चेपाङ भाषामा ‘नुवागी’ भनेको ‘छोनाम’ हो। पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वको रूपमा परिचित यो पर्वमा आफ्ना कुलभरिका मानिस मूल झाँक्रीको घरमा जम्मा भएर झाँक्री फलाक्ने गर्दछन्।

यो पर्वमा विशेष गरी घैया धान, गाभा, निबुवा, घिरौँलालगायत कन्दमूल र तरकारी पितृलाई बुझाएर अन्न फलाउने भूमिलाई पूजा गर्ने प्रचलन रहिआएको छ। भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि पूजा गर्ने परम्परा रहेको छ। यसका लागि चेपाङ झाँक्री (पान्दे)हरुले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउने प्रचलन पनि रहिआएको छ।

‘पितृ नबुझाई र अन्न उत्पादन गराइदिएकामा भूमिलाई धन्यवाद नदिई नयाँ बाली खाएमा अनिष्ट हुन्छ, अशुभ हुन्छ, पितृ रिसाउँछ भन्ने धार्मिक विश्वास रहिआएको छ’, नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले भने, ‘यो पर्वमा झाँक्री बसेर रातभर सिमेभूमे फलाकेर मात्रै खानुपर्छ भन्ने मान्यता परापूर्वकालदेखि नै चलिआएको हो।’

छरछिमेकी, नाताकुटुम्ब आमन्त्रण गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख–दुःख साट्ने गर्छन्। ठाउँ र कुलअनुसार पनि नुवागी मनाउने चलन फरकफरक छ। चेपाङले नुवागी पर्वलाई ‘पान्देई घ्यासा’ चाड पनि भन्छन्। भेला भएर ढ्याङ्ग्रो बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ। नुवागीको दिनलाई चेपाङहरूले वारनाको रूपमा मनाउने नेपाल चेपाङ संघका केन्द्रीय सचिव एवं धादिङको गजुरी गाउँपालिका– ४ का वडाध्यक्ष सुरेन्द्र चेपाङले बताए।

वारनामा कोही चेपाङ काममा निस्कँदैनन् । यो वर्ष पनि वर्षभरि मृत्युवरण गरेका परिवारका सदस्य र आफन्तको नाममा बिहीबार रातभर ढ्याङ्ग्रा फुकेर र फलाकेर शुक्रबार बिहान नुवागी पूजा गरिएको छ। चेपाङ समुदायले पर्वका रूपमा हरेक वर्ष भदौ २२ गतेलाई मनाउने भए पनि आ–आफ्नो कुलभित्र भने भदौ महिना लागेदेखि फलाक्न सुरु गर्छन्।

चेपाङ भाषाबाटै ‘धादिङ’को नाम
धादिङ जिल्लाको नाम पनि चेपाङ भाषाबाटै राखिएको भन्ने कथन छ। चेपाङ भाषामा ‘धा’ भनेको ‘आगोको ज्वाला’ र ‘दिङ’ भनेको ‘देवी देउता चथौत माटो’ हो। यसैलाई मिलाएर धादिङ नाम बसेको हो,’ चेपाङ संघ धादिङका अध्यक्ष भीमबहादुर चेपाङ भन्छन्।

नुवागीलाई माटो पूजाको रूपमा पनि लिइन्छ। चेपाङ समुदायको थातथलो नै महाभारत क्षेत्र हो। चेपाङहरू पहिलादेखि नै धादिङ, चितवन र मकवानपुरको सिमाना महाभारत शृंखलामा बसोवास गरेको र उनीहरूले पूजा गर्ने ज्वालामुखी देवीको मन्दिर पनि धादिङ जिल्लामा रहेकाले चेपाङ भाषाबाट नै जिल्लाको नाम रहन गएको जनश्रुतिले यहाँ जनसमर्थन पाएको छ।

चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ। जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ।

ad
ad