Skip This
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि डायलाइसिस सेवा विस्तार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १४ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o भदौ १४ बिहीबार १६:५७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि डायलाइसिस सेवा विस्तार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १४ बिहीबार १६:५७:oo

पश्चिम नेपालकै ठूलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि अब डायलाइसिस सेवा सुरु भएको छ। 

कर्णाली प्रदेशसहित सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको प्रतिष्ठानमा महत्वपूर्ण स्वास्थ्य सेवा डायलाइसिस सुरु भएको हो। 

मिर्गौला रोगीलाई केन्द्रित गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार औपचारिक रूपमा उद्घाटन गरेपछि डायलाइसिस सेवा सुरु गरिएको हो।

पछिल्लो समय अस्वस्थ खानपानले मिर्गौला रोगी बढ्दै गएको स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले बताए। उनले नागरिकले खानपानमा पनि ध्यान दिनुपर्ने वेला भएको बताए। 

अब यो क्षेत्रका मिर्गौला रोगका बिरामीले डायलाइसिस सेवा पाउने भएका छन्। जसका कारणले यहाँका नागरिकलाई सहज हुने भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई थप उचाइमा पुर्‍याउन नयाँ अत्याधुनिक सेवा थप गर्दै गरेको उपकुलपति डा. मंगल रावलले बताए।

उनले भने, ‘डायलाइसिस सेवा सञ्चालन गरेका छौँ। यसपछि आँखा उपचार सेवा पनि विस्तार गर्ने तयारी गरिएको छ। माथिल्लो कर्णालीमा स्वास्थ्य उपचार वृद्धि गर्नु भनेकै यहाँका नागरिकको आयु वृद्धि गर्नु हो।’  

प्रतिष्ठानका अस्पताल निर्देशक डा. पुजन रोकायाका अनुसार डायलाइसिसको मेसिन जडान गरेर औपचारिक रूपमा सेवा सञ्चालन भएको छ। 

उनले भने, ‘जब मिर्गौला रोगीहरूको मिर्गौलाले काम गर्दैन। शरीरका फोहोर चिजहरू फालिरहेको हुँदैन। उति नै वेला मिर्गौलाले गर्ने काम मेसिनले गरिरहेको हुन्छ । त्यही सेवा दिने हेतुले सुरु भएको डायलाइसिस सेवाले कर्णालीका मिर्गौला रोगीहरूका लागि निकै राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।’ 

उनले डायलाइसिस सेवा लिन मिर्गौला रोगीहरूलाई आह्वानसमेत गरेका छन्। ’मिर्गौलाका बिरामीहरू आउनुहोस्। हामी सेवा दिन तयार भइसकेका छौँ,’ उनले भने । 

डायलाइसिस सेवा प्रदान गर्न विशिष्टकृत सेवा पढेको जनशक्ति छैन। तर, कर्णाली प्रतिष्ठानको जनशक्तिको भरपूर प्रयोग गरेर सेवा दिइनेछ। जसका लागि एक नर्सिङ अफिसर र दुईजना स्टाफ नर्सलाई तालिम दिएर खटाइएको छ। उनीहरूले चिकित्सकहरूको निगरानीमा सेवा दिनेछन्।

यो सेवा अस्पतालले निःशुल्क रूपमा प्रदान गर्ने भए पनि आउजाउ गर्न र डेरा लिएर बस्नुपर्दा मिर्गौलाका रोगीहरू निकै महँगोमा सेवा लिइरहन बाध्य थिए।

‘यसअघि सुर्खेत, नेपालगन्ज र काठमाडौंका सुविधासम्पन्न अस्पतालसम्म पुगेर मिर्गौला रोगीहरूले डायलाइसिस सेवा लिइरहेका थिए। उनीहरूले अब घरपायक सेवा पाउने भए । यो खुसीको कुरा हो,’ निर्देशक रोकायाले भने।

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ वटा डायलाइसिस मेसिन दिइएको छ। जसमध्ये दुई मेसिन मात्र प्रयोगमा ल्याइएको छ। बिरामीको चापअनुसार मेसिनहरू जडान गरेर सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ।

हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सिटिस्क्यान, एक्स–रे, डायलाइसिस, हाडजोर्नी, नसारोग, बालरोग, स्त्रीरोग, नाक, कान, घाँटी र छाला रोगसम्बन्धी सेवा दिइरहेको छ।

माथिल्लो कर्णालीको जुम्लामा डायलाइसिस सेवाले मिर्गौला रोगीले अब काठमाडौं, सुर्खेत र नेपालगन्ज धाउनुपर्ने अवस्थाकाे अन्त्य भएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए।