१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १८:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

प्रहरीलाई प्रविधिमैत्री बनाउने मुख्यमन्त्री जम्कट्टेलको घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:४५:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन प्रदेश सरकारले लगानी गर्ने बताएका छन्।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाढीस्थित ठूलो दमार प्रहरी चौकीको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उनले प्रहरी सेवालाई भौतिक रूपमा सम्पन्न बनाउने कार्यसँगै प्राविधिक रूपमा पनि सक्षम र सबल बनाउनुपर्ने बताए।

‘प्रहरीको सेवा प्रवाहलाई समयानुकूल सबल र सक्षम बनाउन प्रदेश सरकारले भौतिक निर्माणसँगै प्रविधिलाई पनि जोड दिएको छ । म आफैँ प्रदेशको कानुनमन्त्री रहँदा प्रदेशमा ४१ वटा प्रहरी चौकी निर्माणका लागि बजेट विनियोजन गरिएको थियो। अब प्रहरीलाई प्रविधिमैत्री बनाउन पनि प्रदेश सरकारले काम गर्छ,’ उनले भने।

मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशका विभिन्न जिल्लामा ४९ वटा प्रहरी चौकी निर्माण सम्पन्न गरेको जानकारी दिँदै जीर्ण अवस्थामा रहेका थप केही प्रहरी चौकी निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको जानकारी दिए। उनले अब बन्ने सबै भवनहरू प्रविधिमैत्री हुने पनि बताए।

हेटौँडा– १८ हर्नामाढीस्थित ठूलो दमार प्रहरी चौकीको नवनिर्मित भवनको निर्माणको लागि २ करोड ३५ लाख रुपैयाँ खर्च भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ। प्रहरी चौकी भवन करिब ५ कठ्ठा जमिनमा निर्माण गरिएको छ।

प्रदेश सरकारद्वारा ४९ वटा प्रहरी चौकी निर्माण
हेटौँडा–१८ हर्नामाढीस्थित ठूलो दमार प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएसँगै बागमती प्रदेश सरकारले प्रदेशका १० वटा जिल्लाका विभिन्न स्थानमा ४९ वटा प्रहरी चौकी भवन निर्माण सम्पन्न गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत प्रदेश सरकारले प्रहरीका लागि प्रदेश प्रहरी कार्यालय अन्तर्गत विभिन्न स्थानमा ४९ वटा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भवन निर्माण गरेको हो ।

मन्त्रालयले प्रदेश सरकार गठनपश्चात् पहिलो चरणमा एक अर्ब १० करोड ९९ लाख १२ हजार ९७७ हजार रुपैयाँ लगानीमा ४९ प्रहरी भवन निर्माण गरेको हो। प्रदेश सरकारले मकवानपुरमा आठ, चितवनमा पाँच, सिन्धुलीमा सात, रामेछापमा चार, दोलखामा चार, नुवाकोटमा तीन, काभ्रेमा आठ, धादिङमा तीन, रसुवामा चार, सिन्धुपाल्चोकमा तीनवटा भवन निर्माण गरेको छ।

४८ वटा प्रहरी चौकीको भवन उद्घाटन गरेर सञ्चालनमा आइसकेकोमा बुधबार हेटौँडा १८ मा रहेको प्रहरी चौकीको बुधबार मुख्यमन्त्री जम्कट्टेलले उद्घाटन गरेसँगै प्रदेश सरकारको आर्थिक लगानीबाट निर्माण भएका ४९ वटै प्रहरी चौकी भवन सञ्चालनमा आएका छन्।

यस्तै, प्रदेश सरकारमार्फत प्रदेशमा दोस्रो चरणमा थप १८ वटा भवन निर्माणाधीन अवस्थामा रहेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनले ५ वटा भवन निर्माण गर्न ठेक्काको प्रक्रियामा रहेको पनि बताए। दोस्रो चरणमा बन्ने १८ वटा प्रहरी चौकी भवनका लागि प्रदेश सरकारले ७३ करोड ५८ लाख पाँच हजार ९९२ रुपैयाँ बजेट विनियोजन गरेको मन्त्री श्रेष्ठले जानकारी दिए।

ad
ad