
बागमती प्रदेश सरकारले सीमान्तकृत समुदाय चेपाङको मुख्य पर्व न्वागीको दिन प्रदेशको तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सीमान्तकृत समुदाय चेपाङको मुख्य पर्व न्वागीको दिन भदौ २२ गते शुक्रबार प्रदेशका तीन जिल्ला मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशका सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।
यस्तै, प्रवक्ता श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ५ की कृष्णकुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ।
यसैगरी, बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए।