१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार o६:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एसिया कप क्रिकेट : पूर्वविश्व च्याम्पियन भारतको सामना गर्दै नेपाल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:५४:oo

नेपालका कप्तान रोहित पौडेल भन्छन्– भारतविरुद्ध खेल्न पाउनु ठूलो अवसर हो । क्रिकेटप्रेमीहरूको  अपार समर्थनले हामीलाई राम्रो खेल खेल्न प्रेरित गरेको छ । रोहित शर्मा र विराट कोहलीलाई आउट गर्ने योजना छ । 

१६औँ एसिया कप क्रिकेट प्रतियोगितामा सोमबार नेपालले उपाधि दाबेदार भारतको सामना गर्दै छ । नेपालले पहिलोपटक एकदिवसीय खेलमा भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । श्रीलंकाको पालेकेले मैदानमा दिउँसो ३ः१५ बजे खेल हुनेछ । यस खेलमा वर्षाले धेरै प्रभावित पार्न सक्ने जनाइएको छ । समूह ‘ए’बाट सुपर फोरमा दुवै राष्ट्रको सम्भावना उत्तिकै छ । पाकिस्तानसँग एक अंक बाँडेको भारतले नेपाललाई हराउँदा सुपर फोरमा पुग्नेछ । भारतविरुद्ध अप्रत्याशित नतिजा निकाल्दा नेपालले सुपर फोरमा स्थान बनाउनेछ । 

वर्षाले खेल बिथोलिए भारत दुई अंकका साथ अगाडि बढ्नेछ । पहिलोपटक सहभागी नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । सन् २०१८ मा एकदिवसीय मान्यताप्राप्त नेपालले एसिया कपमा दुई विश्व च्याम्पियनसँग प्रतिस्पर्धाको अवसर पाएको हो । भारत प्रतियोगिताकै सर्वाधिक सातपटकको विजेता हो । विश्व क्रिकेटमा भारतले दुईपटक एकदिवसीय र एकपटक आइसिसी टी–२० विश्वकप उपाधि जितेको छ । आइसिसी एकदिवसीय वरीयतामा भारत तेस्रो र नेपाल १५औँ स्थानमा छ । 

नेपालले आइसिसीको पाँचौँ पूर्ण सदस्यका रूपमा भारतको सामना गर्न लागेको हो । यसअघि, नेपालले पाकिस्तान, वेस्ट इन्डिज, जिम्बावे र आयरल्यान्डविरुद्ध प्रतिस्पर्धा गरेको थियो । एसिया कपकै उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग पहिलोपटक भिडेको थियो । जसमा नेपालले एकदिवसीय खेलकै १६औँ ठूलो अन्तर हारको सामना ग¥यो । नेपाल पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । डेढ महिनाअघि जिम्बावेमा भएको आइसिसी एकदिवसीय ग्लोबल छनोटमा नेपालले आयरल्यान्ड, वेस्ट इन्डिज र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गरेको थियो । 

नेपालका प्रतिद्वन्द्वी भारतका सबै खेलाडी अन्तर्राष्ट्रिय क्रिकेटमै अनुभव प्राप्त छन् । कप्तान रोहित शर्माले एकदिवसीय खेलमा तीनपटक दोहोरो शतकीय इनिङ्स खेलेका छन् । यद्यपि, उनी पाकिस्तानसँगको खेलमा चल्न सकेनन् । पूर्वकप्तान विराट कोहली पनि ५० ओभरको फम्र्याटमा राम्रा ब्याट्सम्यान मानिन्छन् । रोहित र विराट कमजोर प्रतिद्वन्द्वी पाउँदा ठूलो इनिङ्स खेल्न सक्छन् । भारतको बलियो पक्ष नै ब्याटिङ हो । 

नेपाली खेलाडीको विश्लेषण गर्दा लेग स्पिनर सन्दीप लामिछानेले मात्र विश्वस्तरीय खेलाडीसँग टी–२० फ्रेन्चाइज प्रतिस्पर्धा गरेको अनुभव छ । सन्दीपले इन्डियन प्रिमियर लिग (आइपिएल)मा विराटविरुद्ध बलिङ गरेको अनुभव बटुलेका छन् । नेपाली खेलाडीले पछिल्लो समय एसिसी इमर्जिङ टिम्समा भारतको ‘ए’ टोलीविरुद्ध प्रतिस्पर्धा गरेका थिए । भारतको ‘ए’ टोलीमा अधिकांश खेलाडी आइपिएलकै थिए ।

नेपालका सिमर सोमपाल कामी र करण केसीले भारतीय ओपनरलाई मुस्किलमा पार्न सक्छन् । क्यान्डीको पिचमा बलरलाई सहयोग गर्छ । स्पिनरभन्दा फास्ट बलरले सुरुवाती क्रममा विकेट लिन सक्ने सम्भावना छ । भारतका स्पिनर कुलदीप यादव र नेपालका ललित राजवंशीले इनिङ्सको मध्यक्रममा सम्हाल्न सक्छन् । कुलदीपले पछिल्ला ११ इनिङ्समा २२ विकेट लिएका छन् । राजवंशीले पाकिस्तानविरुद्ध ३२ बल डट फ्याँकेका थिए । 

 नेपाल र भारतबीचको खेल वर्षाले बिथोल्न सक्ने
नेपाल र भारतले समूह ‘ए’ मा गर या मरको स्थितिमा प्रतिस्पर्धा गर्दै छन् । यस खेलको विजेता सुपर फोरमा पुग्नेछ । हारले सीधै प्रतियोगिताबाट एक टोली बाहिरिनेछ । नेपाल र भारतबीचको खेल पनि वर्षाले बिथोल्ने सम्भावना छ । श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार बिहान ६० प्रतिशत वर्षाको सम्भावना रहेको छ । वर्षाले प्रभावित नहँुदा टस नेपाली समयअनुसार २ः४५ बजे हुनेछ । श्रीलंकाली मौसम विभागका अनुसार टस हुने समयमा पालेकेलमा २२ प्रतिशत वर्षाको सम्भावना छ । साँझ ६ बजेसम्म निरन्तर वर्षा हुने सम्भावना छ ।

पहिलो इनिङ्समा वर्षाले प्रभाव नपारे दोस्रो इनिङ्सको ब्याटिङ क्रममा ६६ प्रतिशत वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ । यसकारण दोस्रो इनिङ्सको खेल सम्भवतः पूरै वर्षाका कारण बिथोलिन सक्छ । वर्षाका कारण खेल रद्द भए समूह ‘ए’बाट भारत ‘सुपर फोर’ चरणमा पुग्ने दोस्रो राष्ट्र बन्नेछ । नेपालले एक अंकका साथ प्रतियोगितामा आफ्नो यात्रा समाप्त गर्नेछ । 

यसै मैदानमा शनिबार पाकिस्तान र भारतबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो । पाकिस्तानले भारतलाई ४८.५ ओभरमा दुई सय ६६ रनमा अलआउट गरेको थियो । पाकिस्तानले दोस्रो इनिङ्समा एक बल पनि ब्याटिङ गर्न पाएन । अम्पायरले भारत र पाकिस्तानलाई समान एक अंक प्रदान गरे । 

 

ad
ad