
कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना ‘तिम्रै लागि’ मुद्दती र बचत खाता सार्वजनिक गरेको छ । पारिवारिक सम्बन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरूमा उपहार दिने प्रचलन बढेको र यस्ता अवसरमा आर्थिक सहयोगको समेत आभास हुने गरी उपहारको नयाँ परम्परा सुरुवात गर्न बैंकले नयाँ निक्षेप योजना ल्याएको प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
न्यूनतम १० हजारमा खोल्न सकिने मुद्दती खातामा मासिक रूपमा ब्याज प्राप्त गर्न सकिनेछ । उक्त खाता खोल्दा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेबिट कार्ड निःशुल्क प्राप्त गर्न सकिनेछ ।
उक्त मुद्दती खातामा रहेको मौज्दातको ९० प्रतिशतसम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । उपहारको नयाँ परम्पराको सुरुवात गर्नका लागि ल्याइएको उक्त खातामा आवश्यकताअनुसार थप रकम जम्मा गर्दै जान सकिनेसमेत विशेषता रहेको छ ।