१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ११ सोमबार
  • Sunday, 11 May, 2025
२o८o भदौ ११ सोमबार १३:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्थरीको शल्यक्रिया गर्दा मिर्गाैला झिकेपछि बिरामीको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ११ सोमबार १३:२७:oo

धनगढीको स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालमा पत्थरीको शल्यक्रिया गरेका बिरामीको मृत्यु भएको छ। 

कञ्चनपुरको बेलौरी नगरपालिका– १०, शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो। मिर्गौलामा रहेको पत्थरी निकाल्न शल्यक्रिया गर्दा त्रुटि भएपछि रक्तस्राव भएर बिरामीको मृत्यु भएको आफन्तले बताएका छन्।

पत्थरीको शल्यक्रियाका लागि शनिबार बिहान उनलाई अस्पताल भर्ना गरिएको थियो। आफन्तका अनुसार उनको दुवै मिर्गौलामा पत्थरी थियो। बायाँ मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्न शनिबार दिउँसो डेढ बजे उनलाई शल्यक्रिया कक्षमा लगिएको थियो। दूरबिनबाट शल्यक्रिया गरेर पत्थरी झिकिएको थियो।

‘साढे दुई बजेतिर डाक्टरले अप्रेसन सफल भयो भने। हामीलाई पत्थरी पनि देखाए। केहीबेरपछि हामी भेट्न गयौँ, बुबाले हामीसँग कुरा पनि गर्नुभयो,’ मृतकका छोरा बुद्धिरामले भने, ‘तर, पछि स्वास्थ्यमा समस्या देखियो। पेट दुख्यो भन्न थाल्नुभयो, पछि बोल्न सक्नुभएन।’

बुद्धिरामका अनुसार राति ८ बजेतिर बिरामीको अवस्था जटिल बनेको थियो। बिरामीको अवस्था जटिल बन्दै गएपछि डाक्टरलाई खबर गरेको र डाक्टरले चेक गर्दा मिर्गौलाको नसा काटिएकाले रक्तस्राव भएको जानकारी गराएको बुद्धिरामले बताए।

‘डाक्टरले बिरामीको ज्यान जोगाउन पुनः शल्यक्रिया गरेर मिर्गौला झिक्नुपर्छ भने। ज्यान जोगिन्छ भने मिर्गौला झिक्न सहमत भयौँ,’ बुद्धिरामले भने, ‘राति मिर्गौला झिकियो, तर बिरामीको अवस्था सामान्य बनेन।’

मिर्गौला झिकिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। आइतबार बिहान अस्पतालले बिरामीको स्वास्थ्य जटिल बनेको खबर गरेको मृतकका भाइ विष्णुप्रसादले बताए। चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको उनले बताए।

‘आफैँ हिँडेर अस्पताल आउनुभएको थियो। गोरुका लागि मेसिनमा घाँस दलेर अस्पताल हिँड्नुभएको हो,’ मृतककी छोरी सुस्मिताले भनिन्, ‘अस्पतालको लापरबाहीले ज्यान गयो।’ 

अस्पतालका अध्यक्ष महेश जोशीले शल्यक्रियाका क्रममा रक्तस्राव भएपछि बिरामीको मिर्गौला झिकिएको बताए। रक्तस्रावका कारण बिरामीको मृत्यु भएको उनले बताए। ‘किड्नी निकालिएपछि बिरामीको अवस्था सामान्य हुनुपर्ने हो, तर भएन,’ उनले भने, ‘आज बिहान बिरामीको मृत्यु भयो।’ 

अस्पतालका अनुसार डा. जोसेफ तिवारीको टोलीले पत्थरीको शल्यक्रिया गरेको थियो। मृतकका आफन्तले क्षतिपूर्ति र उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गरेका छन्।