
धरानमा महामारीको रूपमा फैलिएको डेंगु नियन्त्रण तथा बिरामीको उपचारका लागि स्थानीय राजनीतिक दलहरूले प्रदेश सरकारलाई आग्रह गरेका छन् । विभिन्न दल सम्मिलित प्रतिनिधिमण्डलले शनिबार कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, स्वास्थ्यमन्त्री निर्मला तावा तथा प्रमुख प्रतिपक्षी दलका नेता हिक्मत कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्र बुझाउनेमा कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी छन् । ध्यानाकर्षण पत्रमा डेंगु नियन्त्रण तथा बिरामीको उपचारका लागि आवश्यक सामग्री तथा औषधि सहयोगका लागि माग गरिएको छ ।
धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन गर्न नसकेको भन्दै प्रदेश सरकारले तत्काल पहल गर्नुपर्ने कांग्रेस धरान उपमहानगर सभापति श्याम पोखरेलले बताए ।