१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १७ आइतबार
  • Monday, 24 June, 2024
२o८o भदौ १७ आइतबार ११:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
फिचर प्रिन्ट संस्करण

जैविक विविधताले भरिपूर्ण तिम्बुङ पोखरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १७ आइतबार ११:५९:oo

पछिल्ला केही वर्षयता तीर्थाटन तथा प्राकृतिक दृश्यावलोकनका लागि तिम्बुङ पोखरी पुग्नेहरूको संख्या बढ्दो छ । ताप्लेजुङ र पाँचथरको सिमानामा पर्ने तिम्बुङ पोखरी क्षेत्रमा छिमेकी भारतबाट ठूलो संख्यामा पर्यटक तथा तीर्थयात्री आउने गरेका छन् । 

लिम्बू भाषाको तिम्बकबाट अपभ्रंश भएर तिम्बुङ नाम रहन पुगेको यो पोखरी विशाल छ । तिम्बकको अर्थ ‘बन्दुक पड्केको’ भन्ने हुन्छ । ४ सय ६६ मिटर लम्बाइ र एक सय ५४ मिटर चौडाइको तिम्बुङ पोखरी नेपाल–भारत सिमानादेखि एक किलोमिटरभित्र नेपालतर्फ रहेको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा पोखरीबाट नजिकै देखिन्छ ।

पोखरीको भ्रमण वा तीर्थमा जानेहरू हिमालको दृश्यावलोकन गरेर आनन्द लिन्छन् । वर्षको ६ महिना हिउँले ढाक्ने भएकाले हिउँदयाममा यहाँ जान गाह्रो हुन्छ । त्यसैले गर्मी तथा वर्षाको समय अधिकांश मानिस यहाँ आउँछन् । नागपञ्चमी तथा जनैपूर्णिमामा यहाँ ठूलो संख्यामा तीर्थयात्री पुग्छन् । पोखरीमा पूजा र भाकल पूरा गर्दा मनोकांक्षा पूरा हुनुका साथै सुख, शान्ति र समृद्धि मिल्ने जनविश्वास छ ।

तिम्बुङ पोखरीलाई पर्यटकीयस्थलको रूपमा विकसित गर्न सिदिङ्वा गाउँपालिका तल्लीन भएर लागेको गाउँपालिकाका निमित्त कार्यालय प्रमुख रुद्र बेगा (लिम्बू) ले बताए । गाउँपालिकाले यहाँ झन्डै ६ किलोमिटर फुटट्रयाक बनाएको उनले बताए । गत वर्ष पोखरी जाने बाटोको नुनथला भन्ने ठाउँमा ६० लाखको लगानीमा ६० जनासम्म बस्न सक्ने होमस्टे निर्माण गरिएको उनले बताए । 

अहिले पनि ४० लाखको लगानीमा सोही पोखरीको बाटोमा रहेको घन्टे भन्ने ठाउँमा ४० लाखको लगानीमा होमस्टे बन्दै गरेको उनले बताए । घन्टेबाट पोखरी पुग्न करिब ३ घन्टा हिँड्नुपर्छ । 

जडीबुटीको भण्डार 

जैविक विधिताले यो क्षेत्र सम्पन्न छ । मौसमको लुकामारीमा भुल्न र खेल्न पाइने भएकाले यात्रा रमाइलो हुन्छ । यस क्षेत्रमा कुट्की, पदमचाल, जटामसी, पाँचऔँले, यार्सागुम्बाजस्ता बहुमूल्य जडीबुटी पाइन्छ । यस क्षेत्रलाई सुनपाती, भैरुङपाती, सिक्पाजस्ता सुगन्धित बास्नादार धुपको खानी नै मानिन्छ । त्यस्तै, यात्राका क्रममा लरेवा, चिलिमे, डाँफे, मुनाल, झारल, घोरल, भालु, हिउँचितुवा, कस्तुरी, मृग, रेडपान्डा, नाउरजस्ता वन्यजन्तु देख्न पाइन्छन् ।

तिम्बुङ पोखरी पुग्दासम्म यहाँ अन्य पोखरी नै पोखरी रहेका छन् भने ठाडा खोला, छङछङ बग्ने साना–ठूला झरना पनि बाटोमा छन् । ढङढङे झरना यहाँको पहिचानको रूपमा रहेको छ । 

विश्वप्रसिद्ध वनस्पतिविज्ञ जेडी हु कर डग्लस फ्रेसफिल्डलगायत विभिन्न क्षेत्रका विज्ञ तथा अनुसन्धानकर्ता पनि यहाँ पुगेको सुरुमखिम घर भएका पूर्वमन्त्री मणि लामा बताउँछन् । धार्मिक आस्था मात्र नभएर प्राकृतिक सौन्दर्य तथा वन्यजन्तु र जडीबुटीहरूको अध्ययन गर्नेहरूका लागि तिम्बुङ पोखरी संग्रहालयकै रूपमा रहेको देखिन्छ ।

कताबाट पुगिन्छ तिम्बुङ पोखरी ?
तिम्बुङ पोखरी जाने विभिन्न मार्ग रहेका छन् । तराईबाट आउनेले मेची राजमार्गको प्रयोग गर्नुपर्छ । बिर्तामोड–चारआली–इलाम–पाँचथर हुँदै फिदिमको गणेश चोक पुगेपछि पूर्वतर्फ लाग्नुपर्छ । थर्पु हुँदै च्याङथापु पुगेपछि ताप्लेजुङ तरेर सिदिङवा गाउँपालिकाको वासुदेव, कालिखोला, इवानागीबाट तिम्बुङ पोखरी पुग्न सकिन्छ । 

ताप्लेजुङबाट भने सिरिजंघा गाउँपालिकाको खेवाङबाट सिदिङवाको सुरुमखिम तरेर तावानागी, सिवानागी हुँदै पुग्न सकिन्छ । भारततर्फबाट पनि भारतीय पर्यटक सीधै आउने गरेका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट सुकेटार विमानस्थल हुँदै गाडीको बाटो सिकैचा तेल्लोक, सुरुम्खिम हुँदै किलिखोला पुगिन्छ, त्यसपछि पैदलबाट पोखरी पुगिन्छ । सामान्यतया सबैभन्दा धेरैले यात्रा गर्ने पाँचथर च्याङथापुबाट चार दिनमा तिम्बुङ पोखरी पुगेर पुनः च्याङथापु सहजै आइपुगिन्छ । यहाँबाट झापाको बिर्तामोड एक दिनमा गाडीमा पुगिन्छ ।

ad
ad
ad
ad