१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
सागर भण्डारी, विकास भट्ट, जीवन गौतम (प्रशिक्षक) र विशालसिंह विष्ट क्रमशः बायाँबाट । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार o६:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एकै वडाका तीन खेलाडी एकसाथ भारोत्तोलन विश्व च्याम्पियनसिपमा

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:o४:oo

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका विकास भट्ट, विशाल सिंह विष्ट र सागर भण्डारी साउदी अरेबियाको राजधानी रियादमा सोमबारदेखि सुरु हुने विश्व भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै, उनीहरूका प्रशिक्षक जीवन गौतम पनि भीमदत्तकै

सागर भण्डारी, विकास भट्ट, जीवन गौतम (प्रशिक्षक) र विशालसिंह विष्ट क्रमशः बायाँबाट । विकास कञ्चनपुरबाटै घरेलु प्रतियोगिता खेल्छन् । सागर र विशाल विभागीय टोली नेपाल पुलिसबाट खेल्छन् । ‘तीनैजना एकै वडाबाट सहभागी हुँदै छौँ । एक–अर्कालाई बुझ्ने, भाषा सहज हुने र खानपिन पनि एकै हुँदा प्रशिक्षणमा निकै सहज भएको छ,’ १३औँ दक्षिण एसियाली खेलकुद(साग)मा नेपाललाई रजत पदक जिताएका विशालले भने । 

सोमबारदेखि साउदी अरेबियाको राजधानी रियादमा विश्व भारोत्तोलन च्याम्पियनसिप सुरु हुँदै छ । भारोत्तोलनको विश्व च्याम्पियनसिपमा नेपाल १६ वर्षपछि सहभागी हुँदै छ । नेपालका लागि संयोग यो छ कि प्रतिस्पर्धामा जाने सबै पुरुष खेलाडी एउटै वडाका छन् । अर्को संयोग प्रशिक्षक पनि उनीहरूकै पालिकाका हुन् । 

पुरुषतर्फ सहभागी विकास भट्ट, विशाल सिंह विष्ट र सागर भण्डारी कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका हुन् । प्रशिक्षक जीवन गौतम भीमदत्त–३ का हुन् । दुई महिला खेलाडीमा शारदा चौधरी कैलाली र टीकामाया गुरुङ पोखराकी हुन् । 

टोलीमा सबैभन्दा कम उमेरका खेलाडी हुन् विकास । उनी २१ वर्षका छन् । उनले ८१ केजीमा चुनौती दिनेछन् । २२ वर्षीय सागर भण्डारीले १०९ र २३ वर्षीय विशालले ९६ केजीमा प्रतिस्पर्धा गर्नेछन् । विकास कञ्चनपुरबाटै घरेलु प्रतियोगितामा सहभागी हुँदै आएका छन् । विकास १३औँ दक्षिण एसियाली केलकुद (साग)का स्वर्णपदक विजेता विकास थापालाई पराजित गर्दै रियादका लागि छनोट भएका हुन् । प्रशिक्षक गौतम भारोत्तोलनमा विकासको सम्भावना धेरै रहेको बताउँछन् । ‘विकास बल्ल २१ वर्षका भए । उनले मिहिनेत गरे आगामी दिनमा नेपालका लागि निकै राम्रो गर्न सक्छन्,’ गौतमले भने । 

सागर र विशाल विभागीय टोली नेपाल पुलिसबाट खेल्छन् । विशालले १३औँ सागमा नेपाललाई रजत पदक जिताएका थिए । १७ वर्षको उमेरदेखि भारोत्तोलन खेल्दै आएका उनी रियादमा पनि देशका लागि पदक उचाल्ने योजनामा छन् । ‘पदक ल्याउन निकै गाह्रो छ । तर, हामी विगत दुई महिनादेखि गरेको मिहिनेतले पदक प्राप्त गर्न प्रयास गर्छाैं,’ विशालले भने । प्रशिक्षकसहित तीन खेलाडी एकै पालिकाको हुँदा प्रशिक्षणमा निकै सहज भएको उनले सुनाए । ‘तीनैजना एकै वडाबाट सहभागी हुँदै छौँ । टोलीमा एक–अर्कालाई बुझ्ने, भाषा सहज हुने र खानपिन पनि एकै हुँदा प्रशिक्षणमा निकै सहज भएको छ,’ विशालले भने । 

सागरले पनि १३औँ सागमा रजत पदक जितेका थिए । १०९ केजी तौलमा प्रतिस्पर्धा गर्न लागेका उनले पनि तयारी राम्रो भएको बताए । ‘हामीले आफ्नो तर्फबाट सकेको प्रयास गर्छाैं । चाहना त पदक जिताउने नै हो । तर, प्रतिस्पर्धामा के हुन्छ भन्न सकिँदैन । आफ्नो शतप्रतिशत क्षमता प्रस्तुत गर्छौं,’ उनले भने । 

