मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १९ मंगलबार
  • Saturday, 15 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १९ मंगलबार १o:o२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरकारको प्राथमिकतामा अर्थमन्त्री डा. महतले भने– पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १९ मंगलबार १o:o२:oo

देशमा एउटा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । पोखरा पर्यटन परिषद्को २३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकता दिने बताएका हुन् । 

सरकारले निजगढमा ४५ सय मिटर लामो रन–वे भएको पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइनसमेत तयार पारेको छ । यसअघि विमानस्थल निर्माणका लागि प्रारम्भिक काम करिब सम्पन्न गर्नै लाग्दा सर्वोच्च अदालतले सम्पूर्ण प्रक्रिया खारेज गरिदिएको थियो । सर्वोच्चकै परमादेशअनुसार सरकारले विज्ञ समूह गठन गरेर देशमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सर्वेक्षण गराउँदा निजगढको सोही क्षेत्र सबैभन्दा बढी उपयुक्त हुने ठहर भएको छ । तर, विज्ञ समूहले पेस गरेको प्रतिवेदन लामो समयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको घर्रामा थन्किएको छ । 

नेपालमा अहिलेसम्म तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेका छन् । काठमाडौं र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार मिटर र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २५ सय मिटरको रन–वे छ । ठूला कार्गो विमान उडान–अवतरण गर्न र देशलाई अन्तर्राष्ट्रिय ट्रान्जिट हब बनाउन ४५ सय मिटर लामो दुईवटा रन–वेसहितको विमानस्थल आवश्यक पर्ने विज्ञको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय पर्यटक वृद्धिका लागि हवाई यातायात महत्वपूर्ण हो, काठमाडौंको एयरपोर्ट साँघुरो छ, जतिसुकै धेरै पर्यटक ल्याउँछु भने पनि अन्तर्राष्ट्रिय उडान आउने क्षमतै कम छ,’ अर्थमन्त्री डा. महतले भने, ‘एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनैपर्छ, यसलाई हामीले प्राथमिकतामा राखेका छौँ, त्यो एयरपोर्ट बनाउन सकियो भने ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिन्छ ।’ सँगसँगै, फास्ट ट्र्याक र सिद्धार्थ राजमार्ग बनाउन सकिएमा सडक यातायातबाटै प्रशस्त पर्यटक भित्र्याउन सकिने सम्भवना रहेको पनि उनले औँल्याए ।

पोखरा पर्यटनको ट्रान्जिट 
अर्थमन्त्री डा. महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने धारणा राखेका छन् । मुस्ताङ, लमजुङ, चितवन, लुम्बिनी जान पोखरा केन्द्रबिन्दु हुन सक्ने उनको भनाइ छ । ‘सरकारले अन्तर्राष्ट्रिय हवाई अड्डामा धेरै ठूलो लगानी गरेको छ, पर्यटन प्रवद्र्धनका लागि लगानी गरिएको हो,’ उनले भने, ‘अहिले लगानी उठाउन सकिएको छैन, दीर्घकालमा सबै हवाई अड्डाले राम्रो लाभ दिनेछन् ।’ ‘हामी धेरैजसो माग र निर्णय भावनामा बगेर गर्छौं, भावनामा बगेर गरेको लगानीबाट प्रतिफल कसरी लिन सकिन्छ भन्ने चुनौती सरकारसँग रहेको छ,’ उनले थपे, ‘युद्ध, भूकम्प, कोभिड र रसिया–युक्रेन युद्धले ल्याएको अन्तर्राष्ट्रिय मन्दीबाट हामी गुज्रिएकाले राजस्वमा ठूलो प्रभाव पर्‍यो र अर्थतन्त्रमा शिथिलता देखिएको छ ।’

भूकम्प र कोभिडबाटै सुरु भएको अर्थतन्त्रको शिथिलता पछिल्लो समय विशिष्ट किसिमले देखिएको भनाइ थियो ।अर्थमन्त्री डा. महतले सबैले सकारात्मक सोच राखेमा अर्थतन्त्र पनि सकारात्मक बाटोतर्फ उन्मुख हुने बताए । उनले भने, ‘पोखरा पर्यटन व्यवसायको हब हो, यसलाई कसैले बिगार्न सक्दैन । यसको भविष्य दिगो छ । थोरै समस्या आयो भन्दै हामीले निराशाको कुरा गर्ने हो भने यसले राम्रो गर्दैन ।’ पुँजीगत खर्च प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने, ठेक्का समयमा लगाइने, ठुल्ठूला आयोजनाबाहेक सरकारले तीनवर्षे योजना समयमै सम्पन्न गर्ने हिसाबले ठेक्कामा लगाउने प्रतिबद्धता उनले जाहेर गरेका छन् । 

‘भनेजस्तो पर्यटकको आगमन भएको छैन, बाटोको उस्तै समस्या छ, एयरपोर्टमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन, पृथ्वी राजमार्ग समयमै स्तरोन्नति भइसक्नुपर्ने थियो,’ डा. महतले भने, ‘यसलाई सरकारले गम्भीरताका साथ लिएको छ, बाटो राम्रो हुनेबित्तिकै आन्तरिक पर्यटनमा वृद्धि हुनेछ ।’