
आयोजक किंग्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लब दोस्रो किंग्स कप पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आज प्रतिस्पर्धा गर्र्दै छन् । शनिबार भएको खेलमा अर्काे विभागीय टोली एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै आयोजक किंग्स क्लबले पुलिससँगको भेट पक्का गरेको हो । पुलिस शुक्रबार गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै उपाधिनजिक पुगेको थियो ।
काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबमा आयोजक किंग्स क्लबले एपिएफमाथि २५–१८, २५–२२ र २६–२४ को जित निकालेको हो । शुक्रबार नै हुनुपर्ने किंग्स र एपिएफबीचको दोस्रो सेमिफाइनल तेस्रो सेट चलिरहँदा वर्षका कारण रोकिएको थियो । पुनः खेल हुन नसकेपछि शनिबारलाई खेल रद्द भएको हो ।
आयोजक किंग्स समूह ‘ए’को उपविजेता तथा एपिएफले समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनल खेलेका थिए । फाइनल खेल र तेस्रो स्थानको खेल आइतबार नै हुनेछ । प्रतियोगिताको विजेताले २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । तेस्रो हुनेलाई ५० हजार ५ सय रुपैयाँ र चौथो स्थान हासिल गर्नेले २२ हजार २ सय रुपैयाँ पाउने आयोजकले जनाएको छ ।