
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले गाईभैँसीमा महामारीका रूपमा देखिएको लम्पी स्किन रोग नियन्त्रणमा आएको बताएका छन्।
सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले गाईवस्तुमा ठूलो संक्रमणका रूपमा देखिएको लम्पी स्किन पछिल्ला दिनमा घट्ने क्रममा रहेको बताए।
सरकारले लम्पी स्किन रोगको उपचार र रोकथामका लागि सम्भव भएसम्मका सम्पूर्ण प्रयास गरेको जनाउँदै मन्त्री भुसालले रोग नियन्त्रणका लागि जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरी लगाउने व्यवस्था गरिएको जानकारी दिए।
उनका अनुसार अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएकामा नौ लाख १९ हजार चार सय १६ पशुलाई लगाई सकिएको छ।
पत्रकार सम्मेलनमा उपचारपछि निको हुने संख्या बढ्दै गएको र बिरामी भएका १५ लाख १९ हजार सात सय ७९ मध्ये १३ लाख ९३ हजार पाँच सय ९५ निको भएको तथ्यांक प्रस्तुत गरियो। मन्त्रालयका अनुसार अहिले मुलुकका विभिन्न जिल्लामा अझै ७३ हजार ६ सय ३६ पशु बिरामी अवस्थामा रहेका छन्।
महामारीका रूपमा रहेको लम्पी स्किनबाट ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भइसकेको छ। उक्त रोगबाट पशुको मृत्यु भएर क्षति व्यहोर्न परेका किसानलाई राहत उपलब्ध गराउन मापदण्ड तयार गरी सहमतिका लागि अर्थ र गृह मन्त्रालयमा पठाइएकामा अब छिट्टै निर्णय हुने मन्त्री भुसालले बताए।