
नेपाली कांग्रेसले संस्थापक नेता बिपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्ने भएको छ।
कांग्रेसले बिपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसर पारेर भदाै २४ गते बिपी साहित्य महोत्सव गर्न लागेको हो। कांग्रेस केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा भदाै २४, २५ र २६ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा हुन गइरहेको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।
महोत्सवमा सम्भाषणसहित मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबार्ल्टन, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी, बिपीका आख्यानमा मधेस, बिपीका दृष्टिमा बिपी, बिपीले नपाएका १५ वर्ष शीर्षकमा सत्रअन्तर्गत चल्नेछन्।
त्यस्तै, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी, समावेशिता, सामाजिक रूपान्तरण र बिपी, युवा पुस्तामा बिपी पठन र परिवारले बुझेका बिपी शीर्षकमा समेत सत्रहरू चल्ने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए।
महोत्सवमा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनीसमेत हुनेछ।