
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले सरकारले चालेका सुशासनका कदमहरूमा साथ दिन सबै पक्षसँग आग्रह गरेका छन्।
सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले चालेका कदम सही भएकाले सबैले साथ दिनुपर्ने उनको भनाइ थियो।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपमहासचिव पुनले सुशासनको पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिँदै आएको पछिल्लो अभिव्यक्तिको प्रशंसासमेत गरे।
उनले राज्यशक्तिको दुरुपयोग हुन नदिने गरी सरकारले सुशासनको पक्षमा चालेको कदमहरूलाई अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याए।
उपमहासचिव पुनले कुनै पनि खालको पूर्वाग्रह साँधेर सरकारले राज्यसत्ताको दुरुपयोग गरे त्यसले कसैलाई पनि फाइदा नगर्ने बताए।