
महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष ०८०/८१ को लेखापरीक्षणको तयारीसम्बन्धी कामको जानकारी गराएको छ।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ब्रिफिङ गरेका थिए।
कार्यालयले तीन चरणको कार्यतालिका बनाएर देशभरिका सरकारी कार्यालयको लेखापरीक्षण गर्ने जानकारी गराएको छ। लेखापरीक्षणका लागि उपसचिवस्तरको अडिटर र अधिकृतस्तरका लेखापरीक्षक खटिने कार्यालयले जनाएको छ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सुशासन, वित्तीय अनुशासन र पारदर्शितामा गम्भीर रूपमा लागेको बताउँदै राज्यका सबै अंगले जनताको विश्वास आर्जन गर्ने गरी काम गर्नुपर्ने बताए।
प्रधानमन्त्रीले यो वर्ष सुशासन र पारदर्शिताका दृष्टिले महत्वपूर्ण वर्ष बनाउन आग्रह गर्दै सोका लागि सरकारले खेल्नुपर्ने भूमिकाप्रति आफू संवेदनशील रहेकोसमेत दोहोर्याए।
‘हामी सामाजिक न्याय, सुशासन र समृद्धिको महान् अभियानमा छौँ। सुशासन, वित्तीय अनुशासन र पारदर्शिता त्यसका लागि महत्वपूर्ण सर्त हो। तर, आमजनतामा राज्य र राज्यका विभिन्न अंगप्रतिको विश्वास कमजोर भएको वेला छ,’ उनले भने, ‘इमानदारिता र पारदर्शिताको तह घटेर तल गएको छ। यो स्थितिलाई बदल्नैपर्छ। विश्वासनीयता कसरी कायम गर्ने, पारदर्शिता कसरी गराउने, सुशासन कसरी कायम गर्ने भन्नेबारे हामीले गम्भीर रूपमा सोच्नुपर्दछ।’