प्रशिक्षक गौतम खेलाडीद्वय टीका र शारदासहित सोमबार (४ सेप्टेम्बर)मा रियाद प्रस्थान गर्नेछन् । उनीहरू दुवैको खेल ५ सेप्टेम्बरमा छ । त्यस्तै, विकास र विशाल ८ सेप्टेम्बरमा जानेछन् । उनीहरूको खेलतालिका क्रमशः १० र १२ सेप्टेम्बरका लागि छ । सागरको खेल प्रतियोगिताको अन्तिम दिन १७ सेप्टेम्बरमा छ । उनी विशालको खेल हेर्न भ्याउने गरी रियाद जाने तयारीमा छन् । यी पाँचै खेलाडीले रियादको विश्व च्याम्पियनसँगै चीनमा हुने १९औँ एसियाली खेलकुदमा पनि नेपालको झन्डा फहराउनेछन् । 

पूर्वाधार र उपकरण अभावले प्रशिक्षणमै चुनौती, रियादमा पदकभन्दा सुधारको आशा
जीवन गौतम काठमाडौं र महेन्द्रनगरमै रहेर भारोत्तोलोनका जुनियर तथा सिनियर खेलाडीलाई प्रशिक्षण गराउँदै आएका राखेपका मुख्य प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा दक्षिण एसियाली खेलकुदमा नेपालले तीन कास्यपदक हात पार्‍यो । तर, उनी प्रशिक्षण पर्याप्त हुन नसकेको अनुभव सुनाउँछन् । 

‘हामीले खेलाडीलाई जसरी अभ्यास गराउनुपर्ने हो, त्यो भएको छैन । प्रशिक्षणको आवश्यक उपकरण नै छैनन् । काठमाडौंमा केही छन्, तर महेन्द्रनगरमा निकै नाजुक अवस्था छ,’ उनले भने । खेलाडी विकास पनि अन्य खेलका खेलाडीलाई जस्तो आफूहरूलाई प्रशिक्षण हल र उपकरणको सुविधा नभएको बताउँछन् । ‘कराँते, बक्सिङ, तेक्वान्दोलगायतको प्रशिक्षण हल र आवश्यक उपकरण राम्रो छ । हाम्रोमा सामान्य उपकरण पनि नहुँदा प्रशिक्षण प्रभावित हुन्छ । अभ्यास सोचेजस्तो हुन पाएको छैन,’ उनले भने । 

नेपाली भारोत्तोलनको इतिहास निकै लामो छ । तर, भारोत्तोलनले ओलम्पिकमा त के एसियाडमा समेत पदक जितेको छैन । दुवैमा सहभागिता नै ठूलो कुरा हो । अहिलेसम्म दक्षिण एसियाली खेलुकदमा मात्रै पदक प्राप्त गरेको छ । रियादमा हुने विश्व च्याम्पियनसिपमा पनि नेपाली टोलीले पदकको आशा गरेको छैन । व्यक्तिगत सुधार नै मुख्य लक्ष्य रहेको प्रशिक्षक गौतम बताउँछन् । ‘दुई महिनाको मात्रै तयारी भएको छ । यतिलाई राम्रै मान्न सकिन्छ । तर, पदकको आशा गर्नुहुन्न । रेकर्ड ब्रेकमै ध्यान दिन्छौँ । खेलाडीले रेकर्ड ब्रेक गर्नेमा पक्का छु,’ प्रशिक्षक गौतम भन्छन् । 

३८ वर्षपछि नेपाललाई पदक जिताएका हेमन्त पनि भीमदत्तकै 
नेपाललाई ३८ वर्षपछि एसियन युथ एन्ड जुनियर भारोत्तोलनमा कास्यपदक जिताएका हेमन्त पाल पनि भीमदत्त नगरपालिकाकै हुन् । यसैले पनि अहिले भिमदत्त नगरपालिकालाई भारोत्तोलनको उर्वरभूमि मान्न थालिएको छ । ‘हेमन्तसँगै अझै ६–७ खेलाडी दैनिक अभ्यासमा छन् । उनीहरूले राम्रो गरिरहेका छन् । चाँडै राष्ट्रियस्तरमा देख्न पाउँछौँ,’ प्रशिक्षक गौतम भन्छन् । 

२८ जुलाईदेखि ५ अगस्टसम्म भारतमा भएको प्रतियोगितामा हेमन्तले तीन कास्यपदक जिताएका थिए । पुरुष ७३ केजीमा हेमन्तले स्न्याकमा ९७ केजी, क्लिन एन्ड जर्कमा ११० केजी गरी जम्मा २०७ केजी भारवहन गर्दै तीन कास्य पदक जितेका हुन् । 
 

ad
ad