मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ १० आइतबार
  • Friday, 14 August, 2026
२o८o भदौ १० आइतबार १६:oo:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

स्याङ्तानले चितवनमा सुनाए कविता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १० आइतबार १६:oo:oo

कवि राजु स्याङ्तानले चितवनको नारायणी कला मन्दिरमा कविता सुनाएका छन्। कवितासंग्रह ‘ओ पेङ्दोर्जे’ सार्वजनिक भएपछि कवि एवं पत्रकार स्याङ्तान कविता भ्रमण (पोएट्री टुर)मा छन् । सोही क्रममा शनिबार साँझ नारायणी कला मन्दिर नारायणगढमा उनले संगीतसहितको कविता सुनाएका हुन्।

स्याङ्तानले ‘ओ पेङ्दोर्जे’मा समावेश एक दर्जनभन्दा बढी कविता सुनाएका थिए। उनलाई संगीतमा सुशान्त श्रेष्ठले टुङ्ना र सारंगीमार्फत तथा सुजन लामाले बाँसुरीको धुनले साथ दिएका थिए। स्याङ्तानका कविता सुन्न चितवनका कवि, लेखकसहित युवा पुस्ताको बाक्लो उपस्थिति थियो।

उत्पीडित र दमित नेपाली जनताले देखेका सपना, रित्तो आश्वासनसहित आफूसँग कुनै समय सशस्त्र द्वन्द्वका वेलामा रहँदाका अनुभवलाई उनले कवितामा प्रस्तुत गरेका छन्।

कवितावाचन सकिएपछि कवि भूपिनले स्याङ्तानका कवितामाथि समीक्षात्मक टिप्पणी राख्दै वर्तमान युगका मुद्दा कविताका विषय रहेको बताएका थिए। कार्यक्रममा स्याङ्तानको ‘बिमा’ कवितामाथि अञ्जान प्रदीपले निर्देशन गरेर नाटकका रूपमा मञ्चन गरिएको थियो। र्‍यापर गोरे भाइले ‘आमा तिमी मलाई मातेको मन पर्छ’लाई र्‍याप शैलीमा गाएका थिए।

चितवनको यो कार्यक्रमलाई मन्थन, नारायणी कला मन्दिर र कर्मी चौतारीले संयुक्त रूपमा आयोजना गरेका हुन्। भरतपुर महानगरको प्रज्ञा प्रतिष्ठानले कार्यक्रमलाई प्रवर्द्धनात्मक सहयोग गरेको थियो। ‘पोएट्री टुर’अन्तर्गत स्याङ्तान १० गते बुटवल, १६ गते पोखरा र १३ गते सिराहामा पुग्दै छन्।

१५१ पृष्ठको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’मा ६ वटा फरक खण्डमा ५१ वटा कविता अटाएका छन्। यो पुस्तकलाई पब्लिकेसन नेपालयले एकसाथ छापा, इ–बुक र ‘अडियो बुक’का रूपमा सार्वजनिक गरेको छ। ‘अडियो बुक’मा कवि राजु र गायक तथा संगीतकार आभाषको धुन छ। यो कवितासंग्रह अनलाइनमाध्यम अमेजनबाट पनि किन्न सकिन्छ।