
जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताललाई गोकर्णेश्वर नगरपालिकाले सहयोगस्वरूप सभाहल निर्माण गरिदिएको छ । अस्पतालको २५औँ वार्षिकोत्सवका अवसरमा नगरपालिकाले सहयोगस्वरूप सभाहल निर्माण गरिदिएको हो ।
नवनिर्मित सभाहलको नगरपालिकाका प्रमुख दीपककुमार रिसालले उद्घाटन गरेका छन् । उक्त अवसरमा उनले नगर क्षेत्रभित्र रहेका स्वास्थ्य केन्द्रको स्तरोन्नति, क्षमता अभिवृद्धि गर्ने अभियान जारी रहने प्रतिबद्धता जनाए । उनले गोकर्णेश्वर नगरपालिकाका नागरिकको स्वास्थ्य बिमा निःशुल्क गरिएको जानकारी पनि दिए ।
नगरप्रमुख रिसालले सात सय ५३ स्थानीय निकायमध्ये गोकर्णेश्वर नगरपालिका सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थ्य बिमा लागू गर्ने पहिलो निकाय भएको बताए । उनले अस्पतालसँग सहकार्य गरी नागरिकलाई सुलभ र सहज रूपमा सेवा उपलब्ध गराउने बताए । कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा. कैलाशकुमार भण्डारीले नगरपालिकाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरताको अपेक्षा गरे ।
उनले अस्पतालले उपलब्ध गराएका सेवाबारे जानकारी गराउँदै नागरिकलाई अझ सहज र सुलभ सेवा उपलब्ध गराउने प्रयास भइरहेको जानकारी दिए । उक्त अवसरमा निःशुल्क साधारण बहिरंग सेवा (ओपिडी) सेवा, यसैगरी रक्तदान तथा अस्पतालमा उपचार गराइरहेका बिरामीलाई फलफूल वितरणसमेत गरिएको थियो ।