Skip This
तातोपानी नाका सर्वसाधारणका लागि खुला [तस्बिरसहित] 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १५ शुक्रबार
  • Saturday, 27 July, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८o भदौ १५ शुक्रबार ११:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तातोपानी नाका सर्वसाधारणका लागि खुला [तस्बिरसहित] 

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८o भदौ १५ शुक्रबार ११:४o:oo

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पले बन्द तातोपानी नाका आठ वर्ष पाँच महिनापछि सर्वसाधारणका लागि खुला भएको छ। सीमा क्षेत्र भोटेकोसीका स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत उद्घाटन गरिएको हो।

चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले निलो रंगको पास जारी गरेको छ। उक्त पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकवासीका लागि मात्रै हो। 

उद्घाटनमा दुई सय २७ नेपाली  चिनियाँ क्षेत्र प्रवेश गरेका छन्। लामो समयपछि चिनियाँ क्षेत्र प्रवेश गर्न पाएपछि खुसी व्यक्त गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्षसमेत रहेका स्थानीय दोर्जे लामाले नाकाबाट मानिस आवतजावत  गर्नु सीमावासीका लागि ऐतिहासिक क्षण भएको बताए। 

खासा व्यापारमा मात्रै निर्भर सीमावासीलाई चिनियाँ क्षेत्र लिपिङपारि १५, रमिते र खासामा पाँच पसल सञ्चालन गरिएको छ। स्थानीयले सो पसलमा गएर कपडा र घरायसी सामान किन्न पाउँछन्। ‘हामी स्थानीयको माग पूरा गरेकोमा चीन सरकारलाई धन्यवाद दिन्छौँ,’ कांग्रेसका जिल्ला उपसभापति पनि रहेका लामाले भने। 

भर्खर सुरु भएको छ। त्यसैले कम मानिसलाई प्रवेश अनुमति दिएको अध्यागमन कार्यालयले जनाएको छ। ‘खासाको छिट्टै सम्पन्न हुने पुनर्निर्माणपछि नेपाली पर्यटक लिपिङबाट सीधै न्यालम जान पाउने व्यवस्था गरिनेछ,’ अध्यागमन कार्यालयका प्रमुख  रवीन्द्र पोखरेलले भने। सीमाबाट ३० किलोमिटर दूरीमा हिमाली बजार न्यालम छ।

यसअघि १५ जेठ ०७६ मा आयात र गएको वैशाख १८ बाट निर्यात खुला भएको थियो। नेपाल-चीनका अधिकारीबीच नाका सञ्चालनका लागि ल्हासा, काठमाडौं र सिमाना लिपिङमा चरणबद्ध बैठक भएका थिए। भूकम्प र बाढीपहिरोले  सीमा पुग्ने कोदारी राजमार्ग जीर्ण छ। 

कोरोना महामारीले लगभग तीन वर्ष आयात पनि अनियमित बनेको थियो। सरोकारवाला सबैले तातोपानीबाट तिब्बतको कैलाश मानसरोवर जान पनि नेपाल सरकारमार्फत चीन सरकारसँग कूटनीतिक संवाद जारी राखेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  असोज पहिलो सातामा गर्ने चीन भ्रमणमा यसबारे कुरा हुने विश्वास गरिएको छ।