१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस चितवन
२o८१ बैशाख २१ शुक्रबार १५:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी, चार्जिङ प्वाइन्ट कम हुँदा समस्या

Read Time : > 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:oo:oo

चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन्। जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालिले लामो दूरीमा विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन्।

चार यातायात व्यवसायीले ४६ विद्युतीय बस सञ्चालनमा ल्याएका छन्। नारायणगढ–हेटौँडा–वीरगन्ज र नारायणगढ–काठमाडौंका लागि विद्युतीय बस सञ्चालनमा ल्याइएको भरतपुर महानगर यातायात प्रालिका अध्यक्ष चीनबहादुर बोहोराले जानकारी दिए। उनका अनुसार महानगर यातायात प्रालिले ६ सवारी नारायणगढ–काठमाडौंका लागि सञ्चालनमा ल्याएको छ भने त्रिनेत्र र चौतारी यातायात प्रालिले सञ्चालनमा ल्याएका सबै बस नारायणगढ–काठमाडौंका लागि सञ्चालन भइरहेका छन्।

राज्यले विद्युतीय सवारीसाधन सञ्चालनका लागि ल्याएको नीतिअनुसार विद्युतीय बस सञ्चालनमा ल्याइएको बोहोराले बताए। वातावरण प्रदूषण नहुने भएकाले पनि यसप्रकारका सवारी उपयुक्त हुने उनको भनाइ थियो। डिजेलको मूल्यवृद्धि भइरहेका वेला विद्युतीय सवारीसाधन सञ्चालन गर्दा मितव्ययितासमेत हुने उनले बताए।

हाल सञ्चालनमा आएका सवारीसाधनमा ६० किलोवाट मोटरपावर जडान गरिएको जनाउँदै बोहोराले गाडी एकपटक पूर्ण रूपमा चार्ज गरेपछि दुई सय किलोमिटरसम्म गुड्ने बताए।

चालकसहित ११ जना अट्ने सवारी प्रदूषणरहित र आरामदायी भएको नारायणगढबाट सिमारा जाँदै गरेका यात्रु लोक खड्काले बताए। डिजेलबाट चल्ने गाडीभन्दा यो गाडी सफा र आरामदायी भएको उनको भनाइ थियो। सञ्चालन भएयता यात्राका लागि मिलेसम्म विद्युतीय सवारी रोज्ने गरेको उनले बताए।

नारायणगढबाट वीरगन्ज जान लागेका अप्रोज आलमले आफूले पहिलोपटक विद्युतीय सवारी चढ्न लागेको भन्दै फरक महसुस गरेको बताए। गाडी चढ्दै गर्दा सफा, आवाज कम र आरामदायी पाएको पहिलोपटक विद्युतीय सवारी चढ्दाको अनुभवसहितको यात्रा आरामदायी हुने विश्वास व्यक्त गरे।

चितवन छाहारी यातायात प्रालिका अध्यक्ष बद्री पौडेलले विद्युतीय सवारीमा यात्रा गर्दा सफा, आवाज नआउने र पूर्ण रूपमा वातावरण अनुकूलित हुने जनाउँदै यो यात्रुको पहिलो रोजाइमा पर्ने बताए। डिजेलबाट चल्ने बसमा भन्दा विद्युतीय गाडीमा यात्रा गर्दा भाडामा केही महँगो भए पनि यात्रुको कुनै गुनासो नआएको उनको भनाइ थियो। उनका अनुसार भरतपुरबाट हेटौँडासम्म पुगेको रु. दुई सय ८०, वीरगन्जसम्मको रु. चार सय र नारायणगढ–काठमाडौंको भाडा रु. पाँच सय रहेको छ।
 
७० प्रतिशतसम्म बैंकले लगानी गरिदिने जनाउँदै पौडेलले यस सवारी व्यवसायीका लागि पनि सन्तोषजनक रहेको बताए। ‘यसको मुख्य समस्या चार्जिङको हो। सरकारले ठाउँठाउँमा चार्जिङ प्वाइन्ट बनाइदिने हो भने यस्ता सवारी सञ्चालन गर्न थप सहज हुँदै जानेछ,’ उनले भने। एउटा सवारी चार्ज हुनका लागि एक घन्टा लाग्ने हुँदा स्टेसनमा रहेका चार्जिङ प्वाइन्टको संख्या पनि सवारीअनुसार थप हुँदै जानुपर्ने उनको भनाइ छ।

नारायणगढ–वीरगन्ज रुटमा चल्ने मधेश प्रदेश ०३–००१ ज ३६४ नम्बरको सवारीका चालक वृजकिशोर प्रसादले डिजेलको बसमा भन्दा विद्युतीय बसमा धेरै मुनाफा रहेको बताए। मुनाफा राम्रो भए पनि चार्जिङको समस्याले सताउने गरेको उनले गुनासो गरे। डिजेल गाडीको भन्दा यो गाडीकोे पिकअपसमेत राम्रो रहेको उनको अनुभव छ।

नारायणगढ–हैटौँडा रुटमा सवारी चलाउने कृष्ण बस्ताकोटीले पनि विद्युतीय सवारीको सबै पक्ष राम्रो भए पनि चार्जिङ प्वाइन्टकै समस्या हुने गरेको बताए। सवारीको संख्या बढ्दै जाँदा चार्ज गर्न घन्टाैँ कुर्नुपर्ने बाध्यता आएको भन्दै रुटको ठाउँठाउँमा चार्जिङ प्वाइन्ट हुनुपर्ने उनको माग थियो।

चितवनमा पछिल्लो ६ महिनादेखि विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका हुन्। ११ सिट क्षमता भएको सवारी खरिद गर्दा रु. ४४ लाख हाराहारी पर्ने र पाँच वर्षको ग्यारेन्टी निर्माण कम्पनीले लिने व्यवसायीको भनाइ छ।

ad
ad