
नेपाली कांग्रेस काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ७ का क्षेत्रीय सभापति एवं काठमाडौं महानगरपालिका– १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
स्वर्गीय रिजालले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएकाे योगदानको स्मरण गर्दै सभापति देउवाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट उनले गहिरो समवेदना प्रकट गरेका छन् ।
रिजालको ग्रान्डी अस्पतालमा उपचारका क्रममा आज बिहान ७:३० बजे निधन भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनकाे पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा र बिहान १२:३० देखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा राखिनेछ। अपराह्न २:३० बजे रिजालको दाहसंस्कार गरिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।
०२७ कात्तिकमा जन्मिएका रिजालले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । ०४६ को ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा परेका थिए ।
रिजाल कांग्रेस काठमाडौं क्षेत्र नं. ७ को क्षेत्रीय सभापति र कामनपा- १६ को वडाध्यक्ष पदमा दुईपटक निर्वाचित भएका थिए । सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आबद्ध भई राजनीतिक यात्रा प्रारम्भ गरेका उनी मानव अधिकारवादी संघसंस्थामा समेत आबद्ध भएर कार्य गर्दै आएका थिए ।
उनको निधनबाट कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको पार्टीले जनाएको छ ।