
नेपाली राष्ट्रिय यू–१६ टोली दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१६ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । भुटानको थिम्पुमा बुधबार भएको समूह ‘ए’को अन्तिम खेलमा नेपाल भारतसँग १–० ले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो । ‘गर या मर’ स्थितिमा रहेको साबिक उपविजेता नेपाल भारतविरुद्ध खेलमा फर्कने प्रयास गरे पनि असफल भयो ।
लगातार दोस्रो हारपछि नेपाल समूहको पुछारमा रह्यो । दुई खेलबाट ६ अंक जोडको भारत शीर्ष स्थान र बंगलादेश उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । यस खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । भारतले माल्दिभ्स र पाकिस्तानले बंगलादेशको सामना गर्नेछन् । पहिलो खेलमा पनि रवीन्द्र सिलाकारको प्रशिक्षणमा रहेको नेपाल बंगलादेशसँग १–० ले नै पराजित भएको थियो ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भारतलाई जित दिलाउन एमडी अर्बासले पहिलो हाफमा निर्णायक गोल गरेका हुन् । एमडीले ३३औँ मिनेटमा विशाल यादवको क्रसमा गोल गरेका थिए । यसअघि सुवास बमको कप्तानीमा रहेको नेपालले गोलको धेरै प्रयास गरे पनि असफल भएको हो । यसअघि नेपाल यस प्रतियोगितामा चारपटक उपविजेता भएको थियो ।