१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १६ शनिबार
  • Sunday, 11 May, 2025
२o८o भदौ १६ शनिबार १३:५७:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

संकटमा गिद्धको वासस्थान

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १६ शनिबार १३:५७:oo

वासस्थानको अभावमा प्रकृतिको कुचिकार मानिने गिद्ध संकटमा पर्दै गएको छ। पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आसपासमा रहेका गिद्धका प्रमुख वासस्थान संकटमा पर्दै गएका छन्।

पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहोर विसर्जनस्थल परिवर्तन गरिएपछि थप चुनौती बढेको छ। पोखरा उपत्यकामा बढ्दो बस्ती विकासको क्रमसँगै विगत दुई दशकयता गिद्धका प्रजाति लोप हुँदै गएका छन्। गिद्धको वासस्थान विशेषतः अग्लो सिमलको रुख नै हो। सिमलका रुखमा उनीहरू बस्ने र गुँड लगाउने गर्दछन्। पोखरा आसपासका क्षेत्रमा बस्तीको विकाससँगै यहाँ रहेका सिमलका रुख काटिने क्रमसँगै उनीहरूको वासस्थान संकटमा परेको छ ।

पोखरा उपात्यकाका चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायत  स्थानमा करिब १५-१६ वर्षअघिसम्म ठूलै संख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा लोप भइसकेका छन् । सिमलका रुख काटिनुका साथै बढ्दो बस्ती र यातायातका साधन एव‌ं उद्योगबाट निस्कने धुलो धुँवाका कारण गिद्ध संकटमा परेका छन्। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै छिनेडाँडास्थित फोहर विसर्जन केन्द्रलाई पोखरा– ३२ लामेआहालमा सारिएपछि गिद्ध पुनः संकटमा परेका छन्। फोहोर विसर्जन केन्द्र सारिए पनि त्यहाँबाट गिद्ध पूर्ण रूपमा वासस्थान छाडेर गई नसकेको पोखरा पक्षी समाजका सचिव हेमन्त ढकालले जानकारी दिए। १५औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा पोखरा र तनहुँका विभिन्न आठ ठाउँमा गरिएको गिद्ध गणनाका क्रममा पुरानो ल्यान्डफिल साइटमा ४०–५० वटा गिद्ध फेला परेका ढकालले बताए।

नेपालमा गरिएका विभिन्न अध्ययनले विगत दुई दशकमा गिद्धको संख्या घट्दै गएको देखाएको छ। वासस्थान संकटमा पर्दै जानुका साथै गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध संकटापन्न अवस्थामा पुगेका हुन्। पछिल्लो समयमा गाईवस्तु पाल्ने क्रम पनि अत्यधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्ने क्रम पनि कम हुँदै जाँदा पनि उनीहरूको आहारामा समेत समस्या आएको देखिन्छ। डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई केही दिनमा नै गिद्ध मर्ने गरेको अध्ययनले देखाएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन्।

औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ। विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एसियामा नौ प्रजातिका गिद्ध पाइन्छन्। दक्षिण एसियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै प्रजाति पोखरामा पाइने घिमिरेले जानकारी दिए।

सिनो खाएर हैजा, रेबिजजस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई प्रकृतिको कुचिकार भएका कारण यसको संरक्षणमा जागरुकता आवश्यक रहेको देखिएको छ। गिद्ध संरक्षणको उद्देश्यका साथ शुद्ध आहाराका लागि कास्कीको घाचोकमा केही वर्षयता जटायु रेस्टुरेन्ट सञ्चालनमा आए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन। घिमिरेका अनुसार नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डंगर, सुन, सानो खैरो, हिमाली, हाडफोेर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन् । 

त्यस्तै, हिउँदको समयमा लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मंगोलियाबाट आउँछन्। त्यस्तै, राज गिद्ध पाकिस्तान र किर्गिस्तानबाट आउने गरेका छन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा पाइने हिमाली गिद्धको संख्या १० हजार तथा डंगोर र सेता गिद्धको संख्या दुई हजार रहेको छ। त्यस्तै, नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध करिब पाँच-पाँच सयको संख्यामा रहेको बताइएको छ। नेपालमा पाइने सानो खैरो गिद्धको संख्या भने ५० देखि ७५ को हाराहारी मात्रै छ।

पोखरा पक्षी समाजले विगत १० वर्षयता प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ। समाजले पोखराका पाँच ठाउँ घाचोक, पुम्दीभुम्दी, पुरानो एवं नयाँ ल्यान्डफिल साइट र दोभिल्लामा यस वर्ष पनि गिद्ध गणना गरेको अध्यक्ष घिमिरेले जानकारी दिए। रासस