Skip This
बाढीले बर्दियामा ३६ घरधुरीका १७४ विस्थापित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३० मंगलबार
  • Saturday, 27 July, 2024
गुलरिया नगरपालिका– ११ इन्द्रपुरमा डेढ महिनाको शिशुका साथमा नुरहसन गद्दीदम्पती ।
२o८o श्रावण ३० मंगलबार o९:३o:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

बाढीले बर्दियामा ३६ घरधुरीका १७४ विस्थापित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ३० मंगलबार o९:३o:oo

अविरल वर्षापछि आएको बाढी बस्तीमा पसेर बर्दियामा ३६ घरधुरीका १७४ जना विस्थापित भएका छन् । आइतबार बिहानदेखि नदी तथा खोलामा आएको बाढी विभिन्न गाउँमा पसेर ४५० घर प्रभावित भएका थिए । जसमध्ये ३६ घरधुरी विस्थापित भएका छन् । हालसम्म बारबर्दिया नगरपालिकामा ३६, बाँसगढी नगरपालिकामा ४८ र गुलरिया नगरपालिकामा ९० जना विस्थापित भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र बर्दियाले जनाएको छ ।

गत २४ साउनमा आएको बाढीले विस्थापित भएका गुलरिया नगरपालिका– ११ इन्द्रपुर (भादा पुल किनारका) १० घरधुरीका ६४ घरपरिवार सडक किनारमा पाल टाँगेर बसेका छन् । केही दिनअघि मात्र घर गएका उनीहरू २८ साउनबाट पुनः सडकमा आइपुगेका छन् । तर, हाल जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकमा उनीहरूलाई समेटिएको छैन । हुलाकी सडक र बबई नदीको बीचमा रहेको गाउँ ड्याम फुटेर पानी पसेपछि बर्सेनि बाढीबाट पीडित हुने गरेका छन् ।

विस्थापितहरू केही नजिकैको विद्यालयमा, केही सडक किनारमा त्रिपाल टाँगेर बसेका छन् भने केही आफन्तीकहाँ गएर बसेका छन् । बाढीबाट विस्थापितहरूले हालसम्म कुनै पनि निकायबाट राहत तथा सहयोग नपाएको गुनासो गरेका छन् । बाँसगढी नगरपालिका– ८ की कौशिलादेवी दमाईले आफ्नो घरबाट बोकेर ल्याएको खाद्यान्न सबै सकिएको बताइन् । 

सदरमुकामनजिकै भए पनि अहिलेसम्म कसैले सहयोग गर्न नआएको गुलरिया नगरपालिका– ११ इन्द्रपुरका बाढीपीडित त्रिभुवन मल्लाहले बताए । ‘पछिल्लो २८ साउनको बाढीपीडितको तथ्यांकमा हाम्रो गाउँको नामसमेत राखिएको छैन,’ उनले भने, ‘बबईमा पानी बढ्दा सबैभन्दा पहिले र बढी पीडित हुने हाम्रो गाउँ हो, तर राहत क्षतिपूर्ति र सहयोग हामीलाई नै हुँदैन ।’ 

गुलरिया नगरपालिका– ११ इन्द्रपुरका डेढ महिनाको बच्चालाई त्रिपालमुनि राखिएको छ । सुत्केरी र बच्चाको अवस्था सामान्य भए पनि लामखुट्टे र किराको त्रास रहेको नुरहसन गद्दीले बताए । ‘घरमा लगेर राखौँ भने हिलैहिलो छ । बाटोमा राख्दा स्वास्थ्य समस्या हुन्छ कि भन्ने चिन्ता छ,’ उनले भने । उनीहरूसँगै १० घरपरिवारका बालबालिका त्रिपालमुनि नै बसेका छन् ।

खानाको जोहो गर्दै स्थानीय तह 
बारबर्दिया नगरपालिका– ८ सरस्वती मावि भगतपुरमा बसेका करिब ३० घरपरिवारका ७५ जनालाई बस्न र खानाको व्यवस्था गरिएको छ । नगर कार्यपालिकाले सोधभर्ना गर्ने निर्णय गरेपछि खाना पकाएर खुवाउने व्यवस्था गरेका वडाध्यक्ष नरबहादुर चन्दले बताए । केही पीडित घर जान मिल्ने भएकाले फर्किनुभएको छ । ‘वडाका अधिकांश घरपरिवारलाई विद्यालयमा खाना पकाएर खुवाउने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘घर जान मिल्ने भएपछि फर्कनुहुन्छ, त्यतिवेलासम्म हामीले खाना खुवाउँछौँ ।’ 

बाँसगढी नगरपालिका– ८ का वडाध्यक्ष तुलसीप्रसाद गौतमले सोमबार साँझदेखि बाढीपीडितलाई खाना पकाएर खानका लागि चामल, दाल तरकारीलगायतका खाद्यान्न दिएको बताए । केही घरपरिवार घर फर्कन खोजे पनि बस्नयोग्य नभएकाले शिविरमै बसेको उनले बताए । स्थानीय तह र जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र बर्दियाले बाढीपीडित परिवारको तथ्यांक संकलन गरिरहेको जनाएको छ । वर्षात् रोकिएकाले बबई नदीमा पानीको बहाव कम भएको छ । 

एकको मृत्यु, तीन बेपत्ता
बर्दियामा बाढीमा डुबेर एकजनाको मृत्यु भएको छ । बाँसगढी नगरपालिका– ८ वनगौडीका ६८ वर्षीय तुलबहादुर दमाईंको बाढीमा डुबेर मृत्यु भएको हो । बाढीबाट विस्थापित भएका तुलबहादुरलगायतका सात घरका २५ जना बालविकास केन्द्र ककौरामा बसेका थिए । बालविकास केन्द्रबाट घर जाने क्रममा बाटोमा चिप्लिएर गहिरो भागमा पुगेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । साँझ करिब ७ बजेतिर अँध्यारोमा एक्लै घर जाने क्रममा गहिरो भागमा पुगेपछि डुबेर मृत्यु भएको आशंका गरिएको छ । घरमा एक्लै बस्ने तुलबहादुरको शव सोमबार बिहान महेन्द्र राजमार्गको किनारमा रहेको नालामा फेला परेको प्रहरीले जनाएको छ । 

बर्दियामा बबई नदीमा दाउरा निकाल्ने क्रममा बगेर बेपत्ता भएका तीनजना हालसम्म पनि फेला परेका छैनन् । उनीहरूको प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको टोलीले खोजी गरिरहेको छ । बेपत्ता हुनेमा गुलरिया नगरपालिका– १२ भैँसाहीका बालकृष्ण थारू, वडा नम्बर– ८ थपुवागाउँका अक्षय थारू र गुलरिया नगरपालिका– २ का महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए ।